निर्णय नं. ११०२७ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०२७ - अंश दर्ता भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०५/२६ ११५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।५।२६ ०७४-CI-०१३२ मुद्दा: अंश दर्ता पुनरावेदक / प्रतिवादी : पर्सा जिल्ला, नगरदाहा गा.वि.स., वडा नं. १ बस्ने स्व. गगनदेव राउतको छोरा वर्ष ४५ को बिरवल राउत अहिरसमेत विरूद्ध प्रत्यर्थी / वादी : विदेश भारत, विहार राज्य, पूर्वी चम्पारण जिल्ला, रक्सौल ग्राम पञ्चायत नौनीयाडीह अहिरवा टोल बस्ने ब्रम्हदेवप्रसाद यादवसमेत केही अंशियार भारतमा र केही अंशियार नेपालमा बसेको अवस्थामा वादी भारतमा बसेको भन्ने आधारमा निजको नेपालमा रहेको सम्पत्तिमा निहित अंशहकबाट वञ्चित गर्नु न्यायोचित नहुने । (प्रकरण नं. १०) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री कृष्ण थापा र श्री रामविलास राउत प्रत्यर्थी वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री इन्द्रबहादुर अधिकारी अवलम्बित नजिर : ने.का.प २०५५, अङ्क २, नि. नं. ६५०७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.न्या. श्री अमृतबहादुर बस्नेत पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. डा. श्री कुलरत्न भुर्तेल मा.न्या. श्री थीरबहादुर कार्की पुनरावेदन अदालत हेटौंडा फैसला न्या.डा.मनोजकुमार शर्मा : पुनरावेदन अदालत हेटौंडाको मिति २०७२।९।१३ को फैसलाउपर प्रतिवादी बिरवल राउत अहिरसमेतको तर्फबाट मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी परेको निवेदनमा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम यस अदालतबाट मिति २०७४।४।३१ मा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनसरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड गोपाल राउत अहिरको चार छोराहरू बहादुर यादव, सत्यनारायण यादव, देवनारायण यादव र शिव यादव भएकोमा सत्यनारायण यादवको सन्तान नभई स्वर्गबास भइसक्नुभएको छ भने शिव यादवको कुनै सन्तान छैनन् । देवनारायण यादव र शिव यादव अलग भिन्न भएको व्यक्ति हुन् । हाम्रो पिता बहादुर यादवको ४ छोराहरूमा ब्रम्हदेव प्रसाद यादव, गगनदेव राउत अहिर, धर्मदेव प्रसाद यादव र कमलदेव प्रसाद यादव भएकोमा कमलदेव प्रसाद यादवलाई काका शिव यादवले धर्मपुत्र बनाई राखेको हुन् । गगनदेव राउत अहिरको छोराहरू चन्देश्वर राउत अहिर, रामानन्द राउत अहिर, रामाश्रय राउत अहिर र बिरवल राउत अहिर हुन् । बहादुर यादव र गगनदेव यादवको मृत्यु भइसकेको छ । हामी वादी प्रतिवादी सगोल परिवारमा बसी भएको जग्गा जमिन गगनदेव राउत अहिरसमेतको नाममा राखी भोगचलन गरी आएकोमा सगोल परिवारको सङ्ख्यामा वृद्धि भई गृह कचिंगल हुन लागेकोले मिति २०६९।६।५ गते हाम्रो अंशहक माग गर्दा दिन इन्कार गरेकाले हामीबिच मानो छुटेको कुनै लिखत प्रमाण नभएकोले फिराद परेको अघिल्लो मितिलाई चुलो मानो छुटेको मिति कायम गरी सो मितिसम्मको बन्डा गर्नुपर्ने सम्पूर्ण चलअचल श्रीसम्पत्तिको ३ खण्डको २ खण्ड हाम्रो अंश छुट्याई हाम्रो नाउँमा दर्तासमेत गरिपाउँ भन्नेसमेत बेहोराको वादी ब्रह्मदेवप्रसाद यादवसमेतको फिराद पत्र । फिराद दाबीबमोजिम हामीले अंश दिनुपर्ने होइन । वादी दाबी झुठ्ठा हो । विपक्षीहरूले झुठ्ठा पुस्तावली देखाई फिराद दायर गरेको हुँदा अंशबन्डाको ३४ नं. बमोजिम विपक्षीहरूलाई हदैसम्म दण्ड सजाय गरी झुठ्ठा फिराद दाबीबाट फुर्सद पाउँ