निर्णय नं. १०९५४ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९५४ - बन्दीप्रत्यक्षीकरण भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७८/०१/२४ १८७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७८।१।२४ ०७७-WH-०३१५ मुद्दा : बन्दीप्रत्यक्षीकरण निवेदक : प्रतापसिंह तामाङको छोरा जिल्ला काभ्रे, तेमाल गाउँपालिका वडा नं. ३ घर भई हाल का.जि. का.म.न.पा. वडा नं.२८ बस्ने वर्ष ४० को प्रभात भन्ने दुर्गालाल लामा तथा काजिमान तामाङको छोरा ऐ. ऐ. घर भई हाल ऐ. ऐ. बस्ने वर्ष २९ को अनिस तामाङ भन्ने श्यामबहादुर तामाङसमेत २ जनाको हकमा नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाको सचिव रामहरि कार्की विरूद्ध प्रत्यर्थी : काठमाडौं जिल्ला अदालत, काठमाडौंसमेत प्रेसबाट सम्प्रेषित समाचार सत-प्रतिशत सत्य तथ्यमा आधारित छैनन् भन्ने आधारमा नै फौजदारी कसुरजन्य अभियोग लगाई पक्राउ गर्ने, थुनामा राख्ने, मुद्दा चलाउने आदि कार्य गरियो भने प्रेस स्वतन्त्रतामा अनुचित रूपमा आघात पर्न सक्तछ; यस प्रकारको प्रवृत्तिबाट प्रेस स्वतन्त्रताको मर्म व्यावहारिक रूपमा सार्थक बन्न कठिन हुने । त्यसलाई न्यायिक दृष्टिले स्वीकारयोग्य विषय मान्न नसकिने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बोर्णबहादुर कार्की, श्री रमणकुमार श्रेष्ठ र श्री मुक्तिनारायण प्रधान एवं विद्वान् अधिवक्ताहरू श्री भक्तिराम घिमिरे, श्री धर्मराज पाण्डे, श्री करूणाकर मल्लिक, श्री लोकेन्द्र वली, श्री सन्तोष भण्डारी, श्री विजय हमाल र श्री राजाराम शाह प्रत्यर्थीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट विवादको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः निवेदकहरू श्रमजीवी पत्रकार भएको र म नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाको सचिव भएको हुँदा निजहरूको हकमा अन्य वैकल्पिक एवं प्रभावकारी उपचारको अभावमा नेपालको संविधानद्वारा प्रदत्त हक अधिकारको उपचारका लागि प्रस्तुत निवेदन लिई उपस्थित भएको छु । निवेदक बन्दीहरू अनिस तामाङ भन्ने श्यामबहादुर तामाङ र प्रभात भन्ने दुर्गालाल लामा विगत लामो समयदेखि श्रमजीवी पत्रकार भई नेपालका नागरिकलाई राज्यमा भएगरेका कामकारबाही एवं घटनाका बारेमा सुसूचित पार्नका लागि अटुटरूपमा समाचारहरू प्रकाशित गरिआएको र हाल निवेदकहरू नेपालको चर्चित अनलाइन मिडिया उज्यालो नेटवर्क डटकम प्रा.लि.मा क्रमशः कार्यकारी सम्पादक तथा महाप्रबन्धक पदमा कार्यरत रहेको अवस्थामा मिति २०७८।१।२ मा प्रकाशित समाचारको सन्दर्भमा सत्यता नभएकोले के कति कारणबाट यस्तो समाचार प्रकाशित भयो भनी मिडियाहरूको अनुगमन गर्ने निकाय प्रेस काउन्सिलबाट हामी कार्यरत रहेको मिडियालाई स्पष्टीकरण सोधिएकोमा मिति २०७८।१।४ उक्त समाचार हटाई समाचारको खण्डन र भुलसुधार गरी क्षमायाचनासमेत मागेकोमा सो जवाफमा नियामक निकाय प्रेस काउन्सिललाई चित्त बुझेकोले निवेदक कार्यरत रहेको अनलाइन वा सोको कुनै पनि पत्रकारहरूलाई कुनै कारबाही गरिएको थिएन । निवेदक कार्यरत रहेको मिडियाले नियामक निकाय प्रेस काउन्सिलमा जवाफ पेस गरेपश्चात् प्रेस काउन्सिलबाट कारबाहीस्वरूप मिति २०७८।१।५ मा सचेत गराउने कार्य भएको थियो । सोपश्चात् तत्कालै थप अन्य कुनै कारबाही नहुन