निर्णय नं. ११०६१ - जबरजस्ती करणी / हाडनाता करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०६१ - जबरजस्ती करणी / हाडनाता करणी भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७९/११/०८ २४३६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।११।८ ०७४-CR-०३५१ मुद्दा: जबरजस्ती करणी / हाडनाता करणी पुनरावेदक/वादी : तारा धामीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला दैलेख लाकुरी गाविस वडा नं. ७ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने छविलाल वि.क. जबरजस्ती करणी जस्तो अपराधमा पीडितको भनाइलाई महत्त्वपूर्ण प्रमाण मानिए पनि निजको स्वास्थ्य परीक्षण प्रतिवेदन जस्तो भौतिक प्रमाणको ठुलो महत्त्व रहने । पीडितको मौकामा भएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा जबरजस्ती करणी पुष्टि हुने लक्षण नदेखिएको रायको विपरीत ८।९ दिनपछि भएको अर्को स्वास्थ्य परीक्षणमा पीडितको कन्याजाली च्यातिएको बेहोरा उल्लेख भएको राय शङ्कास्पद देखिएबाट त्यस्तो प्रतिवेदनलाई स्वतन्त्र प्रमाण मानी ग्रहण गर्न नमिल्ने । प्रतिवादी मौकामा पक्राउ परेको र निजको स्वास्थ्य परीक्षण भएकोमा निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट जबरजस्ती करणी गरेको पुष्टि हुने लक्षणहरू केही नदेखिँदा केवल प्रतिवादीको मौकाको साबिती बयानका आधारमा प्रतिवादीलाई जबरजस्ती करणीको कसुरदार ठहर्याउन नमिल्ने । (प्रकरण नं. ६) पुनरावेदन वादीका तर्फबाट : विद्वान् उपन्यायधिवक्ता श्री सुवर्णमान बनेपाली प्रत्यर्थी प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. न्या. श्री कृष्णजंग शाह सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री यज्ञराज भट्ट मा. न्या. श्री कृष्णबहादुर थापा उच्च अदालत सुर्खेत फैसला न्या. सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड अन्यायी म जाहेरवालाको सहोदर कान्छो भाइ हुन् । मिति २०७२।१२।३० गतेको दिन म कामको लागि सुर्खेतको विद्यापुर गएको र मेरो श्रीमती गाडीवालको गाडीको सिटका कपडा धुनको लागि कुइनेपानी जङ्गलमा रहेको कुवामा गएको अवस्थामा दिनको अ.१२.०० बजेको समयमा अन्यायी भाइ छविलाल कामीले मेरो नाबालिका छोरी वर्ष ८ की पीडित परिवर्तित नामथर ६४ वीरेन्द्रनगर ण लाई भाँडा माझिरहेको अवस्थामा हातमा बाला र खुट्टामा पायल बनाइदिने प्रलोभन देखाई ललाई फकाई गरी सार्वजनिक शौचालयमा लगी रूँदा कराउँदा हातले मुख थुनी कपडा खोली मेरो नाबालिका छोरीको योनिमा आफ्नो उत्तेजित लिङ्ग प्रवेश गराई जबरजस्ती करणी गरिरहेको अवस्थामा पीडित छोरी भित्रबाट चिच्चाएपछि मेरो नाबालिका छोरी परिवर्तित नामथर नम्रता धामी र निजसँग खेल्दै गरेकी संगिता शाहीले आवाज सुनी बन्द रहेको शौचालयको ढोका खोल्नभन्दा अन्यायीले ढोका नखोली छोरीलाई करणी गरेपश्चात् ढोका खोली भागी गएकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम थर तारा धामीको जाहेरी दरखास्त । पीडित परिवर्तित नाम थर ६४ वीरेन्द्रनगर (ण) को करणी भए नभएको, कन्याजाली च्यातिएको छ वा छैन यकिन साथ भन्न नसकिने, पीडितको दायाँ ओठ माथि हल्का कोतरिएको, बायाँ घुँडामा घाउ रहेको, भेजनल स्वाव र वारदातका बखत लगाएको लुगा कपडा परीक्षणको लागि पठाइएको भन्ने बेहोराको मध्य पश्चिम क्षेत्रीय अस्पताल सुर्खेतबाट प्राप्त पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन