निर्णय नं. ३४२१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४२१ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/१९ ४९१ निर्णय नं. ३४२१ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५४९ आदेश भएको मिति : २०४५।२।१९।४ मा पुनरावेदक/वादी : सुमत्रा तेलीको जाहेरीले श्री ५ सरकार विरुद्ध विपक्षी/प्रतिवादी : नवलपरासी गुठीसूर्यपूरा गा.पं.वा.नं. ९ बस्ने काशीनाथ गुप्तासमेत मुद्दा : कर्तव्य ज्यान (१) जाहेरवालीले चिनेको भनी बकपत्र गरेको हकमा अघिदेखि बेइज्जती मुद्दा प्रतिवादीहरूसँग परेको देखिएबाट केवल उनको बकपत्रलाई मुख्य आधार मानेर कसूरदार ठहर्याउन नमिल्ने । (प्रकरण नं. १९) (२) केवल शंकाको भरमा प्रतिवादीहरूलाई कसूरदार ठहर्याउन मिल्ने नदेखिने । फौज्दारी मुद्दामा शड्ढाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं. १९) पुनरावेदक/वादीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जीतबहादुर कार्की प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या.पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन पर्न आई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. ०३९ साल पौष ५ गते अं. ११।१२ बजेको समयमा काशीनाथ गुप्ताले मेरो पति रामगति तेलीलाई बोलाई लिई गई ऐ.सूर्यपूरा गा.पं. वडा नं. ९ बस्ने जानकी ब्राम्हण ऐ.बस्ने नसाणुद्दिन मुसलमान ऐ.बस्ने दुधानाथ गुप्ता र काशीनाथ गुप्ता समेत जाना ४ भई मिलोमतो गरी पति रामगति तेलीलाई कर्तव्य गरी मारी लाश समेत बेपत्ता गरेको हुँदा निजहरूलाई पक्राउ गरी कानून बमोजिम कारवाई समेत गरिपाउँ भन्ने समेत सुमित्रा तेलीको ०३९।९।९ को जोहरी दर्खास्त । ३. घटना घटेको भनिएको ठाउँ डिवनी गाउँदेखि पश्चिम अं. २०० गज आठिराएको खेतको कुनामा अं.४ ईन्च गोलाईमा रगत खसी जमेका र माडिएको, दक्षिण दश हरिजनको खेतको आलीमा ३ ईन्ची गोलाईमा रगत जमेको, त्यसको दक्षिण अं. ३०० गज पर त्रिवेणी हरिजनको खेत आलीमा २ ईन्च गोलाईमा रगत जमेको भन्ने समेतको घटनास्थलको प्रकृति मुचुल्का । ४. मैले रामगति तेलीलाई बोलाएको र कर्तव्य गरी मारेको समेत होइन मोहरम र रामगतिको बीचमा झगडा भएको हुँदा रामगतिलाई मोहरमले मारेको होकी भन्ने शंका लाग्छ भन्ने समेत व्यहोराको प्र. काशीनाथ गुप्ताले प्रहरीमा गरेको बयान कागज । ५. प्रहरीको मद्दत साथ मेरो लोग्नेको लाश खोज तलाश गर्दै रहेकोमा ०३९।९।२४ गतेका दिन यु.पि.को झुलनी पुलदेखी अं. २०० गज पारी वापरहास नहरको पानीमा मेरो श्रीमानको लाश फेला परेकोले प्रहरी समेतको मद्दत लिई रामगतिको लाशलाई अस्पतालमा राखी जाहेर गर्न आएको छु भन्ने समेत ०३९।९।२५ को सुमित्रा तेलीको दर्खास्त । ६. मर्ने रामगति तेली र प्र. सुधानाथका बीचमा झगडा भएको मुद्दा समेत चलेकोले जाहेरीमा लेखिएका व्यक्तिले मारेको शंका लाग्छ भन्ने केही व्यक्ति र जाहेरीमा लेखिएका व्यक्तिले रामगतिलाई कर्तव्य गरी मारेका शंका लाग्दैन भन्ने समेत धेरै जसो व्यक्तिले बकी लेखाई दिएको सरजमीन मुचुल्का । ७. धार भएको हतियार प्रयोग गरी मारेको भन्ने रामगति तेलीको लाशजाँच प्रतिवेदन । ८. प्रतिवादी काशिनाथ गुप्ताले दुधानाथ गुप्ता, जानकी ब्राम्हाण, नसुणुद्दिन र मोहरम समेतको मिलोमतोबाट रामगति तेलीलाई कर्तव्य गरी मारेको सिद्ध हुनआएको हुँदा ज्यानसम्बन्धी महलको १३(३) अनुसार सजायँको माग दावी गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन दावी ।