निर्णय नं. ११००४ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११००४ - उत्प्रेषणयुक्त परमादेश भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०८/०८ ३००५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।८।८ ०७५-NF-००४१ मुद्दाः उत्प्रेषणयुक्त परमादेश पुनरावेदक / विपक्षी : कालिका नगरपालिका चितवनका तर्फबाट ऐ. वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजाल विरूद्ध प्रत्यर्थी / निवेदक : जिल्ला धादिङ, सल्यानटार गा.वि.स. वडा नं. ७ बस्ने मनबहादुर ठकुरीसमेत पुनरावलोकनको लागि निवेदन दिँदा फैसला वा अन्तिम आदेशमा हस्ताक्षर गरी प्रमाणित गरेको मितिले साठी दिनभित्र दिनुपर्ने भन्ने व्यवस्था देखिँदा उक्त म्याद नघाई नक्कल सारीलिएको मितिको आधारमा जहिलेसुकै पनि पुनरावलोकनको निवेदन दायर गर्न सकिने भनी व्याख्या गर्नु उल्लिखित कानूनी व्यवस्था र विधायिकी मनसायविपरीत हुने । (प्रकरण नं.३) न्याय प्रशासन ऐन, २०७३ को दफा ११(४) मा भएको “प्रमाणित गरेको मितिले” भन्ने वाक्यांशको अर्थ “थाहा पाएको मितिले” जस्तो असीमित म्याद कायम हुने गरी व्याख्या गर्न मिल्ने देखिएन । पुनरावलोकन जस्तो यस अदालतबाट समेत अन्तिम आदेश वा फैसला भई अत्यन्त सीमित र खास आधारमा मात्र पुनरावलोकन गर्न सकिने कानूनी व्यवस्थालाई कानूनमा भएको व्यवस्थाविपरीत असीमित म्यादसम्म जहिलेसुकै नक्कल सारी पुनरावलोकनको निवेदन दायर गर्न पाउने भन्नु उचित र तर्कसम्मत नहुने । (प्रकरण नं.५) फैसला तयार भएको जानकारी सार्वजनिक भए नभएको यकिन गरी फैसला भएको मितिले एक वर्षको अवधिमा फैसला तयार भएको थिएन र यथार्थमा सो फैसलामा हस्ताक्षर भई प्रमाणित भएको साठी दिनभित्रै छ भनी यकिन गरेको अवस्थामा मात्र दर्ता गर्नु कानूनसम्मत हुने । (प्रकरण नं.७) पुनरावेदक / विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डे र विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी तथा विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री बद्रीबहादुर कार्की र श्री केदारप्रसाद दाहाल प्रत्यर्थी / निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री एकराज भण्डारी र विद्वान् अधिवक्ताहरू डा.श्री भिमार्जुन आचार्य, श्री रामकृष्ण भण्डारी, श्री गोकुल भण्डारी, श्री मनोहर लामिछाने, श्री कपिलचन्द्र पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान न्याय प्रशासन ऐन, २०७३ मुलुकी देवानी कार्यविधि संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ जग्गा प्राप्ति ऐन, २०३४ यस अदालतमा फैसला गर्नेः मा. न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा. मा. न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश न्या.डा.मनोजकुमार शर्मा : यस अदालतको मिति २०७५।५।२७ को आदेशउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुनरावलोकनको अनुमति प्राप्त भई पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :- तथ्य खण्ड हामी निवेदकहरू क्रमशः मनबहादुर ठकुरीको नाममा मालपोत कार्यालय, चितवनमा एकलौटी दर्ता स्रेस्ता कायम भएको चितवन जिल्ला पदमपुर गा.वि.स. वडा नं. ५(ग) कि.नं. ५३५ को बिगाहा ०-१-० जग्गा, म निवेदक पूर्णप्रसाद अधिकारीको नाममा दर्ता भएको चितवन जिल्ला पदमपुर गा.वि.स. वडा नं. ८(क) कि.नं. २०२ को बिगाहा ०-१-० जग्गा, म निवेदक हिराप्रसादको आमा नयना कुँवर जोगीको नाममा दर्ता भएको चितवन जिल्ला पदमपुर गा.वि.स. व