निर्णय नं. ११०८३ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०८३ - उत्प्रेषण / परमादेश भाग: ६५ साल: २०८० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७८/०५/३१ १०३७ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्र.न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा. माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति: २०७८।५।३१ ०७५-WF-०००४ विषय: उत्प्रेषण / परमादेश निवेदक: ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स वडा नं. २ बस्ने दशवीर भाष्कर (महर्जन) को नाति चन्द्रगोविन्द महर्जनको छोरा श्याम महर्जन विरूद्ध विपक्षी: गुठी संस्थान शाखा कार्यालय, तःबहाल ललितपुरसमेत कुनै खास काम वा परिश्रम गरेबापत पारिश्रमिकको रूपमा केही जग्गा जोती बाली खान दिएको अवस्थामा त्यसरी बाली खाने व्यक्ति वा गुठियार खान्गीदारको हैसियत जोताहा मोहीको नहुने । मोहीको हैसियत प्राप्त गर्न गुठी संस्थानको लिखित मन्जुरीसहित कानूनबमोजिमको अन्य प्रक्रियासमेत पूरा गरेको हुनुपर्ने । (प्रकरण नं. १०) गुठीका नाउँका जग्गाहरू जोतभोग गरेकै आधारमा व्यक्तिको नाममा नामसारी गरिदिँदै जाने हो भने यसले परम्परा, संस्कृति र धर्मको जर्गेना गर्नमा नै व्यवधान उत्पन्न हुनुको साथै गुठीका नामका जग्गाहरू नै लोप भई गुठीको उद्देश्य, मर्म र हितविपरीत भई गुठीको अस्तित्व नै समाप्त हुने । गुठी स्थापनाको उद्देश्यविपरीत गुठीका जग्गाहरू कुनै प्रकारले भोग गरेकै आधारमा मोहियानी स्वत: प्राप्त नहुने हुँदा व्यक्ति विशेषको नाउँमा मोही नामसारी नगरिदिएकै कारण व्यक्तिको सम्पत्तिको अधिकार हनन हुन जाने भन्ने दाबी तर्किक, युक्तिसङ्गत, विवेकपूर्ण र कानूनसम्मत् मान्न नसकिने । (प्रकरण नं. १५) निवेदकका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता डा.श्री चन्द्रकान्त ज्ञवाली, विद्वान् अधिवक्ताहरू श्री विमल ज्ञवाली, श्री लिलाधर उपाध्याय र श्री राजेन्द्र महर्जन विपक्षीका तर्फबाट: विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल अवलम्बित नजिर: सम्बद्ध कानून: गुठी संस्थान ऐन, २०३३ आदेश न्या. सपना प्रधान मल्ल: नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम पेस भएको प्रस्तुत रिट निवेदनमा यस अदालतको संयुक्त इजलासबाट सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२) बमोजिम पूर्ण इजलाससमक्ष पेस भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. ७(ख) कि.नं. ३६ को ५-९-०-० जग्गाको मोही महलमा म निवेदकका बाजे दशवीर भाष्कर भन्ने दशवीर महर्जनको नाम उल्लेख भई २ नं. अनुसूचीमा समेत मोहीमा जनिएको र जग्गाधनी हरिसिद्धि भवानी गुठी कायम भएकोमा बाजेले आफू जीवित रहँदासम्म जोतकमोत गरी भवानी गुठीलाई प्रत्येक वर्षको बाली तिरी आउनुभएको थियो । उल्लिखित जग्गाधनी हरिसिद्धि भवानी भएको र मोही मेरो बाजे दशवीर महर्जन भई बाजे दशवीरले नै उक्त जग्गा जोतकमोत गरी आएकोमा बाजे दशवीर महर्जनको २०३४ साल वैशाखमा तथा बज्यै मानथंकुको मिति २०३० सालमा र म निवेदकका बाबु चन्द्रगोविन्द महर्जनको मिति २०३५/८/१५ मा आ-आफ्नो कालगतिले परलोक भइसकेको र हाल उक्त जग्गा म निवेदकले जोतकमोत गरी आएको हुँदा उक्त जग्गाको मोहियानी हक नामसारी गरिपाउँ भनी मिति २०६५।३।१० मा निवेदन दिएकोमा गुठी संस्थान, शाखा कार्यालय, तःबहाल ललितपुरले मिति २०६५।४।८ मा मोहियानी हक नामसारी गर्न नमिल्ने गुठी संस्थान ऐनको २७(क) आकर्षित हुने भनी निर्णय गरेको रहेछ । सो निर्णयको जानकारी मलाई मिति २०६५।४।८ मा गुठी संस्थान, शाखा कार्यालय ललितपुरले पत्र पठाएपछि म