निर्णय नं. १०९६९ - सर्त करारबमोजिम रकम दिलाई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९६९ - सर्त करारबमोजिम रकम दिलाई पाऊँ । भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०७/१५ ३४५७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।७।१५ ०७५-CI-०४४१ मुद्दाः सर्त करारबमोजिम रकम दिलाई पाऊँ । पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, साबिक काहुँ गा.वि.स., वडा नं.९ हाल परिवर्तित पोखरा लेखनाथ महानगरपालिका, वडा नं.११ को ऐ.१६ को लामाचौर बस्ने टेकबहादुर खत्रीको श्रीमती देवी खत्री विरूद्ध प्रत्यर्थी / वादी : कास्की जिल्ला, साबिक काहुँ गा.वि.स., वडा नं.९ को परिवर्तित पोखरा लेखनाथ महानगरपालिका, वडा नं.११ बस्ने लिलाबहादुर गुरूङको छोरा देवबहादुर गुरूङ कुनै काम गर्ने वा नगर्ने भन्ने सर्त राखी करार वा सर्तनामा गरिएकोमा कारणवश त्यस्तो करारनामा बदर भएमा करारबमोजिम लिए खाएको नगद वा जिन्सी फिर्ता गर्नु नपर्ने भन्ने तर्क समन्यायको दृष्टिले समेत उचित मान्न नसकिने । करारका पक्षले करारबमोजिमको दायित्व पनि पूरा नगर्ने र करार बदर भएको आधारमा लिए खाएको नगद जिन्सी वा अन्य सुविधा पनि फिर्ता नगर्दा करारको एक पक्षलाई अनुचित संवृद्धि (unjust enrichment) हुने । एक पक्षले अर्को पक्षबाट करारबमोजिमको कार्य सम्पन्न गर्ने भनी रकम लिए खाएको पुष्टि भएको अवस्थामा करारनामा बदर भएमा त्यस्तो रकम फिर्ता गर्नुपर्ने भन्ने सर्त नराखेकै आधारमा त्यस्तो रकम फिर्ता गर्नु नपर्ने भनी अर्थ गरिएमा रकम बुझाएको पक्षलाई मर्का पर्ने र अर्को पक्षलाई अनुचित लाभ पुग्ने अवस्था सिर्जना हुने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान् अधिवक्ता श्री देवीप्रसाद कोइराला प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राजु खड्का अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ करार ऐन, २०५६ सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री नरिश्वर भण्डारी कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पवनकुमार शर्मा माननीय न्यायाधीश श्री नरबहादुर शाही उच्च अदालत पोखरा फैसला न्या.नहकुल सुवेदी : उच्च अदालत पोखराको मिति २०७५।०२।१५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाउने निस्सा प्राप्त भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छ:- तथ्य खण्ड मेरो चिनजानका विपक्षीमध्येका देवी खत्रीले जग्गा खरिद गरिदिनुपर्यो भनी मसमक्ष प्रस्ताव राखेकोले विपक्षीमध्येका विदेशमा विपक्षी देवी खत्रीका श्रीमान् टेकबहादुर खत्रीसँग फोन सम्पर्क गरी सोध्ने क्रममा निजले जग्गा बिक्री गर्ने हो, अहिले मेरी श्रीमतीले व्यवहार गरेकी छिन्, जग्गा म आएपछि पारित गरी दिउँला भनी जग्गाको थैलीको लेनदेन श्रीमतीमार्फत गर्नुहोला भनी बताएकोले विपक्षी टेकबहादुर खत्रीका नाउँमा दर्ता रहेको कास्की जिल्ला, काहुँ गा.वि.स., वडा नं. ९ को कि.नं.१३० क्षेत्रफल २-११-३-१ रोपनीको जग्गाको मूल्य रू.३२,००,०००।- (बत्तिस लाख रूपैयाँ) कायम गरी ३ महिनाभित्रमा जग्गा पारित गरिदिने सहमतिमा मैले मिति २०७२।१२।२६ गते विपक्षीमध्येका देवी खत्रीलाई रू.२२,००,०००।-(बाइस लाख रूपैयाँ) बैना स्वरूप दिई करार सर्तनामाको कागज खडा गरेका थियौँ । तोकिएको भाखामा बाँकी रकमको जोहो गरी जग्गा राजीनामा पार