निर्णय नं. १०९९२ - नाता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९९२ - नाता कायम भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७८/११/२९ २८०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७८।११।२९ ०७३-CI-०५०५ मुद्दा : नाता कायम पुनरावेदक / प्रतिवादी : दोलखा जिल्ला, बुलुङ गा.वि.स., वडा नं.२ बस्ने भुमिशंकर आचार्यको छोरा हेमन्त शंकर आचार्य विरूद्ध प्रत्यर्थी / वादी : दोलखा जिल्ला मागापौवा गा.वि.स., वडा नं. ५ घर भई ऐ. जिल्ला, बुलुङ गा.वि.स., वडा नं.२ बस्ने छविलाल न्यौपानेको नातिनी केदारप्रसाद न्यौपानेको छोरी हेमन्त शंकर आचार्यको श्रीमती मन्दीरा न्यौपाने आचार्य झुक्याई सम्बन्ध विच्छेद गराए पनि हाम्रो श्रीमान् श्रीमतीको सम्बन्ध यथावत् छ भनी दाबी गरेको अवस्थामा पक्षका व्यवहार र आचरणहरू नहेरी सम्बन्ध विच्छेदको मिलापत्र बदरको माग गरिएको छैन भन्ने नितान्त प्राविधिक कुरा उठाई नाता कायम हुँदैन भन्नु अन्यायपूर्ण हुने । न्याय समग्रतामा हेरिने र पक्ष तथा समाजले अनुभूत गर्ने कुरा हुने । समाजमा विदेश जाने जुन लहर र हुटहुटी चलेको छ, जसरी झुट्टा विवाह वा कागजी विवाह गरेर भिसा हात पार्नेसम्मका गतिविधि भइरहेका छन्, प्रतिवादीले पनि त्यसो गर्ने प्रयास गरेनन् होला भन्न नसकिने । वादी प्रतिवादीबिच परम्परागत विवाह भएको र विवाहको बन्धन र नातालाई वादीले यथावत् कायम राख्न माग गरी वर्षौंसम्म मुद्दा लडिरहेको अवस्थालाई मानव अधिकारको दृष्टिबाट हेरिनुपर्ने । (प्रकरण नं.५) वादीलाई छलेर कानूनी रूपमा सम्बन्ध विच्छेद गरी सोपश्चात् निजसँग सामाजिक रूपमा पति-पत्नीसरह बसेको अवस्थामा वादीलाई अंश हकबाट वञ्चित गराउँदा नेपालको संविधानले सुनिश्चित गरेको वंश, सम्पत्ति र सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार हनन हुने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री प्रकाश पन्थी, श्री नेत्र आचार्य, श्री भोजराज भट्ट, श्री कुमारप्रसाद आचार्य तथा श्री लक्ष्मण आचार्य प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री शरण शंकर पौडेल, श्री खडानन्द कँडेल र श्री सरिता अकौलिया अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान सुरू फैसला गर्ने : मा.जिल्ला न्या. श्री ठाकुरप्रसाद शर्मा दोलखा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने अदालतः मा. न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती पुनरावेदन अदालत पाटन फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्राप्त भई पुनरावेदनको रोहमा दर्ता हुन आएको यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- तथ्य खण्ड म फिरादीलाई विपक्षीका पिता भुमिशंकर आचार्यले मागी जातीय परम्पराअनुसार मिति २०६७/१०/१० मा विपक्षीसँग विवाह भई श्रीमान् श्रीमतीको नाता कायम रही घर गरी बसिरहेका थियौं । विपक्षी पतिले कानूनी रूपले सम्बन्ध विच्छेद गराई अलग राख्ने नियतले मामाको छोरा अमेरिकामा हुनुहुन्छ भनी मलाई पनि डि.भि. भर्न भन्नुभयो । डि.भि. भर्न घरसल्लाह गरी काठमाडौं गएपछि विवाहितले डि.भि. भर्न कठिनाई हुने हुँदा पहिला कानूनी रूपमा सम्बन्ध विच्छेद गरौं, डि.भि. भरी अमेरिका गएपछि तिमीलाई लान्छु भनी काठमाडौं बोलाई अनेकौं प्रलोभन देखाई विश्वासमा पारी, अमेरिका जाँदा भविष्य बन्ने सम्झी काठमाडौं जिल्ला