निर्णय नं. ११०८६ - आगोलागी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०८६ - आगोलागी भाग: ६५ साल: २०८० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७८/१२/०७ ६८४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७८।१२।७ ०७३-CR-०१३७ मुद्दाः आगोलागी पुनरावेदक/वादी : देवीराम अधिकारीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : हस्तबहादुर राईको छोरा जिल्ला रूपन्देही, साबिक पर्रोहा गा.वि.स. वडा नं. ६ रानीबगिया घर भई हाल जिल्ला कपिलवस्तु, शिवपुर गा.वि.स. वडा नं. ६ नौडिहवा बस्ने अविनास भन्ने गणेशबहादुर राई सरकारी निकायबाट क्षतिको मूल्याङ्कन नभएको भन्ने आधारमा बिगो भराउन नपर्ने भनी ठहर गर्नु तर्कपूर्ण र मनासिब नहुने । (प्रकरण नं.३) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकबहादुर कार्की प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शालिकराम सापकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री अच्युतप्रसाद भण्डारी कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. मु. न्या. श्री सारदाप्रसाद घिमिरे मा. न्या. श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन अदालत बुटवल फैसला न्या. सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्यगत बेहोरा जिल्ला कपिलवस्तु, शिवपुर गा.वि.स. वडा नं. ९ मैनार जंगल र सुकवेल खोलाबिचको सडकमा लु २ त १११० नं. को ढुङ्गा लोड भएको ट्रलीसहितको ट्याक्टर रोकिएको अवस्थामा रहेको, ट्याक्टरको पछाडिको दुवै टायर, चालक बस्ने सिट र इन्जिनको भाग पूर्णरूपमा जलेको, अगाडिको बम्फर, दुवै हेडलाइट, साइलेन्सर पाइप तोडफोडसमेत भएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मेरो लु २ त १११० नं. को ट्याक्टर खुसिराम चौधरीले चलाई बालसिंह थापाको नाममा ठेक्का रहेको र रामबहादुर के.सी. समेतले सञ्चालन गरेको सुकवेल नाकाबाट ढुङ्गा लोड गर्न सुकवेल खोलामा गई ढुङ्गा लोड गरी फर्कने क्रममा सुकवेल खोला प्रवेश गर्ने पहिलो नाका स्थित सडकमा आइपुग्दा अविनास भन्ने गणेशबहादुर राईसमेतका १०/१२ जनाको समूहमा आएका व्यक्तिहरूले ड्राइभर खुसीराम थारू र लेवरहरू कलप हुसेन मिया, प्रभुनाथ थारू र घनश्याम थारूलाई कुटपिट गरी धम्की दिई भगाई सो लु २ त १११० नं. को ट्याक्टरमा पेट्रोल छर्की आगो लगाई पूर्णरूपमा क्षति पुर्याएको कुरा ड्राइभर तथा लेवरहरूबाट जानकारी पाई जाहेर गर्न आएको छु, आगो लगाउने गणेशबहादुर राई तथा अन्य व्यक्तिहरूलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको देवीराम अधिकारीको जाहेरी दरखास्त । हामीहरू ढुङ्गा लोड गरी शिवपुर गा.वि.स. वडा नं. ९ स्थित सडकमा आइपुग्दा चिनेका अविनास भन्ने गणेशबहादुर राई र नचिनेका १०/१२ जनाको समूहले हामीहरूलाई जबरजस्ती कुटपिट गरी किन कुटेको भन्दा यहाँबाट भाग भनी भगाई निजहरूले लिई आएको पेट्रोल ट्याक्टरमा छर्की ट्याक्टर तोडफोड गरी ट्याक्टरमा आगो लगाएकोमा ट्याक्टर पूर्णरूपमा जली नष्ट भएको हो, सो कुरा हामीले सवारीधनी देविराम अधिकारीलाई जानकारी गराएका हौं भन्नेसमेत बेहोराको खुसीराम चौधरी, कलप हुसेन मिया, प्रभुनाथ थारू र घनश्याम थारूले गरेको एकै मिलानको छुट्टाछुट्टै कागज । मिति २०६९/१२/०४ गते बिहान घरमा खाना खाई गाउँले साथीको घरमा साथी भाइहरूसँग गफ गरी घरमा जाँदा श्रीमतीले तपाइँहरूले ट्याक्टर जलाउनुभयो अरे भने