निर्णय नं. १०९७२ - परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९७२ - परमादेशसमेत भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०८/१३ १३३८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०७९।८।१३ ०७८-WO-१२४४ विषयः- परमादेशसमेत निवेदक : जिल्ला रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ७ बस्ने अकाली ढाडीको छोरा वर्ष ३२ को मनोजकुमार ढाडी विरूद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय, रूपन्देही, सिद्धार्थनगर, भैरहवासमेत सिफारिस वा सनाखतउपर शङ्का लागेमा वा नागरिकताको प्रमाणपत्र नै प्राप्त गरेपछि पनि कुनै गलत तवरले नभएको झुठा विवरण पेस गरी नागरिकताको प्रमाणपत्र प्राप्त गरेको अवस्थामा जुनसुकैबेला पनि कानूनबमोजिम कारबाही हुन सक्ने । पेस भएको विवरणलाई झुठा हो पनि नभन्ने र नागरिकताको प्रमाणपत्र पनि नदिने कार्यले कानूनले प्रत्याभूत गरेको नागरिकता पाउने अधिकारबाट गैरकानूनी रूपमा वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री शैलेन्द्रप्रसाद हरिजन (अम्बेडकर) विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली, विद्वान् अधिवक्ताहरू श्री ओमबहादुर गैरे तथा श्री नारायणी खनाल अवलम्बित नजिर : ने.का.प.२०७३, नि.नं.९६८७ सम्बद्ध कानून : नेपालको संविधान नेपाल नागरिकता ऐन, २०६३ आदेश न्या.तिलप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३)बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने भनी दर्ता भई सुनुवाइको लागि आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः निवेदनको संक्षिप्त तथ्य म रिट निवेदकको जन्म २०४७/०६/१ गते सि.न.प. वडा नं. ७ मा भएको हो । मेरो आमा अकालीदेवी ढाडीले मिति २०६८/२/९ गते जिल्ला प्रशासन कार्यालय, रूपन्देहीबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । त्यसैगरी मेरो ठुलो दाइ सुनिल कुमार ढाडी र माइलो दाइ विनोदकुमार ढाडीले जिल्ला प्रशासन कार्यालय, रूपन्देहीबाट जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गर्नुभएको हो । मेरो बुबा तामेश्वर ढाडीसँग नेपाली नागरिकताको प्रमाण पत्र छैन । नागरिकता टोली आउँदा रोजगारीको सिलसिलामा मेरो बुबा भारत जानुभएकोले छुट्नुभएकोमा पछि जिल्ला प्रशासन कार्यालयले विभिन्न बहानामा नागरिकता बनाइदिएन । म निवेदकले मिति २०७५/६/७ गते मेरो नागरिकता बनाउनको लागि वडा कार्यालयबाट सिफारिस गराई जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आवेदन पेस गरेकोमा जिल्ला प्रशासन कार्यालयले बुबाको नागरिकता छैन, कानून पनि पास भएको छैन, आमाको नामबाट नागरिकता बनाउन मिल्दैन भनी मेरो नागरिकता बनाउन इन्कार गरेको र मिति २०७८/०६/२२ गते जिल्ला निर्वाचन कार्यालय रूपन्देहीमा मतदाता परिचय पत्र बनाउन जाँदा नागरिकता नभएको भनी मतदाता परिचय पत्र बनाउन पनि इन्कार गरेको अवस्था छ । त्यसैगरी मिति २०७८/०६/२४ गते मेगा बैंकको शाखा कार्यालय, भैरहवामा नागरिकता नभएको भनी खाता खोल्नबाट इन्कार गरेको अवस्था छ । नेपालको संविधान, २०७२ को धारा १० (१) मा कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने व्यवस्था छ । कानूनबमोजिम नागरिकता प्राप्त गर्ने मेरो उमेर पुगिसकेकोले मैले तुरून्त नागरिकता पाउनुपर्ने मेरो जन्मसिद्ध अधिकार हो । तसर्थ, मैले पेस गरेको निवेदनमा जे जो बुझ्नुपर्ने बुझी आमा वा दाजुहरूबाट सनाखत गराई तत्काल नागरिकता प्रदान गर्नु भनी