निर्णय नं. ११०५६ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०५६ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७९/०४/१६ १११५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७९।४।१६ ०७४-WO-०८५८ विषय: उत्प्रेषणयुक्त परमादेशसमेत निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खु चोक बस्ने नरबहादुर थापाको नाति, गणेशबहादुर पुलामी थापा मगरको छोरा लक्ष्मण भन्ने बखतबहादुर पुलामी थापा मगरको मृत्यु भई मु.स. गर्ने ऐ.को छोरा माधव थापा विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार सार्वजनिक हितको निमित्त राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्नसक्ने र सडक सीमा तोकिएकोमा सडक सीमा र सडक सीमा नतोकिएको सार्वजनिक सडकमा सो सडकको किनाराबाट ६/६ मिटरसम्म पर्खालबाहेक अन्य कुनै किसिमको स्थायी बनोट (स्ट्रक्चर) वा भवन कसैले निर्माण गर्न नपाउने गरी निषेध गरेको देखिए तापनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्दा जसको सम्पत्ति अधिग्रहण गरिएको हो, त्यस्तो सम्पत्तिको हकवाला व्यक्तिलाई कानूनबमोजिम उचित क्षतिपूर्ति दिनुपर्ने । क्षतिपूर्ति उपलब्ध नगराई कुनै पनि व्यक्तिको अचल सम्पत्ति अधिग्रहण गर्ने कार्य संविधान एवं कानूनसम्मत नहुने । (प्रकरण नं. ६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री भिमप्रसाद ढकाल, श्री विनोद कार्की, श्री मधु सेन, श्री प्रवल सिन्धु गुप्त र श्री सल्लु तिवारी विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश कोइराला तथा विद्वान् वरिष्ठ अधिवक्ता श्री दामोदर खड्का अवलम्बित नजिर : ने.का.प. २०५८, नि.नं. ७०४० सम्बद्ध कानून : नेपालको संविधान जग्गा प्राप्ति ऐन, २०३४ सार्वजनिक सडक ऐन, २०३१ आदेश न्या. सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ : तथ्य खण्ड संविधानविपरीतको पछिल्लो राजपत्रको सूचना र त्यसलाई आधार मानी विपक्षी सडक विभागले निकालेको मिति सन् २०११ सेप्टेम्बर १२ को सूचना परिपत्रबमोजिम यही मिति २०७५ साल वैशाख १० गते मेरो काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ सिट नं. ०२-११८३-०३ कि.नं. १३२ तथा साबिक कित्ता १२७ को हाल कि.नं. ३५७ समेतको घरबासमा जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ र नेपालको संविधानको धारा २५ को उपधारा (१) तथा (३) को मौलिक हकविपरीत विपक्षीहरूले सामानसमेत झिक्न नदिई जबरजस्ती डोजर लगाई मेरो घरबास भत्काई गैरकानूनी रूपमा २५ मिटर सडक सीमाबाट थप ६ मिटर सडक विस्तार गरी मेरो अचल सम्पत्ति घरजग्गा जबरजस्ती मिची कब्जा गरी मेरो सम्पत्तिको हक हनन हुन पुगेकोले अन्य प्रभावकारी उपचारको अभावमा बाध्य भई यो रिट निवेदन गरेको छु । नेपालको संविधानको धारा २५ को उपधारा (१) तथा (३) बमोजिमको पर्याप्त क्षतिपूर्ति दिनुपर्ने मौलिक हक र जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ समेतको कानूनी व्यवस्थाविपरीत विपक्षीहरूले चक्रपथमा साबिकको सडक सिमा सेन्टर बाटो दायाँ बायाँ २५/२५ मिटरलाई बढाई थप ६/६ मिटर थपी ३१ मिटर पुर्याई थप ६ मिटरको कुनै क्षतिपूर्ति मुअब्जा नदिई जबरजस्ती कब्जा गरेकोले उल्लिखित थप ६ मिटरभित्र परेको घरजग्गाको पनि कानूनबमोजिम क्षतिपूर्ति मुआब्जा दिनु र थप ६ म