निर्णय नं. ११००७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११००७ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०८/१३ १९५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०७९।८।१३ ०७५-WO-०७२६ विषय :- उत्प्रेषण निवेदक : अर्घाखाँची जिल्ला हंशपुर गा.वि.स. वडा नं.२ हालको मालारानी गाउँपालिका वडा नं. ८ घर भई उपराष्ट्रपतिको कार्यालयमा विशिष्ट श्रेणीको सचिव पदमा कार्यरत रहेको अवस्थामा राजीनामा गरी स्वेच्छाले सेवाबाट अवकाश लिने शंकरप्रसाद अधिकारी विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत निजामती सेवा ऐन, २०४९ को दफा ३७(३) मा व्यवस्था भएबमोजिमको थप सेवा अवधिको गणनाका लागि राजीनामा स्वीकृत हुनुपर्ने गरी कानूनले नै आवश्यक नठानेको अवस्थामा राजीनामा स्वीकृत नभई सो व्यवस्था आकर्षित हुँदैन भन्दा सो कानूनको प्रत्यक्षत: त्रुटिपूर्ण प्रयोग हुने । (प्रकरण नं.३) तिस वर्ष सेवा अवधि पूरा गरिसकेका निजामती कर्मचारीको अवकाश लिने विषयलाई विधायिकाले निजामती कर्मचारीको स्वेच्छाको विषयको रूपमा व्यवस्था गर्ने तर सोबमोजिम स्वेच्छाले अवकाश लिन खोज्दा पनि अख्तियारवालाले राजीनामा स्वीकृत नगरी अवकाश लिन नदिने गर्दा निजामती सेवा ऐन, २०४९ को दफा ३७(३) को भावना र मर्मविपरीत हुने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उप्रेती र विद्वान् अधिवक्ता श्री नारायणप्रसाद पराजुली विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ आदेश न्या.तिलप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने भनी दर्ता भई सुनुवाइको लागि आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं सोमा भएको आदेश यसप्रकार छ : रिट निवेदनको संक्षिप्त तथ्य म रिट निवेदक मिति २०४४।०६।२९ मा निजामती सेवाको राजपत्र अनङ्कित प्रथम श्रेणी लेखापाल पदबाट निजामती सेवामा प्रवेश गरी वृत्ति विकासको क्रममा निजामती सेवाका विभिन्न पदमा बढुवा हुँदै मिति २०७०।०४।०६ मा नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव पदमा बढुवा भएको हुँ । मेरो सेवा अवधि मिति २०७४।०६।२९ मा ३० वर्ष पुगेको छ । निजामती सेवा ऐन, २०४९ को दफा ३७(३) मा भएको कानूनी व्यवस्थाबमोजिम स्वेच्छाले मिति २०७५।०४।०३ गतेदेखि लागु हुने गरी अवकाश लिनका लागि मैले मिति २०७५।०४।०२ मा मुख्य सचिवमार्फत नेपाल सरकारलाई दिएको राजीनामा मलाई सनाखत गराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवज्यूबाट प्रमाणितसमेत गरी राखिएको थियो । यसैबिच नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५।०४।१० को निर्णयानुसार मैले सचिव पदबाट अनिवार्य अवकाश पाएको भन्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७५।०४।१० को पत्र तथा म कार्यरत रहेको उपराष्ट्रपतिको कार्यालयको मिति २०७५।०७।१३ को पत्र मलाई मिति २०७५।०७।१३ मा प्राप्त भएको हुँदा मैले निजामती सेवा ऐन, २०४९ को दफा ३७(३) बमोजिम निवृत्तिभरणको लागि सेवा अवधि गणना गरी पाउन माग गरी मिति २०७५।०७।३० मा निजामती किताबखानाका महानिर्देशकसमक्ष निवेदन दिएकोमा मैले पदावधिको कारणबाट अनिवार्य अवकाश पाएको हुँदा मिति २०७५।१०।०२ को निर्णयानुसार निजामती सेवा ऐनको दफा ३७(३) को व्यवस्था मेरो हकमा लागु नहुने भन्