निर्णय नं. १०९६१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९६१ - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७९/०१/१४ ३९९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।१।१४ ०७४-WO-०६७२ मुद्दाः- उत्प्रेषण निवेदक : कुलमानसिं शाक्यको नाति, शान्तमान शाक्यको छोरा, ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ३ पुल्चोक बस्ने सुजितकुमार शाक्य विरूद्ध विपक्षी : धर्मरत्न तुलाधरको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २६ घर भई ऐ. ऐ. अन्नपूर्ण मार्ग बस्ने रत्नप्रकाश तुलाधरसमेत मुख्य भई कामकाज गरेकोमा बाहेक अरू अवस्थामा एकाघरका उमेर पुगेको कुनै व्यक्तिले कुनै व्यवहार गरेको रहेछ भने निजले आफूले पाउने धनमा निजको हक नपुगेसम्म साहुले सो धनमा समाउन नपाउने । परिवारका कुनै एक सदस्यले अन्य सदस्यहरूलाई थाहा जानकारी नदिई आफूखुसी ऋण लिँदै जाने र सोको दायित्व परिवारले वहन गर्दै जाने हो भने अन्य परिवारको सदस्यहरूको सम्पत्तिसम्बन्धी अधिकारको हनन हुन जाने । (प्रकरण नं.७) घरमूलीले समेत सम्पत्तिसम्बन्धी कारोबार गर्दा घरको उमेर पुगेका अन्य सदस्यहरू र अन्य सदस्यहरूले कारोबार गर्दा घरमूलीसँग पनि सहमति लिनुपर्ने, अन्यथा भएको कारोबारको जवाफदेहिता कारोबार गर्ने व्यक्ति स्वयंले बेहोर्नुपर्ने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री पूर्णमान शाक्य, श्री सतिशकृष्ण खरेल तथा अधिवक्ताद्वय श्री भीमप्रसाद ढकाल र श्री उत्तमराज पाठक विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामबहादुर लुइँटेल अवलम्बित नजिर : ने.का.प. २०५७, नि.नं. ६९०४ ने.का.प. २०६३ नि.नं. ७७७८ ने.का.प.२०६५, नि.नं.७९४५ ने.का.प. २०६७, नि.नं. ८२९० ने.का.प. २०६७, नि.नं. ८२९४ ने.का.प. २०७३, नि.नं. ९७१८ सम्बद्ध कानून : विनिमेय अधिकारपत्र ऐन, २०३४ प्रमाण ऐन, २०३१ आदेश न्या.कुमार रेग्मी : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ : पिता शान्तमान शाक्य मुख्य भई व्यवहार चलेको परिवारमा पिता शान्तमान शाक्य, आमा दुर्गा देवी शाक्य, छोराहरू विपक्षी सुरज शाक्य र म निवेदक सुजितकुमार शाक्य अंशियार थियौं । यस अवस्थामा मुख्य भई व्यवहार गर्ने पितासमेतको संलग्नता र मन्जुरी बिना विपक्षी सुरज शाक्य अध्यक्ष र निजकी पत्नी जेनी कर्माचार्य (शाक्य) सञ्चालक सेयरधनी भई मिति २०५२।५।३ सालदेखि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २ दरबारमार्ग स्थित प्रा.लि. दर्ता नं. १३३०८ को ललित मण्डप ट्रावल्स एण्ड टुर्स प्रा. लि. नामक कम्पनी आफूखुसी दर्ता सञ्चालन खति उपति गरी आउनुभएको हुँदा उक्त व्यवहार गरेको स्थानका निज मुख्य भई सोसँग सम्बन्धित दायित्व पिता शान्तमान शाक्यसमेतको मन्जुरी बिना सगोलको गोश्वारा धनबाट चल्न नसक्ने मुलुकी ऐन, लेनदेन व्यवहारको ८ र ९ नं. का कानूनी व्यवस्था रहेको प्रस्ट छ । घरका मुख्य भई व्यवहार गर्ने पिता शान्तमान शाक्यसँग मन्जुरी नलिई सेयर सहभागितासम्म नगराई अलग बसी आफूखुसी विधि व्यवहार गर्ने विपक्षी सुरज शाक्यको काम कारबाहीबाट पिता सन्तुष्ट नहुँदा हुने घर झगडाका कारण विपक्षी सुरज शाक्यको मागअनुसार आ-आफ्ना सम्पत्ति व्यवसाय आ-आफूले नै राखी पिताबाट अंशबापत जनही रू.१२.५।१२.५ लाख रूपैयाँ अंशबापत लिनुदिनु गरी मालपोत कार्यालय, ललितपुरबाट र.नं.