निर्णय नं. ११०३९ - उत्प्रेषण, परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०३९ - उत्प्रेषण, परमादेश भाग: ६५ साल: २०८० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०५/३० १२७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७९।५।३० ०७८-WO-०५३४ मुद्दा:- उत्प्रेषण, परमादेश निवेदक : जिल्ला धनुषा, ढल्केवर गाउँ विकास समिति, वडा नं.२ हाल परिवर्तित मिथिला नगरपालिका, वडा नं.७ मा बस्ने गुरू शरण महतोको छोरा जितेन्द्रकुमार कुशवाहा विरूद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, धनुषासमेत वंशजको नागरिकता रगतको नाता (Jus Sanguinis) बाट पाउने नागरिकता हो । वंशजको नागरिकता व्यक्तिको नैसर्गिक अधिकार हो । विवाह वा सन्तान जन्मेको आधारमा व्यक्तिको वंशजको नागरिकतामा असर पर्न सक्दैन । निजले आफ्नो नागरिकता नलिएमा वा परित्याग गरेको अवस्थामा बाहेक वंशजको नेपाली नागरिक नै रहने । केवल प्रमाण पत्र पछि लिएको भन्ने विषयले वंशजको आधारमा पाउने नागरिकताको पहिचानलाई असर पार्दछ भन्न नमिल्ने । आमा वंशजको नागरिक भई नेपाली नागरिकतालाई योग्य भएको तर नागरिकता प्रमाण पत्रसम्म पछि लिएको आधारमा मात्र निजको नागरिकतालाई अन्यथा भन्न नसकिने । संविधानबमोजिम वंशजको आधारमा नागरिकता प्राप्त गर्न योग्य व्यक्ति नेपालको वंशजको नागरिक ठहर्ने । (प्रकरण नं. १५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री रक्षाराम चमार विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी. अवलम्बित नजिर : ने.का.प. २०५८ अङ्क ११ नि.नं. ७०४४ ने.का.प. २०६५ अङ्क १२ नि.नं. ८०३५ ने.का.प. २०७४ अङ्क ५ नि.नं. ९८१८ ने.का.प. २०७७ नि.नं. १०४५८ ने.का.प. २०७७ अङ्क ९ नि.नं. १०५७३ सम्बद्ध कानून : नेपालको संविधान नेपाल नागरिकता ऐन, २०६३ नेपाल नागरिकता (दोस्रो संशोधन) नियमावली,२०७८ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ आदेश न्या. सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम यसै अदालतको असाधारण अधिकारक्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ: तथ्यखण्ड म निवेदकको मिति २०५५।०२।१३ गते जिल्ला धनुषा, ढल्केवर गाउँ विकास समिति वडा नं. २ हाल परिवर्तित जिल्ला धनुषा, मिथिला नगरपालिका वडा नं.७ मा जन्म भएको हो । मेरो आमा दिपो देवी महत्तोले जिल्ला प्रशासन कार्यालय, धनुषाबाट मिति २०६३।१०।१७ मा ना.प्र.नं. १७३०९६/१६२५, वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ भने बुबा गुरू शरण महतोले मिति २०६३।१०।०४ मा ना.प्र.नं. १७३०९६/१९९, जन्मको आधारमा नागरिकता प्राप्त गर्नुभएको छ । म निवेदकको आमा र बाबु दुवै नेपाली नागरिक भए पनि मिथिला नगरपालिका वडा नं. ७ को वडा अध्यक्षले सिफारिस नगरेको तथा जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यालय प्रमुखलाई मेरो नागरिकता बनाइदिनु भनेर भन्दा कार्यालय प्रमुखले पनि जन्म आधारको नागरिकतासम्बन्धी अहिले कानून बनेको छैन । अहिले बनाउन मिल्दैन यसमा अहिले रोक लगाएको छ भन्दै कानूनी अड्चन देखाई नागरिकता बनाउन इन्कार गर्दै आएको हुँदा मैले उच्च अदालत जनकपुरमा रि.नं. ०७५-WO-०२६० दायर गरेकोमा उच्च अदालत जनकपुरले मिति २०७६।०३।१७ गते निवेदकको तर्फबाट नागरिकताका लागि आवेदन परेका अवस्थामा कानूनबमोजिम प्रक्रिया पूरा गरी नागरिकता दिनू भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी भएको हुँदा उक्त परमादेशको आदेशसहित पटकपटक नागरिकता बनाउनको निमित्त धाएँ तर नागरिकता बनेन