निर्णय नं. १०९५१ - सरकारी छाप दस्तखत किर्ते गरी ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९५१ - सरकारी छाप दस्तखत किर्ते गरी ठगी भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०८/१८ २७१३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७७।८।१८ ०७१-CR-१०६६ मुद्दाः- सरकारी छाप दस्तखत किर्ते गरी ठगी पुनरावेदक / वादी : देवी थापा कार्कीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, झोर गा.वि.स. वडा नं. ४ बस्ने हरिशरण अधिकारीसमेत किर्तेको उद्देश्य नै विभिन्न तवरले गरेको किर्ते कार्यबाट अरूलाई विश्वासमा पारी ठगी गर्नु र आफूले प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिनु हो । अधिकांश समयमा यी दुई कसुर एकाकार भएर आएको देखिए पनि सधैँ सोही हुनुपर्छ भन्ने नहुने । यी दुई कसुरहरू एकै व्यक्ति वा समूहबाट सम्पन्न हुने भए तापनि एकैपटक नभई एकपछि अर्को वारदात सम्पन्न भएको अवस्थामा एक कसुरविना अर्को कसुर हुने गरी अनिवार्य अवस्था नभई दुईको छुट्टाछुट्टै अस्तित्व रहेका पूर्ण अपराध हुन् । यसैले विधायिकाले यी दुई कसुरलाई भिन्नाभिन्नै परिभाषित गरी सजायको व्यवस्था गरेको भनी बुझ्नुपर्ने । सरकारी छाप दस्तखत किर्ते र ठगी भएको पुष्टि हुन आई तत् तत् कसुरमा छुट्टाछुट्टै सजाय हुने देखिँदा यसमा दोहोरो खतराको सिद्धान्त आकर्षित नहुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रूद्रप्रसाद आचार्य प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान मुलुकी अपराध संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हेमराज पन्त कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रेमराज कार्की माननीय न्यायाधीश श्री प्रभा बस्नेत पुनरावेदन अदालत पोखरा फैसला न्या.दीपककुमार कार्की : तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) पोखराको मिति २०७०।४।२२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी परेको निवेदनमा यस अदालतबाट मिति २०७१।६।२२ मा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०६८।१।२८ गतेका दिन रविप्रसाद रेग्मी र हरिशरण अधिकारीले मलाई काठमाडौं बालाजु सितापाइला स्थानहरूमा घडेरी लिने इच्छा भएअनुसार निजहरू जग्गाको कारोबार गर्ने कुरा थाहा पाई निजहरूले हाम्रै नाममा घडेरी जग्गा छ । मिलाएर बिक्री गर्नुभयो भने बढी नाफा हुन्छ भन्ने प्रलोभनमा पारी क्रमशः २०६८।१।८ र २।२० गतेका दिन ७ लाख ४० हजार र ५ लाख निजहरूलाई बुझाई बाँकी पछि बुझ्ने सर्त भएकोले जग्गा हेर्न भनी जाँदा जग्गा नै नभएको भन्ने जानकारी पाएको हुँदा निजहरूले जाल परिपञ्च गरी गफलतमा पारी नगद रू.१२ लाख ४० हजार रकम ठगी गरी लिई खाएको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको देवी थापा कार्कीको जाहेरी दरखास्त । जग्गा खरिद बिक्रीको कारोबार गर्दै आएकोमा वैदेशिक रोजगारको लागि भई फर्केपश्चात् पुनः जग्गाको कारोबार गर्न सुरू गरेको थिएँ । अन्य व्यक्तिको नामको जग्गाको लालपुर्जा तयार गरी किर्ते तरिका अपनाई कारोबार गर्न थालेँ । रवि रेग्मीले अन्य व्यक्तिको फोटो ल्याउने, विष्णु भट्टले किर्ते लालपुर्जा तयार गरिदिन्थे । रविप्रसाद रेग्मीमार्फत विष्णु भट्टसँग किर्ते गरी तयार भए