निर्णय नं. ११०३० - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०३० - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०८/१३ १९९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०७९।८।१३ ०७७-WO-११०८ मुद्दा : उत्प्रेषणसमेत निवेदक : तिर्थप्रसाद नेपालको छोरी, मोरङ जिल्ला, साबिक विराटनगर उपमहानगरपालिका, वडा नं. ६ हाल परिवर्तित विराटनगर महानगरपालिका, वडा नं. ८ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.१, नागपोखरी बस्ने केन्द्रीय बहिरा मा.वि., नक्साल, काठमाडौंमा नायब सुब्बासरहको पदमा स्थायी रूपमा कार्यरत रही अवकाशप्राप्त बुनु अधिकारीसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौंसमेत विशेष शिक्षा सञ्चलान गर्ने संस्थाले त्यहाँ काम गर्ने शिक्षक र कर्मचारीहरूको लागि सेवा, सर्त र सुविधाको सम्बन्धमा सोही संस्थाको विधान वा नियमावलीमा तोकिएको हुनुपर्ने भए तापनि नेपाल सरकारमा अनुदान रकम उपलब्ध गराउनुपर्ने दायित्व रहेकोले लामो अवधिसम्म सेवा गरेका कर्मचारीहरूको लागि सेवा निवृत्त भएपछि दिनुपर्ने सुविधाहरूको बारेमा शिक्षा नियमावलीमा तोकिएको छैन, दिनु नपर्ने भनी व्याख्या गर्नु तर्कपूर्ण नहुने । (प्रकारण नं. १५) कर्मचारीहरूलाई विद्यालयको आवश्यकताअनुसार ६० वर्ष उमेर नाघेपछि पनि काम लगाई रहेकोमा स्थायी रूपले लामो अवधि सेवा गरेपछि प्राप्त गर्ने सुविधा दिन इन्कार गरिनु भेदभावपूर्ण व्यवहार हुने । (प्रकारण नं. १७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री बल्लभ बस्नेत र श्री उज्वल घिमिरे विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री दिनेशप्रसाद घिमिरे, विद्वान् वरिष्ठ अधिवक्ता श्री मुक्तिनारायण प्रधान र विद्वान् अधिवक्ताहरू श्री राम सुन्दर श्रेष्ठ, श्री ओमप्रकाश अर्याल र श्री रामबहादुर रावलसमेत अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा ऐन, २०२८ शिक्षा नियमावली, २०५९ नेपाल संविधान आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्र अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छः तथ्य खण्ड रिट निवेदनको बेहोरा: म निवेदक बुनु अधिकारी शारीरिक रूपले दुवै खुट्टा नभएको शारीरिक अपाङ्ग रहेको छु । मैले आई.ए. सम्म अध्ययन गरी सुस्त श्रवण कल्याण संस्थाद्वारा सञ्चालित बहिरा बालकको स्कुलमा मिति २०४५।०२।२८ मा स्थायी नियुक्ति पाई मिति २०७७।०८।३० मा ३२ वर्ष सेवा गरी केन्द्रीय बहिरा माध्यमिक विद्यालयको पत्रले उमेर हदको कारण सेवाबाट अवकाश पाएको थिएँ । त्यसैगरी, म निवेदक सितादेवी काफ्लेले सुस्त श्रवण कल्याण संस्थाद्वारा सञ्चालित बहिरा बालकको स्कुलमा २०५१ चैत्रमा पियनसरह तलब भत्ता पाउने गरी अस्थायी नियुक्ति पाई मिति २०५६।११।१६ मा पियन पदमै स्थायी नियुक्ति भएकोमा केन्द्रीय बहिरा माध्यमिक विद्यालयको मिति २०७७।०८।३० को पत्रले २०५६ माघ २८ गतेदेखि २०७७ साल असोज ३० गतेसम्म कार्यालय सहयोगी पदमा कार्यरत रहेको भनी उमेर हदको कारण देखाउँदै २०७७ साल कार्तिक १ गतेदेखि लागु हुने गरी अवकाश पाएको थिएँ । त्यसैगरी, म निवेदक गोविन्दप्रसाद काफ्लेले नेपाल बाल संगठन बहिरा बालक वाक शिक्षण केन्द्रको मिति २०३६।०१।१७ को पत्रले मिति २०३६।०१।०२ देखि स्थायी नियुक्ति हुने गरी कन्डक्टरको पदमा नियुक्ति पाएकोमा केन्द्र