निर्णय नं. १०९७८ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९७८ - बन्दीप्रत्यक्षीकरण भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०६/३० ४५३६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।६।३० ०७९-WH-००२४ विषय : बन्दीप्रत्यक्षीकरण निवेदक : लि छिङ ह (Li Qian Kha) को नाति, लि स्यावो छुयन (Li Xiao Qian) को छोरा, China, Shanghai Province, Khe Nan घर भई हाल कारागार कार्यालय, डिल्लीबजार थुनामा रहेको लि छेन (LI QIAN) (चिनियाँ राहदानी नं. EC०८४३६६२) विरूद्ध विपक्षी : काठमाडौं जिल्ला अदालतसमेत मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१) र (२) अन्तर्गत सोही संहिताको दफा ३४ को उपदफा (१) बमोजिम जबरजस्ती करणीको उद्योगमा मुद्दा दायर भएकोमा सो नठहरी मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ को यौन दुर्व्यवहारको मुद्दामा परिणत गर्दा वा मुद्दा चल्ने हुँदा पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ को बाध्यात्मक प्रक्रिया अवलम्बन गर्नुपर्ने । (प्रकरण नं.५) जबरजस्ती करणीको उद्योगसम्बन्धी कसुर ठहर्ने नदेखिई मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ बमोजिमको यौन दुर्व्यवहार गर्न नहुने कसुरसम्बन्धी मुद्दामा महिलाको उमेर १८ वर्षभन्दा बढी भएको अवस्थामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ र अनुसूची-२ अन्तर्गत नपरी अनुसूची-४ अन्तर्गत पर्ने देखिँदा सम्बन्धित जिल्ला अदालतले सो सम्बन्धमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ बमोजिम मुद्दामा आदेश गरी सम्बन्धित सरोकारवाला व्यक्तिलाई सूचना दिनुपर्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सनद देवकोटा र विद्वान् अधिवक्ता श्री वसन्त गौतम विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ आदेश न्या.प्रकाशमान सिंह राउत : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ:- तथ्य खण्ड म निवेदक चिनियाँ नागरिक हुँ । नेपालको वैदेशिक लगानीसम्बन्धी कानूनअनुसार Concrete Mixture / Blender उत्पादन गर्ने उद्देश्यले वैदेशिक लगानीको स्वीकृति लिई शतप्रतिशत वैदेशिक लगानी गरी काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका, वडा नं. ३ मा जेनजोङ मेसिनरी म्यानुफ्याक्चरिङ कम्पनी प्राइभेट लिमिटेड नामक कम्पनी खोली व्यवसाय सञ्चालन गरी बसेको छु । मैले मेरै कार्यालयमा रोजगारी दिइएकी परिवर्तित नाम थानकोट (ब)(०७८/०७९) ले मेरो विरूद्धमा जबरजस्ती करणी उद्योगको मिति २०७८।११।२८ मा जाहेरी दिई सोही कसुरमा मुद्दा चलेकोले म मिति २०७९।२।९ देखि थुनामा रहेको छु । सो जबरजस्ती करणी उद्योगको मुद्दा मिति २०७८।३।१२ मा काठमाडौं जिल्ला अदालतबाट फैसला हुँदा मलाई अभियोग मागदाबीबमोजिमको जबरजस्ती करणी उद्योगको कसुरमा सफाइ दिइयो तर त्यसलाई यौन दुर्व्यवहारमा परिणत गरी तोकिएको कानूनी प्रक्रिया पूरा नगरी सोही दिन फैसला गरी दुई वर्ष कैद र रू. २०,०००।– (बिस हजार रूपैयाँ) जरिवाना ठहर भएकोले हालसम्म निरन्तर थुनामा रहेको छु । मिति २०७९।०३।१२ को काठमाडौं जिल्ला अदालतको फैसलाले मलाई अभियोग दाबीबाट सफाइ दिए पनि जाहेरी दरखास्त तथा अभियोगमा माग नै नगरिएको विषयमा फैसला गरी गैरकानूनी रूपमा कैदमा राख्ने फैसला