निर्णय नं. १०९७५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९७५ - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०५/२६ १६६० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।५।२६ ०७८-WO-११८७ मुद्दा : उत्प्रेषण निवेदक : कमलप्रसाद जोशीको छोरा गोरखा जिल्ला साबिक मनकामना गा.वि.स वडा नं ३ हाल परिवर्तित शहिदलखन गा.पा. वडा नं. ३ बस्ने रामकुमार जोशीसमेत विरूद्ध प्रत्यर्थी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत मन्त्रिपरिषद्को निर्णयले नियुक्त भएकालाई मन्त्रीले पदबाट हटाउँदा त्यस्तो मन्त्रीलाई नेपाल सरकारको कार्य सम्पादन नियमावलीबमोजिम वा नेपाल सरकारले अधिकार प्रत्यायोजन गरेबमोजिम हुनुपर्ने । मन्त्रिपरिषद्‌बाट नियुक्त भएको अवस्थामा कार्य सम्पादन नियमावलीमा वा नेपाल सरकारले मन्त्रीलाई यस विषयमा अधिकार प्रत्यायोजन गरेको भन्ने नदेखिने । नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा १४क मा उल्लेख भएको अधिकार प्रयोग गर्दा त्यस्तो अधिकार प्रत्यायोजनमा मन्त्रिपरिषद्‌बाट निर्णय भई लिखित रूपमा गरिएको देखिनुपर्ने । स्पष्ट अधिकार प्रत्यायोजन गरिएकोमा बाहेक भएको निर्णय नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भनी अर्थ गर्न नमिल्ने । मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त भएकालाई मन्त्रिपरिषद्को सामूहिक निर्णयबाट मात्र हटाउन सकिनेमा एकल मन्त्रिस्तरको निर्णयबाट हटाएको देखिँदा मन्त्रीको एकल निर्णयलाई नेपाल सरकारको निर्णय भनी तर्क गर्न उचित र मनासिब हुने नदेखिने । अख्तियारीबेगर मन्त्रिस्तरबाट पदबाट हटाउने कार्य आफैँमा अनुचित, अतार्किक र स्वेच्छाचारितालाई प्रश्रय दिने प्रकृतिको देखिने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री सरोज अधिकारी र श्री सुलभ खरेल प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : ने.का.प.२०७८, नि.नं.१०६३८ सम्बद्ध कानून : नेपालको संविधान नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा १३३(२) र (३)बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ: तथ्य खण्ड हामी निवेदकहरूमध्येको म रामकुमार जोशीलाई नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६/१२/९ को निर्णयानुसार मनकामना क्षेत्र विकास समिति (गठन) आदेश, २०५३ को दफा ३ को उपदफा (२) को देहाय (क) बमोजिम मनकामना क्षेत्र विकास समितिको अध्यक्ष पदमा ४ वर्ष पदावधि रहने गरी नियुक्त गरिएको थियो भने निवेदकमध्येको म लेविन्द्रबहादुर गुरूङलाई नेपाल सरकार (मन्त्रिपरिषद्को) मिति २०७६/१२/९ को निर्णयानुसार मनकामना क्षेत्र विकास समिति (गठन) आदेश, २०५३ को दफा ६ को उपदफा (१) बमोजिम प्रत्यर्थी श्री मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशक पदमा ४ वर्ष पदावधि रहने गरी नियुक्त गरिएको थियो । सोको जानकारी प्रत्यर्थी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति २०७७/१/२१ गतेको पत्र संख्या ०७६/७७ चलानी नं. ९४५ र ९४६ मार्फत हामी निवेदकका साथै मनकामना क्षेत्र विकास समितिलाई गराइएको थियो । नेपाल सरकार (मन्त्रिपरिषद्ले) ले ४ वर्षको लागि हामी निवेदकलाई नियुक्ति गरेकोमा नेपाल सरकार (माननीय मन्त्रिस्तर) को निर्णयानुसार मिति २०७८/१२/७ मा हामीलाई मनकामना विकास समितिका काम कारबाही गठन आदेशअनुरूप नभएको भनी तीन दिनभित्र स्पष्टीकरण सोधिएकोमा सोको जवाफ २०७८/१२/९ गते प