निर्णय नं. ४२६० - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२६० - बन्दीप्रत्यक्षीकरण भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४८/०२/२६ २७९० निर्णय नं. ४२६० ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला २०४८ सालको रिट नम्बर १४४१ आदेश भएको मिति: २०४८।२।२६।१ मा निवेदक : सदरखोर शाखा डिल्लीबजारमा थुनामा रहेको विमलकुमार नेपालको हकमा शंकरलाल चित्रकार विरुद्ध विपक्ष : श्री ५ को सरकार, अर्थ मन्त्रालय राजश्व अनुसन्धान महाशाखासमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १९(३) बमोजिम ३ महीना थुनामा राखी सकेपछि विशेष प्रहरी अधिकृतले पुनः धरौटी माग गर्दा दिन नसकेको आधारमा थुनामा राख्न पाउँछ भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. (साविक पेज नं. ७१) आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदकलाई विपक्षी राजश्व अनुसन्धान महाशाखाका प्रमुख विपक्षी विशेष प्रहरी अधिकृत बोधनाथ अधिकारीज्यूले पठाएको भनी २ जना प्रहरी बिना कसूर २०४७।११।१ मा मैले काम गरिरहेको कार्यालय नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाटै बोलाई लगी कुनै पुर्जी बिना नै २०४७।११।१० गते सम्म बेरीतसंग थुनामा राखियो । उक्त थुनामा राख्दा मलाई रोनाष्टको नाममा आएको सुनको बारेमा तलाई थाहा हुनुपर्छ भनी बारम्बार अनेकौं पिडा दिइयो । त्यस विषयमा कुनै कुरा थाहा छैन भनी अनुरोध गर्दा पनि मलाई थुनाबाट छाडिएन । २०४७।११।१० मा मलाई वागमती विशेष अदालतमा लगी भ्रष्टाचार सम्बन्धी मुद्दामा अनुसन्धान गर्न भनी ३० दिने म्याद थप गरी मलाई थुनुवा पुर्जी दिई विपक्षी सदर खोर शाखा डिल्लीबजारमा थुनामा राखियो मलाई एक एक महीनाको गरी ३ पटकसम्म गरी ३ महीनाको म्याद थप गरी मलाई थुनुवा पुर्जी दिई विपक्षी सदरखोर शाखा डिल्लीबजारमा थुनामा राखियो मलाई एक एक महीनाको गरी ३ पटक सम्म गरी ३ महीनाको म्याद थामेको पनि ०४८।२।९ मा पूरा भइसक्यो, अदालतमा मुद्दा चलाइएको छैन । हाल २०४८।२।९ को मिति हाली २०४८।२।१० का दिन विपक्षी अर्थ मन्त्रालय राजश्व अनुसन्धान महाशाखाबाट विपक्षी विशेष प्रहरी अधिकृत बोधनाथ अधिकारीले सहि गरी रोनाष्टको नाममा अनियमित तरीकाले ल्याएको मिति २०४७।६।२८ को कन्साइनमेन्टमा त्रि.वि.वि. भन्सारले फेला पारेको सुन सम्बन्धी समेत अनुसन्धान कारवाहीको सिलसिलामा मिति २०४८।२।९ का दिन तपाइसंग रु. २,२८,४७,५००।– पछि ठहरे बमोजिम हुने गरी धरौटी माग गर्दा दिन नसक्ने व्यहोराको बयान गर्नु भएकोले तपाईलाई भ्र.नि. (संशोधन सहित) ऐन, २०१७ को दफा १९ को उपदफा (२) बमोजिम थुनामा राख्ने निर्णय भएकोले अ.बं. १२१ नं. बमोजिम (ख) श्रेणीको सिधा खान पाउने गरी थुनामा राखी यो पुर्जी दिइएको छ भनी मलाई थुनुवा पुर्जी दिई गैरकानुनी थुनामा रहेको छु । ३. भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १९ को उपदफा (३) ले गिरफ्तार गरिएको व्यक्तिलाई प्रचलित प्रहरी सम्बन्धी कानुनले दिएको अधिकार भन्दा बढी समयसम्म हिरासतमा राख्न परे विशेष प्रहरी अधिकृतले यो ऐन अन्तर्गत तोकिएको वा गठित अदालतको न्यायाधीशको अनुमति लिई थप ३ महीनासम्म राख्न सक्ने व्यवस्था गरेको छ । त्यो भन्दा बढी कुनै हालतमा पनि थुनामा