निर्णय नं. ११०६८ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०६८ - उत्प्रेषणयुक्त परमादेश भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०१/१६ १०५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७९।१।१६ ०७५-WO-१४०५ मुद्दा :- उत्प्रेषणयुक्त परमादेश निवेदक : विश्वनाथको नाति, राम भक्त त्वाँजुको छोरा, भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.११ हाल परिवर्तित वडा नं.५ क्वाछें बस्ने कृष्णप्रसाद त्वाँजु विरूद्ध विपक्षी : भक्तपुर जिल्ला अदालत, भक्तपुरसमेत कुनै अदालत, निकाय वा अधिकारीले एकपटक निर्णय गरेपछि सोही तहबाट सो निर्णयमा फरक पर्ने गरी कुनै संशोधन गर्न नमिल्ने । तर सो फैसला वा आदेशमा लेखाइ वा छपाइमा हुन गएको सामान्य त्रुटि रहेछ र त्यसले फैसलामा तात्विक असर नपर्ने अवस्था रहेछ भने कारण खुलाएर छुट्टै पर्चा खडा गरी सच्याउन सकिने । (प्रकरण नं. १०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री राजकुमार सुवाल विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री ऋषिकान्त घिमिरे र श्री विष्णुप्रसाद रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०७३ जिल्ला अदालत नियमावली, २०७५ आदेश न्या. विश्‍वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधान, २०७२ को धारा ४६ तथा १३३ (२) र (३) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- तथ्य खण्ड रिट निवेदनपत्र म निवेदक कृष्णप्रसाद त्वाँजु वादी र विपक्षी रामप्रसाद त्वाँजु प्रतिवादी भएको ०७३-CP-०६१४ को प्रस्तुत अंश चलन मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७५।०३।२८ मा वादी दाबी पुग्ने गरी ठहर फैसला भएको र फैसलाबमोजिम प्रस्तुत मुद्दा र लगाउको ०७३-CP-११०० मुद्दामा चलन चलाइपाउन निवेदन गरेकोमा भक्तपुर जिल्ला अदालतमा ०७३-CP-११०० को हकमा निवेदन दर्ता भएको र प्रस्तुत मुद्दामा भने प्रतिवादीको पुनरावेदन म्याद बाँकी रहेको भनी दर्ता कारबाही नगरी बसेको अवस्था छ । विपक्षी प्रतिवादी रामप्रसाद त्वाँजुले प्रस्तुत ०७३-WO-०६१४ मुद्दामा उच्च अदालत पाटनमा मिति २०७५।१०।१८ मा दर्ता गरेको पुनरावेदनपत्र मिति २०७५।११।२२ मा फिर्ता लिई सुरू फैसलालाई स्वीकार गरी बसेको अवस्था छ । विपक्षी रामप्रसाद त्वाँजुले उच्च अदालत पाटनमा पुनरावेदन गर्दा “हामी वादी प्रतिवादीबिचमा दे.मि.नं. ४१-०६५-८०५/१२१५ को कित्ताकाट मुद्दामा फैसला भएको मिति २०६६।७।९ लाई मानो छुट्टिएको मिति कायम गरिसकेपछि सो मितिभन्दा पछाडि मैले मिति २०७२।१२।३० मा र.नं. १५६२ग बाट दाता जनार्दनप्रसाद मल्लसँग राजीनामा पास गरी कि.नं. २२८८ क्षे.फ. ०-४-०-० जग्गा लिएको छु । साथै कित्ताकाट मुद्दाको फैसलाबाट कि.नं. ८० कित्ताकाट भई कि.नं. १३७ र कि.नं. ४०० कित्ताकाट भई कि.नं. ७३८ को जग्गा मेरो नाउँमा कायम हुन आएको हो । यसरी मानो छुट्टिएको मितिभन्दा पछि मेरो नाममा कायम हुन आएका उक्त कि.नं. २२८८, ७३८ र १३७ का जग्गाहरूबाट समेत अंशबन्डा हुने भनी तपसिल खण्डमा उल्लेख गरिएको सुरू जिल्ला अदालतको मिति २०७५।३।२८ को फैसला स्वयं यसै फैसलाको ठहर खण्ड तथा साबिक मुलुकी ऐन, २०२० को अंशबन्डाको महलको १८ नं. को कानूनी व्यवस्थाको विपरीत भएकोले सो हदसम्म उक्त फैसला बदर उल्टी गरी मेरा नाउँका उल्लिखित जग्गाहरू प्रस्तुत अंश चलन मुद्दामा बन्डा नलाग्ने गराई न्याय इन्साफ दिलाइपाउँ” भनी जिकिर लिएका रहेछन् । यसरी प्रस्तुत ०७३-WO-०६१४ मुद्दामा विपक्षी रामप्रसाद