निर्णय नं. ११०४४ - उपयुक्त आदेश जारी गरिपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०४४ - उपयुक्त आदेश जारी गरिपाऊँ भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७९/०४/१६ ११७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति: २०७९।४।१६ ०६९-RB-००५० मुद्दाः उपयुक्त आदेश जारी गरिपाऊँ । पुनरावेदक / वादी: का.जि.का.म.न.पा. वडा नं. १३ ताहचल स्थित नेपाल रिक्रिएसन सेन्टर प्रा. लि.को तर्फबाट अख्तियार प्राप्त ऐ. कम्पनीका सेयरधनी रिचर्ड डोयल टटल विरूद्ध प्रत्यर्थी / प्रतिवादी: का.जि.का.म.न.पा. वडा नं. १३ ताहचल स्थित सोल्टी होटल लि. करार निष्क्रिय वा समाप्त वा रद्द भइसकेको अवस्थामा करार ऐन, २०५६ को दफा ८७ बमोजिम प्रदान गरिने उपचारको कुनै सान्दर्भिकता नरहने । (प्रकरण नं. ७) पुनरावेदक / वादीका तर्फबाट: विद्वान् अधिवक्तात्रय श्री विष्णुप्रसाद न्यौपाने, श्री नारायण नेपाल र श्री राजकुमार थापा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, श्री तुलसी भट्ट, श्री कोमल प्रकाश घिमिरे, श्री सूर्यप्रसाद कोइराला र विद्वान् अधिवक्ता श्री समिर शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : करार ऐन, २०५६ पर्यटन ऐन, २०३५ सुरू तहमा फैसला गर्ने: मा. न्या. श्री भरतप्रसाद अधिकारी मा. न्या. श्री सुष्मालता माथेमा पुनरावेदन अदालत पाटन फैसला न्या. ईश्वरप्रसाद खतिवडा: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः तथ्यगत बेहोरा निवेदक कम्पनीले आफ्नो व्यवसाय प्रवर्द्धनको सिलसिलामा प्रत्यर्थी सोल्टी होटलको परिसरभित्र क्यासिनो सञ्चालन गर्नको लागि ९ डिसेम्बर १९९३ मा पहिलो र त्यसपछि उक्त सम्झौताको प्रतिस्थापना गरी २६ मे १९९८ मा अर्को सम्झौता गरी १ मे १९९३ देखि लागु हुने गरी ३० वर्षको सम्झौताको अवधि कायम हुने गरी सम्झौता गरेको थियो । उक्त सम्झौताको सर्त नं. १(a) तथा सर्त नं. २ बमोजिम सम्झौताको अवधि २०२३ अप्रिल ३० सम्म रहेकोमा उक्त सम्झौताको सर्त नं. ७.३ मा निवेदकको लिखित अनुमतिले बाहेक अन्यलाई दिन नपाउने, सम्झौताको सर्त नं. ८.४ मा कुनै पनि पक्षले क्यासिनो सञ्चालन भएको स्थान र होटलको परिसरमा एकअर्कालाई असर पर्ने कार्य नगर्ने भन्ने व्यवस्थाको विपरीत विपक्षीले मिति २०६९ कात्तिक २७ को कान्तिपुर राष्ट्रिय दैनिकमा सोल्टी होटलको क्यासिनो नेपाल निवेदकदेखि बाहेक अन्य व्यक्तिलाई सञ्चालन गर्न सम्झौता गरेको भन्ने बुझिन आयो । अन्य व्यक्तिसँग सम्झौता गरी निवेदक कम्पनीको ठुलो धनराशी खर्च गरी सञ्चालन गरी आएको क्यासिनो व्यवसाय बन्द गराउने र निरन्तर र शान्तिपूर्ण वातावरणमा व्यवसाय सञ्चालनमा बाधा व्यवधान उत्पन्न गराउन सक्ने अवस्था भएकोले सम्झौताको अवधिसम्म व्यवसाय निर्वाध रूपमा सञ्चालन गर्न दिनु दिलाउनु, सञ्चालन गर्न अवरोध हुने कुनै पनि कार्य नगर्नु नगराउनु, निवेदकले निर्माण गरेको भवन, भवनमा भएका निवेदकको यन्त्र उपकरण, मेसिनरी सामानहरू, फर्निचर सरसजावटहरूसमेत निवेदकलाई प्रयोग गर्नबाट वञ्चित नगर्नु भन्नेसमेत बेहोराको करार ऐन, २०५६ को दफा ८७ को उपदफा (२) बमोजिमको उपयुक्त आदेश जारी गरिपाउँ भन्नेसमेत बेहोराको निवेदन । निवेदक नेपाल रिक्रिएसन सेन्टर र होटल सोल्टीबिच २६ मे १९९८ मा भएको करारको अवधि कायमै रहेको र करारको दफा ९ बमोजिम करार Termination को प्रक्रियासमेत सुरू भएको नदेखिँदा उपर्युक्तबमोजिम उपय