निर्णय नं. ११०३७ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०३७ - परमादेश भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/०१/१२ १७५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७८।१।१२ ०७३-WO-१०२३ मुद्दा:- परमादेश निवेदक : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. २ सानेपा बस्ने अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसमेत विरूद्ध प्रत्यर्थी : सम्माननीय प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत देशको सीमाङ्कन गर्ने, सीमा क्षेत्रबाट एक अर्को देशमा आवत-जावत गर्ने नाका (मार्ग) तोक्ने जस्ता रणनीतिक विषय सन्धि सम्झौता वा द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धका आधारमा कार्यपालिकाले निर्णय गर्ने विषय भए पनि नागरिकको अधिकार तथा हक हितसँग प्रत्यक्ष सरोकार रहने सिमानाको सुरक्षा, सीमाबाट हुने आवत-जावतलाई नियमन गर्ने तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोकी सार्वजनिक सुरक्षा कायम गर्ने विषयमा नेपाल सरकारले नागरिकप्रति उत्तरदायित्व पूरा नगरेको जिकिर लिई देशको कुनै नागरिकले अदालतसमक्ष निवेदन दिएको खण्डमा यस अदालतले त्यस्ता समस्या समाधानको लागि सरकारलाई सकारात्मक कदम चाल्न उपयुक्त र न्यायोचित आदेश दिन सक्ने विषयलाई अन्यथा मान्न नमिल्ने । (प्रकारण नं. ) नेपाल–भारत सिमाना अत्यन्त पुरानो र साझा सभ्यता एवम् संस्कृतिले जोडिएको मुख्यत: दुईदेशीय आवागमनमा केन्द्रित छ । सीमाक्षेत्रका मानिसहरूका बिच दुवैतिर व्यापक मात्रामा व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक–सांस्कृतिक सम्बन्धहरू छन् । दुवै देशका सीमा क्षेत्रका नागरिक दैनिक रूपमा सीमा वारपार गरी एक अर्को देशमा आवत-जावत गर्नुपर्ने अवस्था रहेको छ । व्यापार व्यवसाय, स्वास्थ्य उपचार, शिक्षा, रोजगारी, नाता कुटुम्बसँग भेटघाट, भ्रमण, मनोरञ्जनलगायतका कार्यका लागि दुवै देशले एक अर्को देशमा सहज रूपमा वा केही हदसम्म नियन्त्रित रूपमा आवत-जावत गर्न दिँदै आएको पाइन्छ । यस्तो अवसरको फाइदा उठाई गलत मनसाय लिई एक अर्को देशमा आवत-जावत गर्ने सहज अवस्थाको अवाञ्छित र आपराधिक तत्त्वले दुरूपयोग गर्दै आएको कारण नेपाल भारतबिचको स्थल मार्गको खुला सीमालाई नियमन गर्नुपर्ने । (प्रकारण नं. ९) एक देशमा अपराध गर्ने, विना रोकटोक सीमापार गरी अर्कोतर्फ गएर अपराधी लुकिछिपी बस्ने तथा खुला सीमाका कारण आतङ्ककारी गतिविधिको चलखेल एवम् अन्तर–सीमा अपराध बढेको दुवै देशले महसुस गरेको पाइन्छ । खुला रूपमा आवत-जावत गर्न पाउने अवस्था रहेकोले खासगरी चेलिबेटी बेचबिखन, लागु पदार्थ ओसारपसार, व्यक्ति अपहरण, भन्सार छली, मालसामान तस्करी, भारतीय नक्कली नोट ओसारपसार जस्ता अवाञ्छित कार्यहरू दुवै देशको लागि समस्याको रूपमा रहेको भए पनि अल्पविकसित राष्ट्रको हिसाबले तुलनात्मक रूपमा हाम्रो मुलुक नेपालको लागि अझ बढी चुनौतीको विषय हुने । (प्रकारण नं. ९) सीमा क्षेत्रमा अन्तर सीमा लागु औषध ओसारपसार तथा कारोबार, नेपाली चेलिबेटीहरू भारतमा लगी बेचबिखन गर्ने, भन्सार छली, अवैध कारोबार, नक्कली मुद्राको कारोबार, व्यक्ति हत्या, डाँकालगायतका आपराधिक क्रियाकलापहरू हुने गरेको देखिन्छ । यस प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्नको लागि स्थलगत सीमा नाकाहरू तथा आवतजावत गर्ने स्थानहरूमा सुरक्षा निकायको उपस्थिति सुनिश्चित गर्ने, विकसित प्रविधिहरू (CCTV) जडान गर्नेलगायतका माध्ययमबाट सीमाको व्यवस्थापन र निगरानी दुरूस्त बनाउनु