निर्णय नं. १०९४० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९४० - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०४/१८ २५३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति : २०७९।४।१८ ०७२-WO-००६४ मुद्दाः उत्प्रेषण निवेदक / पक्ष : श्री कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा मिति २०५२।०४।०३ मा प्रा.लि. दर्ता नं.३८१/०५२/५३ रही काठमाडौं जिल्ला, डाछी गा.वि.स. स्थित रजिस्ट्रर्ड ठेगाना भएको एल.एम.सुभिर ब्रदर्स (नेपाल) प्रा.लि. तथा ऐ. कम्पनीका अख्तियार प्राप्त भई आफ्ना हकमा समेत ऐ. कम्पनीका भाइस प्रेसिडेन्ट दोर्जी शेर्पासमेत विरूद्ध विपक्षी / प्रत्यर्थी : श्री श्रम अदालत अनामनगर, काठमाडौंसमेत सहकर्मी महिला कर्मचारीको व्यक्तिगत स्वतन्त्रता, मर्यादा र शारीरिक एवम् मानसिक सुरक्षामा हस्तक्षेप गरेको विषय खराब अचरणमा पर्दैन वा त्यसले निजलाई आघात पुर्‍याउँदैन भन्दा अनर्थ हुने । कार्यस्थलमा कर्मचारीको शरीरमाथि हुने कुनै पनि किसिमको असहज, आपत्तिजनक र शारीरिक वा मानसिक आघातलाई समग्र ऐनको बनावटको आधारमा खराब आचरणयुक्त र आघातजन्य कार्य मान्नु पर्ने । एकान्तमा बोलाएर जबरजस्ती हग गर्ने तथा अँगालोमा कसेर दुर्व्यवहार गर्ने कार्यलाई सदाचारयुक्त कार्य मान्न नसकिने । (प्रकरण नं.७) प्रतिष्ठानमा कार्यरत जोसुकै कर्मचारीको सुरक्षा हुनुपर्ने । यौनजन्य दुर्व्यवहारका विरूद्द पाउनुपर्ने सुरक्षा अझै महत्त्वपूर्ण हुने । कार्यस्थलमा हुने यस्तो दुर्व्यवहारको घटनालाई मानव अधिकार र श्रम अधिकारको नजरबाट हेरी सोको विरूद्ध कानूनअनुरूप कारबाही हुनुपर्ने । यौनिक आसयले थुनछेक गरी यौन दुर्व्यहार जस्तो मानव अधिकार तथा महिलाको सुरक्षासँग सम्बन्धित विषयमा विवेचना गर्दा श्रम ऐनमा रहेको परिभाषालाई संकुचित अर्थ गरी व्याख्या गर्दा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यहारको अन्देखा भई पीडितले न्याय नपाउने । त्यस्तो कार्यले पीडितलाई शारीरिक र मानसिक रूपमा तनाव हुनको साथै पेसागत जीवनमा प्रतिकूल असर पार्ने । (प्रकरण नं.१०) निवेदक / पक्षका तर्फबाट : विद्वान् अधिवक्ताहरू राजकुमार खतिवडा र भवेश गौतम विपक्षी / प्रत्यर्थीका तर्फबाट : अधिवक्ता युवराज लुइँटेल अवलम्बित नजिर : ने.का.प.२०४६, अङ्क ३, नि.नं.४१०३ सम्बद्ध कानून : श्रम ऐन, २०४८ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ र १३३ (२) (३) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ: तथ्य खण्ड मिति २०७०।१२।२२ का दिन यस होटलमा Trainee Employee को रूपमा एक दिनको लागि कार्यरत रीता तामाङले विपक्षी प्रत्यर्थी रविन्द्र पोखरेलले मलाई कन्फरेन्स हलमा बोलाएर ढोका लगाई मेरो कम्मरमा समात्यो र भाग्न खोज्दा हात समाई तानेर बेस्सरी कसेर हग गर्नुभयो भन्ने बेहोरा उल्लेख गरी लिखित उजुरी निवेदन परेको थियो । उक्त घटनाको सम्बन्धमा मिति २०७०/१२/२४ मा स्पष्टीकरण माग्दा आफूले रीता तामाङलाई उजुरीमा उल्लेख भएअनुसारको कुनै कार्य नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्ने जवाफ दिएकोमा सोउपर चित्त नबुझी निजलाई श्रम ऐनको दफा ५१(क) को कसुर गरेको आरोपमा सोही ऐनको दफा ५२(४) बमोजिम मिति २०७१।२।९ देखि लागु हुने गरी सेवाबाट हटाउने भनी मिति २०७१।०२।०८ मा निर्णय गरिएको थियो । सो निर्णयउपर प्रत्यर्थी रविन्द्र पोखरेलले श्रम अदालतमा पुनरावेदन गरेकोमा श्रम अदालतले प्रस्तुत मुद्दामा श्रम ऐ