निर्णय नं. १०९९६ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९९६ - उत्प्रेषण / परमादेश भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०८/०१ ७९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।८।१ ०७३-CI-००२९ मुद्दा : उत्प्रेषण / परमादेश पुनरावेदक / वादी : जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ३ बस्ने जेठमल गोल्छा विरूद्ध प्रत्यर्थी / प्रतिवादी : आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापासमेत विदेशी नागरिकले दर्ता गरेको फर्मको कर वा राजस्व उक्त फर्मले नतिरेमा आफूले तिर्ने कबुल गरी फर्म दर्ता गर्ने समयमा ग्यारेन्टी बसेकोमा त्यस्तो फर्मले कर वा राजस्व नतिरेमा सो चुक्ता गर्ने दायित्व ग्यारेन्टी बसेको व्यक्तिमा सर्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सुनिलकुमार पोखरेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : पुनरावेदन तहमा फैसला गर्नेः- माननीय मुख्य न्यायाधीश श्री मिरा खडका माननीय न्यायाधीश श्री रमेश पोखरेल पुनरावेदन अदालत इलाम आदेश न्या.डा.कुमार चुडाल : पुनरावेदन अदालत इलामको मिति २०७२|७|१८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत यस अदालतमा प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्यगत बेहोरा म निवेदक जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.१ मा स्थायी बसोबास गर्दै आएको नेपाली नागरिक हुँ । मेरा नाउँमा दर्ता कायम रहेको जिल्ला झापा मेची नगरपालिका वडा नं.१ को कि.नं. ६४ को घरजग्गासमेत र ऐ. को कि.नं. ३२ को जग्गा हो । आफ्नो स्रेस्ता नक्कल लिन भनी मालपोत कार्यालय, झापामा पुग्दा आफ्नो उक्त घर जग्गा रोक्का रहेको छ भनी बुझ्दा विपक्षी नं.१ को मिति २०७१।७।२० को च.नं. १९९६ को पत्रले रोक्का छ भनी थाहा पाई मिति २०७२।७।१६ को टिप्पणी आदेश हेर्दा करदाता श्री चामुण्डा इन्टरप्राइजेजले बुझाउनुपर्ने आयकर बक्यौता तिर्न बाँकी रहेको र दाखिला गर्न पटकपटक ताकेता गर्दासमेत नबुझाएको रहेछ । विपक्षी नं.१ को करदाताले २०५५ सालदेखि गरेको कारोबार र निजले यस कार्यालयलाई बुझाउनुपर्ने कर बक्यौता उठाउनेतर्फ आजका मितिसम्म विपक्षी नं.१ को करको भुक्तानी तथा असुली प्रक्रिया Tax payment and recovery नगरी म निवेदकको सम्पत्ति रोक्का गरी मेरो प्राप्त संवैधानिक हकमा आघात पर्ने कार्य विपक्षीबाट भएको प्रस्ट छ । चामुण्डा इन्टरप्राइजेजका प्रोपाइटर भारतीय नागरिक भएको हुँदा निजले तिर्नुपर्ने कर बक्यौता निजले नतिरे म निवेदकले तिर्न बुझाउने कबुल गरी जमानत गरेको विषय चिरकाल पर्यन्तका लागि नभई निश्चित अवधिका लागि हुने कानूनतः स्पष्ट छ । वस्तुतः चामुण्डा इन्टरप्राइजेजका प्रो.नेमचन्द जैनका लागि म निवेदकले दिएको भनेको जमानतबमोजिम निजले तिर्नुपर्ने सो कर दस्तुरसम्म सीमित रहने कानूनतः स्पष्ट छ । म निवेदकले जमानत दिएको अवधिको कर दस्तुर वा दायित्व सो चामुण्डा इन्टरप्राइजेजका प्रो.नेमचन्दले तिर्न बुझाउन बाँकी रहेको छैन । म निवेदकले जमानत दिएको फर्मको प्रोपाइटरको मृत्युपश्चात् अन्य व्यक्तिहरूका नाममा फर्म नामसारी बिक्री, हस्तान्तरण भएमा समेत म निवेदकलाई कुनै थाहा जानकारी वा सूचनाबेगर सो मृतक प्रोपाइटरका जमानीकर्ताको हैसियतले दायित्व बेहोर्नुपर्ने भन्न न्याय, कानून र सद्विवेकसमेतले नमिल्ने स्पष्ट छ । यसरी एकाले तिर्ने कर बक्यौता म निवेदकले तिर्नुपर्ने भनी आयकर ऐन, २०५८ मा कही