निर्णय नं. १०९९० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९९० - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/११/१८ ७६९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना आदेश मिति : २०७७।११।१८ ०७२-WO-०३८३ मुद्दा: उत्प्रेषण निवेदक : का.जि.का.म.न.पा. वडा नं.१४ कुलेश्वर सिद्धार्थ मार्ग बस्ने डा. सागरकुमार दुवाल श्रेष्ठ विरूद्ध प्रत्यर्थी : नेपाल सरकार, मन्त्रिपरिषद्, सिंहदरबार काठमाडौंसमेत महत्त्वपूर्ण सार्वजनिक जिम्मेवारीको पदमा रहेका प्रहरी अधिकृतले अध्ययनका लागि शिक्षण संस्थामा भर्ना हुनुपूर्व सम्बन्धित अधिकारीबाट औपचारिक रूपमा अनुमति वा स्वीकृति लिनु आवश्यक हुने । अध्ययन गर्न शिक्षण संस्थामा भर्ना भएको कुरालाई सेवाबाट बर्खास्त गर्ने पर्याप्त र मनासिब आधार मान्न नमिल्ने । रीतपूर्वक अनुमति नलिई अतिरिक्त समय मिलाएर उच्च शिक्षा हासिल गर्नु कुनै गम्भीर प्रकृतिको कसुर नहुने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री सतिशकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री बल्लभ बस्नेत प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६, १३३(२),(३) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :- तथ्यगत बेहोरा तत्काल मेरो योग्यता चिकित्साशास्त्रमा स्नातकोपाधि (एम.वि.वि.एस.) हुँदा मिति २०६२।३।१७ मा नेपाल प्रहरी अस्पतालमा प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भएको थिएँ । मिति २०६८।०७।०७ मा प्रा. प्रहरी नायब उपरीक्षक पदमा बढुवा भयो । यसबिच अध्ययन बिदा स्वीकृत गराई मिति २०६५।०६।०८ देखि २०६८।०५।०७ सम्म चिनको Zhengzhou University बाट नेफ्रोलोजी विषयमा स्नातकोत्तर तह (एम.डि.) अध्ययन गरेँ । सो अध्ययनबाट फर्की मिति २०६८।०५।०७ मा पुनः आफ्नो सेवामा हाजिर भई डाइलेसिस विभागमा कार्यरत थिएँ । त्यसपछि त्रि.वि. शिक्षण अस्पतालबाट शैक्षिक वर्ष २०६९।०७० को डि.एम. नेफ्रोलोजी कार्यक्रममा अध्ययनको अवसर पाएकोले म कार्यरत अस्पताल प्रमुखसँग सल्लाह गरी अस्पतालको काममा बाधा नपर्ने गरी अध्ययन सुरू गरेँ । म मिति २०६९।०६।१७ देखि त्रि.वि.मा अध्ययन गर्नुका साथै प्रहरी अस्पतालमा पनि निर्धारित ड्युटी गर्दै गएँ । अस्पतालमा उपस्थित भई सेवा र हाजिर गरिरहेको अवस्थामा मिति २०६९।८।१७ र मिति २०६९।०९।४ मा मलाई तपाइँ कसका आदेशले गैरहाजिर रही अध्ययन गर्न जानुभएको हो भनी विपक्षी अस्पतालबाट पत्र लेखियो । मैले आफू नियमित रूपमा काममा हाजिर रहेको र अध्ययन गरेको यथार्थ जवाफ दिएँ । तर मिति २०७०।२।११ का दिन प्रहरी अस्पतालमा हाजिरी गर्न जाँदा हाजिरी रजिस्टरमा मेडिकल डाइरेक्टरको आदेश नहुँदासम्म हाजिर नगर्नु होला भनी जनाइएको रहेछ । म नियमित रूपमा काम गरिरहेको हुनाले मिति २०६९ साल माघ महिनासम्म मेरो तलबसमेत पूरै भुक्तानी दिइएको थियो । मिति २०७०।०१।२६ गतेको गोरखापत्रमा मेरा नाममा नेपाल सरकार गृह मन्त्रालयबाट स्पष्टीकरण माग गरिएको सूचना रहेछ । सोको जवाफ पनि मैले दिएको थिएँ । तर मलाई कुनै थप सोधखोज जनाउ बेगर एक वर्षपछाडि मिति २०७१।०३।३१ मा तत्काल कायम नै नरहेको प्रहरी नियमावली, २०४९ को नियम ८४(ज) बमोजिम सेवाबाट किन नहटाउने भनी प्रस्तावित सजाय खोली स्पष्टीकरण सोधियो । सोको समेत मैले आफ्नो स्पष्ट तथ्यहर