निर्णय नं. ११०५५ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०५५ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७८/०५/०९ १५८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा. श्री कुमार चुडाल आदेश मिति : २०७८।५।९ ०६६-WO-०१७४ मुद्दा : उत्प्रेषणसमेत निवेदक : चितवन जिल्ला, जुटपानी गाउँ विकास समिति वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ बस्ने हरिचन्द्र लामिछानेसमेत विरूद्ध विपक्षी : पुनरावेदन अदालत पाटन, हरिहरभवन ललितपुरसमेत एउटा प्रयोजनका लागि रोक्का राखिएको सम्पत्ति सो प्रयोजनको समाप्त नभई अर्को प्रयोजनका लागि पुन: रोक्का राख्दा पहिले रोक्का राखिएको प्रयोजन नै निरर्थक वा प्रयोजनहीन हुने गरी दोहोरो रोक्का राख्न हुँदैन । प्रचलित कानूनले दोहोरो रोक्का राख्ने अधिकार मालपोत कार्यालयलाई दिएको नहुँदा नेपाल बैंक लिमिटेडबाट धितोबन्धक रोक्का रहेको सुरक्षण सम्पत्ति नै पुन: दोहोरो रोक्का राखिएको कार्य मालपोत ऐन, २०३४, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ तथा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल देखिने । (प्रकरण नं. ६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा, श्री महादेव यादव र विद्वान् अधिवक्ता श्री कृष्ण थापा विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ अवलम्बित नजिर : ने.का.प. २०७१ अङ्क ७, नि. नं. ९२०० ने.का.प. २०७४ अङ्क ४, नि. नं. ९७९५ ने.का.प. २०७५ अङ्क ९ नि. नं. १०१०६ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ आयकर ऐन, २०५८ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ मालपोत ऐन, २०३४ आदेश न्या. सपना प्रधान मल्ल : नेपालको तत्कालीन अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ । तथ्य खण्ड कि.नं. १०२० को घरजग्गा दर्तावाला विजयप्रसाद लोहनीले नेपाल बैंक लिमिटेडलाई २०५२।०१।११ मा मालपोत कार्यालय काठमाडौंमार्फत पारित लिखतबाट धितो सुरक्षणको लिखत गरिदिनुभएको छ । पारित लिखतबमोजिम सोही मितिदेखि नेपाल बैंक लिमिटेडको हक सृष्टि भई घरजग्गा निरन्तररूपबाट बैंकको नाममा रोक्का रहेको छ । मिति २०५२।०१।११ देखि हालसम्म घरजग्गा कहिल्यै फुकुवा भएको छैन । एकपटक कानूनबमोजिम रोक्का रहेको घरजग्गा फुकुवा नभएसम्म दोहोरो रोक्का राख्न मिल्ने व्यवस्था कुनै प्रचलित नेपाल कानूनमा रहेको छैन । मिति २०५२।०१।११ मा नै धितो सुरक्षणको लिखत पारित भई बैंकको नाममा रोक्का रहिरहेको घरजग्गा रोक्का राख्ने गरी प्रत्यर्थी आन्तरिक राजस्व कार्यालयले लेखेको पत्र तथा उक्त पत्रबमोजिम राखिएको रोक्का मुलुकी ऐन, जग्गा मिच्नेको महलको ९ नं. समेतको प्रत्यक्षतः विपरीत छ । मिति २०५२।०१।११ को लिखत तथा लिखतको आधारमा नेपाल बैंक लिमिटेडको नाममा रोक्का रही उक्त बैंकको हक स्थापित भएको घरजग्गा प्रत्यर्थी आन्तरिक राजस्व कार्यालयको पत्रबाट दोहोरो तथा तेहरो हुने गरी रोक्का राख्दा घरजग्गामा हक सृष्टि भएको बैंकलाई बुझिएको, बैंकको स्वीकृति सहमति लिइएको तथा बैंकलाई थाहा जानकारी गराइएको छैन । कानूनबमोजिम पारित धितो सुरक्षणको लिखत र लिखतको आधारमा रहेको रोक्काबाट बैंकको हक सृष्टि भएको घरजग्गा बैंकको सहमति स्वीकृति नलिई, बैंकलाई थाहा जानकारी नदिई बैंकको हकमा प्रतिकूल असर पर्ने गरी रोक्का राख्न मिल्दैन । घरजग्गामा हक सृष्टि भ