निर्णय नं. ११००१ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११००१ - उत्प्रेषणयुक्त परमादेश भाग: ६४ साल: २०७९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०३/१२ ८९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।३।१२ ०७८-WO-०६२५ विषय : उत्प्रेषणयुक्त परमादेश निवेदक : बागलुङ जिल्ला अमलाचौर गा.वि.स. वडा नं. २ घर भई हाल प्रदेश प्रशिक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेश, नेपालगञ्ज बाँकेको कार्यकारी निर्देशकको पदबाट अवकाश प्राप्त वर्ष ४९ को मोतिप्रसाद शर्मा विरूद्ध प्रत्यर्थी : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, मुकाम बुटवल नेपालसमेत बिना आधार र कारण कसैलाई पदबाट हटाउँदा निजको संविधानप्रदत्त रोजगारीको हकमा प्रतिकूल असर पर्ने । कानूनको शासनविपरीत उचित प्रक्रियाको अवलम्बन नगरी गरिएका कार्यहरूले वैधता प्राप्त गर्न नसक्ने । निवेदकलाई प्रतिकूल असर पर्ने गरी निर्णय गर्दा सफाइ पेस गर्ने मनासिब मौका दिनुपर्ने । सफाइको मौका नै प्रदान नगरी एक पक्षीय रूपमा गरिएको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने । त्यस्तो निर्णयले वैधानिकता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.७) समान उद्देश्य प्राप्तिको निमित्त भइरहेको गठन आदेशलाई प्रतिस्थापन गर्ने गरी नयाँ आदेश आउँदैमा निश्चित पदावधि (Fixed Tenure) तोकी नियुक्त गरिएकोले उक्त पदावधि बाँकी नै रहिरहेको अवस्थामा उक्त पदबाट निवेदक मुक्त हुन्छ भन्न नसकिने । नयाँ व्यक्ति नियुक्ति गर्ने एकमात्र उद्देश्यको लागि उमेर हदमा परिवर्तन गरी नयाँ गठन आदेश जारी गरेबाट पनि प्रत्यर्थीहरूको मनसाय दुराशयपूर्ण देखिने । (प्रकरण नं.८) अधिकारको प्रयोग स्वेच्छाचारी तथा बदनियतपूर्वक अप्रासाङ्गिक परिणाम प्राप्त गर्नका लागि दुरूपयोग गरिन्छ भने त्यस्तो कार्य नि:सन्देह शक्तिको दुरूपयोग हुने । यस्तो खालको बदनियपूर्ण तथा विकृत मनसायबाट प्रेरित (Misused or Vitiated by Its Mala Fide Exercise) अभ्यासले विधि र कानूनको शासनको उपहास मात्र हैन समग्र राज्य प्रणालीप्रति अविश्वास पैदा गर्ने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराई प्रत्यर्थीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमणकुमार श्रेष्ठ अवलम्बित नजिर : ने.का.प.२०५३, अङ्क १२, नि.नं.६२९५ ने.का.प.२०६४, अङ्क ४, नि.नं.७८३९ सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६, १३३ (२) र (३) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छः तथ्य खण्ड लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा नियुक्तिको लागि प्रकाशित सूचनाबमोजिम आवेदन पेस गरी प्रतिस्पर्धाको आधारमा प्रदेश प्रशिक्षण प्रतिष्ठान (गठन तथा कार्य सञ्चालन) आदेश, २०७७ को दफा १२ बमोजिम प्रदेश सरकारबाट चार वर्षको लागि प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा मिति २०७७।६।२० मा नियुक्ति भई आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको थिएँ । यसैबिचमा २०७८ साल कार्तिक १२ गते बसेको लुम्बिनी प्रदेश, मन्त्रिपरिषद्को निर्णयमा निर्णय नं. २ मा “प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र कार्य सञ्चालन) आदेश २०७८ स्वीकृत गर्ने” र निर्णय नं.३ मा उक्त आदेशबमोजिम प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रत्यर्थीमध्येका गुरुप्रसाद शर्मालाई नियुक्त