निर्णय नं. ११०२८ - घर भत्काई टण्टा छोडाई बाटोसमेत खुलाइपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०२८ - घर भत्काई टण्टा छोडाई बाटोसमेत खुलाइपाऊँ । भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०५/०७ १२४९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति: २०७९।५।७ ०७४-CI-०४८८ मुद्दाः घर भत्काई टण्टा छोडाई बाटोसमेत खुलाइपाऊँ । पुनरावेदक / प्रतिवादी : लालबहादुर साहको छोरा बारा जिल्ला बसतपुर गा.वि.स. वडा नं.५ बस्ने पुनित साह तेली विरूद्ध प्रत्यर्थी / वादी : स्व.झगरू मियाको नाति, स्व.पिर महम्मद मियाको छोरा बारा जिल्ला बसतपुर गा.वि.स. वडा नं. २ हाल कलैया उपमहानगरपालिका वडा नं.२० बस्ने सहिद मिया अन्सारी व्यक्तिगत सम्पत्तिको संरक्षणमा जस्तो सार्वजनिक सम्पत्तिको संरक्षणमा यही नै व्यक्ति मात्र सरोकारवाला हुने भनी यकिन गर्न नसकिने । त्यस्तै व्यक्तिगत सम्पत्तिको संरक्षणमा जस्तो सार्वजनिक सम्पत्तिको संरक्षणमा कुनै व्यक्तिले निश्चित समयभित्र जागरूकता देखाइहाल्छ भन्ने अपेक्षा गर्न पनि नसकिने । कुनै व्यक्तिविशेषले सोबमोजिमको जागरूकता नदेखाइदिएको भन्ने मात्र कारणले सार्वजनिक सम्पत्तिको हिनामिना, दुरूपयोग वा अनधिकृत कब्जाले वैधता नपाउने । सार्वजनिक वा सरकारी सम्पत्तिको हकमा निश्चित अवधिभित्र नालिस दिए मात्र लाग्ने अन्यथा नलाग्ने गरी कुनै हदम्याद तोकिनु मनासिब नहुने । (प्रकरण नं. ५) पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उप्रेती र अधिवक्ता श्री जग्गनाथ महतो ‘सिंह’ प्रत्यर्थी वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र अधिवक्ता श्री रामविलास राउत अवलम्बित नजिर : ने.का.प २०६७ नि.नं. ८४८४ पृ. १०६९ ने.का.प २०५७ नि.नं. ६५९१ पृ. ७६९ ने.का.प २०४६ नि.नं. ३९५७ पृ. १०१६ सम्बद्ध कानून : मालपोत ऐन, २०३४ मुलुकी देवानी संहिता, २०७४ सुरू तहको फैसला गर्ने : मा. न्या. श्री भरतमणी खनाल बारा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री डिल्लीराज आचार्य मा. न्या. श्री विनोदप्रसाद शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या. तिलप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७२/०३/१४ मा भएको फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा १२ तथा दफा ३३ बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन यस अदालतमा दायर भएकोमा मिति २०७४/०९/०५ मा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई सुनुवाइको लागि आज इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः मुद्दाको संक्षिप्त तथ्य बारा जिल्ला बसतपुर गा.वि.स. वार्ड नं. ४ को कि.नं.२३४ को ज.वि. २-२-० जग्गा सडकको जग्गा भई फिल्डबुक र नक्सासमेतमा उक्त कि.नं.२३४ को जग्गा सडकको जग्गा भनी प्रमाणित भइरहेको र सो सडकको जग्गादेखि पूर्वतर्फ साँध जोडिएकै साबिक कि.नं. २८ को जग्गाबाट कित्ताकाट भई कायम भएको कि.नं. ८४३ मा ज.वि. ०-२-० र कि.नं. ८७० मा ज.वि. ०-२-० गरी जम्मा ज.वि. ०-४-० जग्गा विपक्षीको रहेको, विपक्षीले आफ्नो जग्गासम्ममा सीमित रही भोगचलन निर्माण कार्य आदि गर्नुपर्नेमा आफ्नो उक्त जग्गाका साथै सार्वजनिक सडकको पूर्वतर्फबाट सडकको करिब ज.वि. ०-०-१० जग्गा आफ्नो कि.नं.८४३ र कि.नं.८७० को जग्गाको पश्चिमतर्फमा च्यापी मिसाई घुसाई सडकको जग्गासमेतमा पर्नेगरी पक्की घर कोठा, सिँढी, ढोका राखी बनाई सडकको जग्गा जबरजस्ती गरी च्यापी मिची आफ्नो जग्गामा घुसाई घर बनाएकोले उ