निर्णय नं. ११०७९ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०७९ - उत्प्रेषणयुक्त परमादेश भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०३/१९ ९४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।३।१९ ०७४-WO-०३६९ विषय:– उत्प्रेषणयुक्त परमादेश निवेदक : जिल्ला बैतडी, सलेना गा.वि.स., वडा नं. ३ हाल जिल्ला बैतडी, मेलौली नगरपालिका, वडा नं. २ बस्ने खड्कबहादुर चन्दको छोरा दिपेन्द्रबहादुर चन्द विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौंसमेत दायित्व र जिम्मेवारी नै फरक रहेका नेपाल सरकारका सङ्गठनमा कायम गरेको पृथक्-पृथक् सेवाका सर्त र सुविधालाई विभेद गरिएको वा सरकारको व्यवहार न्यायोचित नरहेको भनी अर्थ गर्न नमिल्ने । नेपाल प्रहरी सेवा र नेपाल सैनिक सेवामा रहेको पृथक्-पृथक् निवृत्तिभरणको उमेर हद निवेदक र अन्य कसैको चासो र सरोकारभन्दा पनि नेपाल सरकारको नीति र सम्बन्धित सङ्गठनको उद्देश्य र आवश्यक्तामा निर्भर रहने । (प्रकरण नं. ७) संविधान र कानूनविपरीत गरेबाहेक त्यस्ता विशुद्ध कार्यपालिकीय क्षेत्राधिकारभित्र पर्ने विषयमा यो यस्तो नीति अख्तियार गर्नु वा कायम रहेको नीति परिवर्तन गर्नु भनी निर्देशात्मक आदेश जारी गर्नु शक्तिपृथकीकरणको सिद्धान्तको अनुकूल नदेखिने । (प्रकरण नं. ८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता डा. श्री गणेश रेग्मी र विद्वान् अधिवक्ता श्री गणेश दाहालले विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री लोकबहादुर कटुवाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान नेपाल प्रहरी ऐन, २०१२ सैनिक ऐन, २०६३ आदेश न्या. प्रकाशकुमार ढुंगाना : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार रहेको छ:- तथ्य खण्ड म निवेदक मिति २०६३।१२।०१ मा नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्त भई कैलाली, धनगढीमा दरबन्दी रही हाल पनि प्रहरी जवान पदमा कार्यरत प्रहरी कर्मचारी हुँ । म प्रहरी सेवामा भर्ना हुने बेलामा प्रहरी नियमावली, २०४९ बहाल रही सो नियमावलीको नियम १०१ मा १६ वर्ष काम गरेपछि निवृत्तिभरण पाउने व्यवस्था थियो । मैले प्रहरी सेवामा १६ वर्ष काम गर्ने र त्यसपछि अन्य व्यवसाय गर्ने योजना बनाएर जागिरमा ८ वर्ष व्यतीत गरिसकेको अवस्थामा म र म जस्ता हजारौं प्रहरी जवानलाई मर्का पर्ने गरी प्रहरी नियमावली, २०४९ खारेज गरी प्रहरी नियमावली, २०७१ लागु गरियो । प्रहरी नियमावली, २०७१ को नियम १३१ मा मिति २०६०।१२।२६ अगावै नियुक्ति पाएका प्रहरी जवानबाहेक म जस्ता प्रहरी जवानले २० वर्ष सेवा गरेपछि मात्र निवृत्तिभरण पाउने छन् भनी व्यवस्था भएबाट म जस्ता हजारौं प्रहरी जवान पीडित भएका छौं । म प्रहरी जवान पदमा भर्ना हुँदा १६ वर्षमा पेन्सन दिने भनी मोह देखाएको र नियमावलीमा लिखित बाचा गरेको हुनाले म प्रहरी जवान पदमा भर्ना भएको हुँ । १६ वर्षभन्दा बढी अवधि कुर्नु परेको भए म सुरूमै भर्ना हुने थिइनँ । मेरो उमेर ढल्किसकेपछि २० वर्ष काम गरेपछि मात्र पेन्सन दिने भनी विपक्षीहरूले धोका दिने, ठग्ने काम गरेका छन् । विपक्षीहरूको कार्यलाई सम्मानित अदालतले नरोक्ने हो भने विपक्षीहरूले स्वेच्छाचारी ढङ्गले प्रहरी नियमावली संशोधन गरी निवृत्तिभरण हुने उमेर सरकार परिवर्तनसँगै २५ वर्ष वा २८ वर्ष हुने गरी थप बढाइ प्रहरी जवानहरूलाई ध