निर्णय नं. ११०६२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०६२ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७९/०७/१६ २१७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।७।१६ ०७४-CR-०५८४ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक/वादी : राम नरेशकुमार यादवको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला बारा गा.वि.स. अमरपट्टि वडा नं. ४ बाजोपट्टि बस्ने कृपा राउत अहिर (यादव) को छोरा मदनप्रसाद यादवसमेत जाहेरी दरखास्तमा उल्लिखित विवरण प्रतिकूल हुने गरी जाहेरवालाले बयान गरेको अवस्थामा किटानी जाहेरीको आधारमा प्रतिवादीहरूले कुटपिट गरेको कारण मृतकको मृत्यु भएको भनी यकिन गर्न नसक्ने । केबल किटानी जाहेरी र शव परीक्षण प्रतिवदेनमा मृतकको मृत्यु टाउकोमा लागेको गम्भीर चोटका कारण भएको भनी उल्लेख भएको भन्ने आधारमा मात्र कोही व्यक्तिलाई दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २) कुनै वारदातमा एक जनाभन्दा बढी सामूहिक रूपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको कसुरजन्य कार्य हेरिनुपर्दछ । घटनास्थलमा उपस्थित हुनु र घटनामा संलग्न हुनु फरक कुराहरू हुन् । घटना घटेको समयमा वारदातस्थलमा उपस्थित हुँदैमा ती व्यक्तिहरू नै वारदात घटाउन संलग्न रहेका हुन् भन्न नमिल्ने । (प्रकरण नं. ४) पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री रेशम अचार्य प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री आशिष अधिकारी तथा श्री निरञ्जनकुमार खड्का अवलम्बित नजिर: ने.का.प. २०६९, अङ्क २, नि.नं. ८७६४ ने.का.प २०६६, अङ्क ३, नि.नं. ८०९३ ने.का.प २०६९, अङ्क १, नि.नं. ८७५८ सम्बद्ध कानून: प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने :- मा. जि. न्या. श्री माधवप्रसाद अधिकारी बारा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- मा. न्या. श्री मोहन बहादुर कार्की मा. न्या. श्री दिनेशप्रसाद यादव उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज फैसला न्या. कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । तथ्य खण्ड मिति २०७१।०९।३० गते बिहान अं.११:०० बजेको समयमा जिल्ला बारा गा.वि.स. अमरपट्टी वडा नं. ८ स्थित सार्वजनिक स्थलमा झै-झगडा हुँदा ऐ.ऐ. वडा नं. ७ बस्ने रामऔतार राउत अहिरलाई कुटपिट गरी सख्त घाइते बनाएको भन्‍ने बेहोराको घटना स्थल मुचुल्का । मिति २०७१।०९।३० गते मेरो काका वर्ष ७५ को जयनारायण राय यादव कालगतिले परलोक भएपछि निज काकालाई गाउँलेहरूसमेत भई दाहसंस्कार गर्न गएकोमा मेरो बुबा वर्ष ६० को रामऔतार राय यादव पनि निज काकाको दाहसंस्कार गर्ने ठाउँतर्फ गइरहेको अवस्थामा उक्त दिनको अं.१२:०० बजेको समयमा जिल्ला बारा गा.वि.स. अमरपट्टी वडा नं. ४ स्थित सडकमा पुग्दा मेरो गाउँको रविन्द्र यादव, मदन यादव र रामनारायण यादवसमेतका व्यक्तिहरूले पूर्वरिसइवीको कारण कुटपिट गरी सख्त घाइते बनाई सडकमा छाडी निज व्यक्तिहरू भागी गएको कुरा थाहा पाई तत्कालै उपचारको लागि कलैया अस्पताल लगी उपचार हुन नसकी थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगन्जमा लगी उपचारकै क्रममा सोही चोटको कारण मृत्यु भएकोले उक्त लासलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जको शवगृहमा राखिएको हुँदा मेरो बुबाको मृतक लास सदगतको लागि मेरो जिम्मा बुझिपाउँ भन्‍ने बेहोराको रामनरेश कुमार यादवको निवेदन । मि