निर्णय नं. १०९४४ - बहुविवाह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९४४ - बहुविवाह भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७८/०९/०९ २१९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।९।९ ०७४-CR-०८१६ मुद्दाः- बहुविवाह पुनरावेदक / प्रतिवादी : लालबहादुरको छोरा, स्याङ्जा जिल्ला, चित्रेभञ्‍ज्याङ गा.वि.स., वडा नं.५ बस्ने किमबहादुर थापा विरूद्ध प्रत्यर्थी / वादी : ऐ.ऐ. बस्ने तिलसरा थापाको जाहेरीले नेपाल सरकार बहुविवाहको मुद्दामा अभियोगपत्र दर्ता भइसकेपछि लागेको आरोपबाट उम्कन घटना वारदात नै धेरै अगाडिको बनाई हदम्याद नै व्यतीत भइसकेको देखाउनको लागि बनाइएका त्यस्ता प्रमाणहरूले कानूनी मान्यता पाउन नसक्ने । (प्रकरण नं.३) प्रतिवादीका तर्फबाट : वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री चिन्तामणि बराल स्याङ्जा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री द्वारिकामान जोशी माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले पुनरावेदन अदालत पोखरा फैसला न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याइ हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड विपक्षी लोग्ने किमबहादुर थापा र मेरोबिचमा संवत् २०५८ साल पौष महिनामा हामी दुवै कन्याकुमार अवस्थामा विवाह भई लोग्ने र मेरोबिचमा २ छोराको जायजन्मसमेत भएको हो । म घरमा स्वस्थ पत्‍नी हुँदाहुँदै विपक्षी लोग्नेले मिति २०७१ साल भाद्र १५ गते आइतबारका दिन अपराह्न ४:०० बजेको समयमा एकजना अपरिचित महिला लिई घरमा आउनुभयो । घरमा लिई आएपछि यी महिला को हुन् ? भनी विपक्षी लोग्नेलाई मैले सोधपुछ गर्दा मैले अर्को विवाह गरेँ, यी मेरी कान्छी श्रीमती तिम्री सौता हुन् भनी विपक्षी लोग्नेले मलाई जवाफ दिनुभयो र मैले विपक्षी लोग्नेले कान्छी श्रीमती बनेकी महिलालाई पनि सोधपुछ गर्दा विपक्षी सौता रेखा थापाले पनि म यी किमबहादुर थापाकी कान्छी श्रीमती हुँ भनी दुवै विपक्षीले विवाह गरी लोग्ने स्वास्नी भएको कुरा स्वीकार गरेपछि मैले तत्काल मानिसहरू बोलाई विपक्षी लोग्नेले ममाथि सौता ल्याई राखेको विषयमा छलफल हुँदा भेला जम्मा भएका मानिसहरूको रोहबरमा समेत विपक्षी दुवैले हामी लोग्ने स्वास्नी हौं भनी स्वीकार गरेकाले विपक्षीहरूको उक्त कार्य मुलुकी ऐन, बिहाबारीको ९ नं. विपरीतको कार्य भएकोले दुवैजनालाई ऐ.ऐनको दफा १० नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको तिलसरा थापाको जाहेरी दरखास्त । मिति २०७१।०५।१५ गतेका दिन अहिले मात्र नाम खुल्न आएकी चित्रेभञ्‍ज्याङ गा.वि.स.कै रेखा थापा भन्‍ने महिलालाई आफ्नो घरमा ल्याई मेरी कान्छी श्रीमती हो । मैले विवाह गरी ल्याएको हुँ भनेर श्रीमान्‌ले महिला ल्याउनु भएको छ भन्‍ने कुरा जाहेरवाली तिलसरा थापाले मसमेतलाई भनेपछि सो कुरा थाहा पाई घरमा श्रीमती छँदाछँदै पनि किन दोस्रो विवाह गरेको होला भनी जाहेरवालीको घरमा गई हेर्दा साँच्चै नै किमबहादुर थापाले चित्रेभञ्‍ज्याङ गा.वि.स., वडा नं. ५ बस्ने रेखा थापालाई कान्छी श्रीमती बनाई दोस्रो विवाह गरेको रहेछन् । मिति २०७१।०५।१५ गतेको दिनमा घरमा नै ल्याई भित्र्याई घरको कामकाज गराएका रहेछन् । जेठी श्रीमती तिलसरा था