निर्णय नं. ११०७५ - अंश हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०७५ - अंश हक कायम भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०९/०५ १४९५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।९।५ ०७१-CI-०४२५ मुद्दा:– अंश हक कायम पुनरावेदक प्रतिवादी : जिल्ला सर्लाही, अर्नाहा गा.वि.स., वडा नं.७ बस्ने मगर महतोकी पत्‍नी सरस्वती देवीसमेत विरूद्ध प्रत्यर्थी वादी : जिल्ला सर्लाही, अर्नाहा गा.वि.स., वडा नं.७ बस्ने स्व.रामवृक्ष महतोको छोरा लगन महतो कोइरी न्यायकर्ताले न्याय निरूपण गर्दा अंशियारहरूबिच समानुपातिक ढङ्गले सम्पत्ति नरहेको अवस्था के कुन परिस्थितिले उत्पन्‍न भएको रहेछ भन्‍नेतर्फसमेत मिहिन रूपमा हेर्नुपर्ने । कसैले मेहनत र पौरख गरी सम्पत्ति जोड्ने र कसैले भएको सम्पत्तिसमेत नासी मासी हिँडेको अवस्था भएमा मानो छुट्टिएका अंशियारहरूबिच सम्पत्तिको वितरण समान कायम रहन नसक्ने । मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. को मर्म पनि अंशियारहरूको पौरख र उद्यमशीलतालाई संवर्द्धन गर्नु नै रहेको देखिने । वादीका पिताले आफ्नो भागको पैतृक सम्पत्ति पहिले नै बिक्री वितरण गरिसकेको कारण वादी प्रतिवादीहरूमा पैतृक सम्पत्तिको अनुपात समान नदेखिएको अवस्थालाई अस्वाभाविक र पैतृक सम्पत्तिको असमानुपातिक वितरण भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ६) पुनरावेदक प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ताद्वय श्री सतिशकुमार झा र श्री शैलेन्द्रप्रसाद यादव प्रत्यर्थी वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रसन्‍न कृष्ण दास अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री ॐकार उपाध्याय सर्लाही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री तेजबहादुर के.सी. मा. न्या. श्री विनोद शर्मा पुनरावेदन अदालत जनकपुर फैसला न्या. नहकुल सुवेदी: साबिक न्‍याय प्रशासन ऐन, २०४८ दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता हुन आई न्याय प्रशासन ऐन, २०७३ समेतले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मूल पुरूष स्व.बाजे तपसी महतोको २ छोरामा जेठो मेरो बुबा स्व.रामवृक्ष महतो र कान्छा काका स्व.मगर महतो कोइरी हुनुहुन्थ्यो । निज रामवृक्ष महतोको एक श्रीमती स्व.ठगीदेवी र उहाँहरूको एक छोरा म वादी लगन महतो कोइरी र मगर महतोको एक श्रीमती प्रतिवादी सरस्वतीदेवी र २ छोरामा जेठा प्रतिवादी अवधकिशोर महतो र कान्छा प्रतिवादी छोटेलाल महतो कोइरी हुन् । हामी वादी प्रतिवादी काकी भतिजा तथा दाजुभाइ नाताका हौं । हामी वादी प्रतिवादीहरूबाहेक अन्य अंशियारहरू छैनन् । हामी वादी प्रतिवादीहरू सगोलमा बसी आएकोमा घरायसी काम धन्धाको सिलसिलामा र परिवार संख्या ठुलो भएको कारण झै-झगडा विवाद भएकोमा पञ्‍चायत बसाई रीतपूर्वक अंश छुट्टयाइदिनुहोस् भन्दा प्रतिवादीहरूले अंश दिन इन्कार गरेकाले प्रतिवादीहरूबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको सम्पूर्ण श्री सम्पत्तिको अंशको फाँटवारी लिई मूल दुई अंशियार मात्र रहेकोले २ खण्डको १ खण्ड सम्पत्तिमा मेरो अंश हक कायम गरी छुट्टयाइपाउँ भन्‍नेसमेत बेहोराको फिरादपत्र । मूल पुरूष तपसी महतो ३ दाजु भाइमा तपसीका छोरा स्व.रामवृक्ष र स्व.मगर महतो, माइला भुइँले महतोको छोरा नारायण महतो र कान्छा ज्ञानचन महतोको छो