निर्णय नं. १०९८२ - प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९८२ - प्रतिषेध भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७७/१२/०९ ६६३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७७।१२।९ ०७४-WO-०९२३ विषयः प्रतिषेध निवेदक : जिल्ला नुवाकोट, बेलकोट गा.वि.स. वडा नं.१ हाल बेलकोटगढी न.पा. वडा नं.१० मा रहेको निरन्जना रोडा ढुङ्गा उद्योग प्रा.लि.का तर्फबाट अख्तियार प्राप्त भई आफ्नो हकमा समेत ऐ.का सञ्चालक शिवप्रसाद अधिकारीसमेत विरूद्ध प्रत्यर्थी : जिल्ला प्रशासन कार्यालय नुवाकोटसमेत रोडा, गिट्टी, ढुङ्गा र बालुवासमेतलाई उत्खनन गरेर विकासको कार्यमा सदुपयोग गर्दा प्राकृतिक वातावरणको स्वच्छतालाई पनि कायम राख्नुपर्ने । वातावरणलाई नराम्ररी प्रभावित बनाउने गरी उद्योग र विकासको कार्यलाई मात्र प्राथमिकता र बढावा दिनु नहुने । प्राकृतिक साधन र स्रोतहरू कुनै उद्योग र व्यवसायहरूको निजी सम्पत्ति नभई देशका साझा सम्पत्ति हुने । साझा सम्पत्तिउपर कुनै उद्योग र निजी व्यवसायहरूको मात्र आधिपत्य हुने नभई विकास निर्माणको कार्य गर्दा यिनीहरूको संरक्षण र दिगोपनलाई ध्यान दिनुपर्ने । (प्रकरण नं.९) मौलिक हक पूर्णतः निरपेक्ष नहुने । देशको प्राकृतिक स्रोत, सम्पदा, स्वच्छ वातावरण, वनजङ्गल, जङ्गली जीवजन्तु, वनस्पति राष्ट्रिय र साझा सम्पत्ति हुने । यसका स्रोतहरूको स्थायी र दिगो संरक्षण गरिनुपर्ने । नागरिकको पेसा व्यवसाय र रोजगारको हक दिगो विकासको कसीमा उच्च हुन नसक्ने । स्वच्छ वातावरण कायम राख्ने र प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने सम्बन्धमा त्यस्ता सम्पदा, वातावरण र प्राकृतिक स्रोतउपर नागरिकको पेसा, व्यवसाय र रोजगारको हक स्वच्छन्द र निरपेक्ष रूपमा हावी हुन नसक्ने । (प्रकरण नं.३१) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री शम्भु थापा तथा अधिवक्ताहरू श्री बल्लभ बस्नेत, श्री रामप्रसाद घिमिरे, श्री सुरेन्द्र कोइराला प्रत्यर्थीका तर्फबाट : सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान, विद्वान् अधिवक्ता श्री गजेन्द्र अर्याल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान वातावरण संरक्षण ऐन, २०५३ खानी तथा खनिज पदार्थ ऐन, २०२९ जलस्रोत ऐन, २०४९ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ वन ऐन, २०४९ आदेश न्या.तेजबहादुर के.सी.: नेपालको संविधानको धारा १३३(२)(३) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः- तथ्य खण्ड प्रथमतः हामी निवेदकहरूले कानूनबमोजिम सञ्चालन गरिरहेका रोडा ढुङ्गा क्रसर उद्योगलाई बन्द गर्दा रिट निवेदक राजेन्द्र चित्रकार विपक्षी नेपाल सरकारसमेत भएको यस सम्मानित अदालतमा विचाराधीन ०७४-WO-०७०४ को रिट निवेदनमा अन्तरिम आदेश जारी भएको भन्दै हामी निवेदकहरूका उद्योग सञ्चालन गर्न नदिएको अवस्था छ । नुवाकोट जिल्ला साबिक जिलिङ गा.वि.स. वडा नं.३ मा त्रिवेणी बालुवा प्रशोधन उद्योग नामको बालुवा प्रशोधन उद्योग सञ्चालक बालुवा प्रशोधन व्यवसायीका रूपमा रहनु भएका राजेन्द्र चित्रकारले यस सम्मानित अदालतमा दायर गरेको उक्त ०७४-WO-०७०४ को रिट निवेदनमा हामी निवेदकहरूलाई विपक्षी बनाएको अवस्था नै छैन । हाम्रा विरूद्ध दायर नै नभएको रिट निवेदनमा जारी भएको आदेशका आधारमा हाम्रा उद्योग सञ्चालन गर्न नदिनु कदापि पनि कानून तथा न्यायसङ्गत नहुँदा प्रथमदृष्टिमा नै निवेदकहरूका उद्योग सञ्चालन गर्न पाउनुपर्ने प्रस्ट छ । अतः यस अवस्थामा