निर्णय नं. ११०४५ - निषेधाज्ञायुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०४५ - निषेधाज्ञायुक्त परमादेश भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७९/०५/१७ १४९६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति: २०७९।५।१७ ०७४-CI-०५२० मुद्दाः- निषेधाज्ञायुक्त परमादेश पुनरावेदक / प्रत्यर्थी: काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ तिलगंगा स्थित यति एयरलाइन्स प्रा.लि.को अख्तियारप्राप्त भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं. ४ बस्ने शिरिषकुमार अमात्य विरूद्ध प्रत्यर्थी / निवेदक: काठमाडौं जिल्ला, काठमाडौं म.न.पा. वडा नं.३ बस्ने निवासविक्रम राणा करारीय दायित्वसम्बन्धी विषय हो भन्ने मानेर कानूनी उपचारको मार्गसमेत अपनाएको अवस्थामा सोही विषयलाई लिएर रिट क्षेत्राधिकारबाट पनि समानान्तर रूपमा उपचार खोज्नु मनासिब नदेखिने । रिट क्षेत्रको प्रयोग जुनसुकै विषयमा गर्न सकिने नभई वैकल्पिक उपचार वा प्रभावकारी उपचारको व्यवस्था नभएको अवस्थामा संवैधानिक वा कानूनी हकको प्रचलनका लागि मात्र प्रयोग गर्न सकिने । करारीय सम्बन्धको विषयलाई लिएर रिट आदेश जारी गर्नु मनासिब नहुने । सामान्य कानूनको प्रयोग गरी नियमित न्यायिक प्रक्रियाबाट न्यायिक उपचार प्राप्त गर्न सकिने यस प्रकारको विषयमा रिट क्षेत्राधिकारबाट सुनुवाइ गरिनु मनासिब र रिटसम्बन्धी अवधारणाको समेत अनुकूल नहुने । (प्रकरण नं. ३) पुनरावेदक / प्रत्यर्थीका तर्फबाट: प्रत्यर्थी / निवेदकका तर्फबाट: विद्वान् अधिवक्ता श्री दिनेशकुमार रोका अवलम्बित नजिर : सम्बद्ध कानून : करार ऐन, २०५६ सुरू तहमा फैसला गर्ने : मा. न्या. श्री प्रेमराज कार्की मा. न्या. श्री श्रीकान्त पौडेल उच्च अदालत पाटन फैसला न्या. ईश्वरप्रसाद खतिवडा: न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम यस अदालतमा पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्यगत बेहोरा म निवेदकले फिलिपिन्सको एभिया टुर फ्लाइटबाट हवाई उडान चालकको तालिम पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लिइएको सैद्धान्तिक र प्रयोगात्मक जाँच उत्तीर्ण गरी वायुयान चालकको इजाजतपत्र (प्रमाणपत्र नं. ३४९) प्राप्त गरी वायुसेवा प्रदायक संस्थामार्फत वायुयान चालकको सेवा उपलब्ध गराउँदै आएको छु । विपक्षी यति एयरलाइन्स डोमेष्टिक प्रा.लि.ले कनिष्ट प्रथम अधिकृत (Junior First Officer) पदमा सेवा गर्न राख्नु भएको प्रस्तावमा सहमति भई सन् २०१४ Sept.१ (मिति २०७१।५।१६) देखि सेवा गर्न सुरू गरेको थिएँ । विपक्षी कम्पनी र निवेदकबिच सेवासम्बन्धी सर्तहरू निश्चय गरी मिति २०१४ Sept. ८ (२०७१।५।२३) मा ५ वर्षको सेवा अवधि निश्चित गरी रोजगारीसम्बन्धी करार भएको प्रमाण संलग्न कागजातले प्रस्ट गर्दछ । निवेदक र विपक्षी कम्पनीबिचको सम्बन्ध करारीय प्रकृतिको भएको र हामीबिचको सम्बन्धलाई नियमित गर्ने करारनामामा रोजगार गर्ने व्यक्तिले ३ महिनाको पूर्वसूचना दिई सेवाबाट बहिर्गमन हुन (अवकाश लिन) सक्ने प्रावधान छ । निवेदकले सन् २०१६ Oct. १४ (मिति २०७३।६।१६) मा सन् २०१७ Jan. १४ (२०७३।१०।१) देखि लागु हुने गरी ३ महिनाको अग्रिम सूचना दिई राजीनामा पेस गरेको थिएँ । मेरो उक्त पूर्वसूचनासहितको राजीनामा सम्बन्धमा विपक्षीहरूबाट सन् २०१६ Dec. ४ (२०७३।८।१९) मा निवेदकको दक्षता र सक्षमताको स्तरको आधारमा राजीनामा स्वीकृत गर्न नसकेको जानकारी दिएको छ । राजीनामा अस्वीकृत गर्ने सम्बन्धमा विपक