निर्णय नं. ११०७१ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०७१ - बन्दीप्रत्यक्षीकरण भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०१/११ १२६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।१।११ ०७८-WH-०१०५ मुद्दाः- बन्दीप्रत्यक्षीकरण निवेदक : २० Avenue Every ७५०१३ Paris, France घर भई हाल कारागार कार्यालय, जगन्‍नाथदेवलमा कैदमा रहेको चाल्स शोभराज गुरूमुख विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत स्वविवेकीय अधिकारको प्रयोगमा वस्तुनिष्ठताको मात्रा के कति हुनुपर्छ, अमुक मुद्दामा सो मात्रा पुग्यो वा पुगेन भनी अदालतले हेर्ने, जाँच्ने र आदेश गर्ने कुरा हुँदैन । तर, निर्णयमा वस्तुनिष्ठता हुनुपर्ने । कैद छुट दिन मिल्ने हो वा होइन भन्ने विषयमा सम्बन्धित निकायहरूले उचित निर्णय गर्नुपर्ने । (प्रकरण नं. ७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री सकुन्तला थापा, श्री रामबन्धु शर्मा तथा श्री निहिता विश्वास विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री लोकराज पराजुली अवलम्बित नजिर : ने.का.प. २०७७, अङ्क ५, निर्णय नं. १०५०९ सम्बद्ध कानून : फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन ,२०७४ ज्येष्ठ नागरिक ऐन, २०६३ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ फैसला न्या.डा. आनन्दमोहन भट्टराई : म निवेदक चाल्स शोभराज गुरूमुख भक्तपुर जिल्ला अदालतबाट मिति २०७४।१२।०८ मा जारी भएको कैदपुर्जीको अनुसारमा कैद भुक्तान गरिरहेको छु । मेरो कैद मिति २०८०।०६।०१ मा भुक्तान हुन्छ । मेरो उमेर ७७ वर्ष भयो । कारागार नियमावली, २०२० को नियम २९(२क) अनुसार ६५ वर्ष पूरा भएका कैदीलाई ७५ प्रतिशतसम्म कैद छुट हुन सक्ने व्यवस्था रहेको छ जसको लागि मेरो योग्यता पुगिसकेको छ । यस सम्बन्धमा विपक्षी कारागार कार्यालय, जगन्नाथदेवलले मिति २०७४।०१।२० मा निवेदकलाई कैद छुटको सुविधा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयबाट, काठमाडौंसमक्ष ज्येष्ठ नागरिक कैदीसरह बाँकी कैद मिनाहाका लागि सिफारिस भएको थियो तर सोउपर निर्णय भएन । सुविधा प्राप्त नभएपछि सो निवेदनउपर उच्च अदालतमा दयार गरेको निवेदनमा मिति २०७४।०३।२० मा (मुद्दा नं. ०७४-wo-१००७) मेरो हकमा समेत बिना भेदभाव कैदछुटको सुविधा प्रदान गर्नु भनी आदेश भएको थियो । त्यस्तै यस अदालतबाट पनि मिति २०७५।११।१२ मा निवेदकलाई कैद छुटको सुविधा दिनुपर्ने हो वा होइन भन्‍ने विषयको सम्बन्धमा तथ्ययुक्त र कानूनसङ्गत कारणसहित यो आदेश प्राप्त भएका मितिले ३ (तीन) महिनाभित्र निर्णय गर्नु भनी परमादेश जारी भएको थियो । म मुटुसम्बन्धी रोग (Chronic Heart Disease) ले ग्रस्त भएको र मुटुको दायाँ भल्भ फेर्न शल्यक्रियासमेत गरिसकेको र पुनः अर्को शल्यक्रियासमेत गर्नुपर्ने अवस्था हुन सक्छ । यस्तो गम्भीर र जटिल शारीरिक अवस्था हुँदा पनि मेरो हकमा कैद छुट प्रदान गर्ने सम्बन्धमा केही निर्णय गरिएको छैन र मलाई अझै गोलघरमै राखिएको छ । गंगालाल हृदयरोग अस्पतालले मलाई कुनै पनि किसिमको सम्भावित सङ्क्रमणबाट बच्नुपर्ने सिफारिस गरेकोमा अहिलेको कोभिड १९ को महामारीको कारण मेरो जीवनसमेत जोखिममा रहेको अवस्था छ । मेरो मागदाबी नेपालको संविधानले निर्दिष्ट गरेको सम्मानपूर्वक बाँच्न पाउने हक (धारा १६), समानताको हक (धारा १८) र स्वास्थ्यसम्बन्धी हक (धारा ३५) सँगसमेत प्रत्यक्ष सम्बन्धित छ । अतः मैले कारागार नियमावली, २०२० को नियम २९(२क) अन्तर्गत पा