निर्णय नं. ११०१७ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०१७ - उत्प्रेषणयुक्त परमादेश भाग: ६५ साल: २०८० महिना: बैशाख अंक: १ फैसला मिति :२०७८/०८/२६ २१८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७८।८।२६ ०७५-WO-०६४९ विषय: उत्प्रेषणयुक्त परमादेश निवेदक : दिलाराम रोकायाको नातिनी, मिश्रीप्रसाद रोकायाको छोरी वीरबहादुर खड्काको श्रीमती जिल्ला रूकुम (पश्चिम), त्रिवेणी गाउँपालिका वडा नं. ८ बस्ने खिमा खड्कासमेत विरूद्ध विपक्षी : त्रिवेणी गाउँपालिका, त्रिवेणी गाउँपालिकाको कार्यालय, सिम्रुतु खारानेटा, रूकुम (पश्चिम) समेत गाउँपालिका आफैँले बनाएको कार्यविधिअनुसार गाउँ शिक्षा समितिले निर्णय गरी काजसरूवा गर्नुपर्नेमा सो नगरी नभएको अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाको कार्यालयले काजसरूवा गरेको पाइने । स्थानीय तहले आफ्नो भौगोलिक क्षेत्राधिकारभित्र लागु हुने गरी कानून निर्माण गर्न सक्ने भए पनि सङ्घीय कानून र प्रदेश कानूनले तोकिदिएको सीमाभित्र रहेर कानून निर्माण गर्नुपर्ने । सङ्घीय तथा प्रदेश कानूनविपरीत हुने गरी कानून निर्माण गर्ने छुट कुनै पनि स्थानीय तहलाई रहे भएको नदेखिने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपाने तथा विद्वान् अधिवक्ताहरू श्री प्रदिपकुमार पोखरेल, श्री सुरेन्द्र तिवारी र श्री मदन रेग्मी विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान शिक्षा ऐन, २०२८ आदेश न्या.प्रकाशमान सिंह राउत : नेपालको संविधानको धारा ४६ र १३३ बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ:- तथ्य खण्ड हामी निवेदकहरू शिक्षा ऐन, २०२८ अन्तर्गत नियुक्ति भएका स्थायी, अस्थायी तथा राहत अनुदान कोटामा कार्यरत शिक्षकहरू हौं । हामी निवेदकहरूमध्येकी म शिक्षिका खिमा खड्का मिति २०५०।०२।०४ मा श्री प्राथमिक विद्यालय भूर्तिवाङ मुरू, रूकुममा प्राथमिक विद्यालय चतुर्थ श्रेणीमा स्थायी नियुक्ति भई मिति २०५९।१२।०२ मा श्री जनप्रिय माध्यमिक विद्यालय पेउघामा सरूवा भई मिति २०६८।१०।०८ मा प्रा.वि. द्वितीय श्रेणीमा बढुवा भई सोही विद्यालयको एक मात्र स्थायी महिला शिक्षिकाको रूपमा काम गर्दै आएकी छु । म शिक्षक अमर सिं खड्का मिति २०५०।०२।०६ मा विचकटिया प्राथमिक विद्यालय नुवाकोट, रूकुममा प्राथमिक विद्यालय चतुर्थ श्रेणीमा स्थायी नियुक्ति भई मिति २०५३।०१।१८ मा श्री हिमालय जनता माध्यमिक विद्यालय त्रिवेणी ९, नुवाकोट डाँडा, रूकुममा सरूवा भई मिति २०६४।०२।३० मा प्राथमिक विद्यालय द्वितीय श्रेणीमा बढुवा भई हालसम्म अविच्छिन्न रूपमा काम गर्दै आइरहेको छु । म निवेदक खड्कबहादुर ओली मिति २०६३।०८।१८ गते लावाङ महत रूकुममा प्राथमिक विद्यालय तृतीय श्रेणीमा स्थायी नियुक्त भई मिति २०६३।११।२२ मा खुम्चेरी माध्यमिक विद्यालय, खारामा सरूवा भई मिति २०७३।०६।१४ मा प्राथमिक विद्यालय द्वितीय श्रेणीमा बढुवासमेत भई हाल सोही विद्यालयमा कार्यरत छु । म दिपेन्द्रकुमार ओली मिति २०६१। ०३।११ मा प्राथमिक विद्यालय राहत अनुदान कोटाको तृतीय श्रेणीको पदमा युवा जनजागरण प्राथमिक विद्यालय झुलनेटा खारा, रूकुममा अस्थायी करारमा नियुक्ति भई निरन्तर रूपमा कार्यरत छु । यसरी हामी निवेकहरू आ-आफ्नो विद्यालयमा अध्यापन गराइरहेकोमा त्रिवेणी गाउँ कार्यपालिकाको मिति २०७५।०८।१४ को निर्णयले खिम