निर्णय नं. ११०११ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०११ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०८/०६ १४७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना आदेश मिति : २०७९।८।६ ०७७-WO-०५७१ मुद्दा : उत्प्रेषणसमेत निवेदक : दिलीप सहनी र निना सहनीको छोरी, साबिक झापा जिल्ला, अनारमनी गाउँ विकास समिति वडा नं. ४ घर भई हाल परिवर्तित बिर्तामोड नगरपालिका वडा नं. ४ बस्ने सोनिया सहनी विरूद्ध विपक्षी : गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत बाबु वा आमामध्ये कसैको नामबाट नागरिकता लिन सक्ने व्यवस्था संविधान तथा ऐनमा भएपछि बाबुको नागरिकताको प्रमाणपत्र पेस नगरेको भए पनि आमाको नागरिकता राखी निवेदन दिन सक्ने । निवेदकले बाबुको नागरिकता पेस गर्न नसकेको भनी नागरिकताको प्रमाणपत्र प्रदान गर्न इन्कार गर्न नमिल्ने । (प्रकरण नं.८) बाबु सम्पर्कविहीन रहेको र निवेदकको आमाले वंशजको नेपाली नागरिकता प्राप्त गरेको भन्ने देखिएको अवस्थामा निवेदकलाई आमाको नामबाट कानूनबमोजिम नेपाली नागरिकता प्रदान गर्न सकिने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री चुडामणि पोखरेल र श्री विनोद शर्मा विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइटेल तथा विद्वान् अधिवक्ता श्री भिष्मप्रसाद पौडेल अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क २, नि.नं.८५५७, पृ.१५५ ने.का.प.२०७३, अङ्क ९, नि.नं.९६८७ सम्बद्ध कानून : नेपालको संविधान नेपाल नागरिकता ऐन, २०६३ आदेश न्या.प्रकाशकुमार ढुंगाना : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ (२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यस प्रकार रहेको छः- तथ्य खण्ड झापा जिल्ला साबिक अनारमनी गाउँ विकास समिति वडा नं. ४ घर भई हाल परिवर्तित बिर्तामोड नगरपालिका वडा नं. ४ मा बसोबास गर्ने आमा निना सहनी र बुबा दिलीप सहनीबाट मिति २०५७।०८।०१ गते म निवेदकको जन्म भई सोही बिर्तामोड नगरपालिकामा स्थायी बसोबास गर्दै आएका छौं । मेरो बुबा दिलीप सहनी धेरै वर्ष पहिला नै हामीलाई छाडेर कहाँ जानुभयो हालसम्म अत्तोपत्तो छैन । मेरो आमाले मलाई पालन पोषण गर्नुभएको र मावली हजुर बुबा शंकर सहनीले बिर्तामोड नगरपालिकामा मेरो जन्म दर्ता गराइदिनुभएकोले स्थानीय पञ्जिकाधिकारीको कार्यालय बिर्तामोड नगरपालिका झापामा मेरो जन्म दर्ता भई प्रमाणपत्र प्राप्त गरी मिसिल सामेल गरेको छु । मैले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी Kanchanjunga English Secondary School अनारमनी २ बिर्तामोड झापाबाट २०७६ सालमा +२ उत्तीर्ण गरी मिति २०७६।४।२९ गते माइग्रेसन सर्टिफिकेट प्राप्त गरेको छु । हाल Imperial Business College कमलादी काठमाडौंमा BBA दोस्रो सेमिष्टरमा अध्ययनरत छु । मेरो शैक्षिक योग्यताअनुसार नेपाल सरकारको निजामती सेवा प्रवेशलगायत विभिन्न बैंक तथा वित्तीय संस्थामा सेवा प्रवेश गर्न र उच्च शिक्षा अध्ययनका लागि विदेश जान नागरिकता र पासपोर्ट आवश्यक पर्ने भएकोले नागरिकता प्रमाणपत्र लिनका लागि आमा निना सहनीको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी १ नं. अनुसूची फाराम भरी वडा कार्यालयको सिफारिसका लागि बिर्तामोड नगरपालिका वडा नं. ४ को कार्यालयमा पेस गर्दा वडा कार्यालयले सिफारिस नदिएको र बिर्तामोड नगरपालिकामा सम्पर्क गरी १ नं. अनुसूची फारामसमेत विपक्षी जिल्ला प्रशासन कार्यालय झापामा पेस गरेको थिएँ