निर्णय नं. ११०८७ - फैसला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०८७ - फैसला बदर भाग: ६५ साल: २०८० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७७/१२/१२ ९०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति: २०७७।१२।१२ ०७२-CI-२०४५ मुद्दाः फैसला बदर पुनरावेदक/वादी: काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १२ जैसीदेवल हयुमत बस्ने स्व. माइला महर्जनको पत्नी अष्ट महर्जन विरूद्ध प्रत्यर्थी/प्रतिवादी: काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २४ भोसी टोल बस्ने रामबहादुर तण्डुकारको छोरी सुश्री शान्ता तण्डुकार मुद्दामा पक्षको रूपमा रहेका कुनै व्यक्तिको मृत्यु भएको अवस्थामा निजको हकवालामध्येका पत्नी वा छोरा कसैले पनि मुद्दा सकार गर्न पाउने । यदि एकभन्दा बढी हकवालाले मुद्दा सकार गर्न चाहेको वा मुद्दा सकार गर्ने कुरामा नै विवाद रहेको अवस्थामा भने मुद्दा सकार गर्ने हक कसमा रहेको छ भनी निरूपण गरिनुपर्ने अवस्था पनि रहन सक्ने । तर मर्नेको हकमा मुद्दा सकार गर्न निजको पत्नी वा छोरा आएको र अन्य कोही कसैले दाबी विरोध नगरेको अवस्थामा मर्ने व्यक्तिको एकाघर सगोलका पत्नी वा छोराले मुद्दा सकार गरेको कार्यलाई बेरितको वा कानूनी रूपमा त्रूटिपूर्ण मान्न नमिल्ने । मर्नेका नजिकका हकवालाहरू को को छन् भनी मुद्दा हेर्ने निकायले खोजी गर्नुपर्ने र निजहरूलाई झिकाई बुझ्नुपर्ने कुनै कानूनी अनिवार्यता रहेको समेत नदेखिने । (प्रकरण नं. ३) पुनरावेदक/वादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल प्रत्यर्थी/प्रतिवादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री बद्री पाठक अवलम्बित नजिर: सम्बद्ध कानून: सुरू तहमा निर्णय गर्नेः भूमिसुधार कार्यालय, काठमाडौं पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री भरतप्रसाद अधिकारी मा. न्या. श्री विष्णुदेव पौडेल पुनरावेदन अदालत पाटन फैसला न्या. ईश्वरप्रसाद खतिवडा: न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः तथ्यगत बेहोरा प्रतिवादी शान्ता तण्डुकारको नाम दर्ताको साबिक गोगंबु गा.वि.स. वडा नं. ५(क) कि.नं. १९७ क्षेत्रफल १-६-२-० जग्गा कित्ताकाट भई कायम काठमाडौं जिल्ला, गोगंबु गा.वि.स. वडा नं. ५(क) कि.नं. ७५२ को क्षेत्रफल ०-१५-०-० जग्गाको मेरा स्व.पति माइला महर्जन दर्तावाला मोही रहनुभएकोमा निज २०५४।१२।७ मा परलोक हुनु भई निजको मृत्युपश्चात् मोहीको हैसियतले मैले उक्त जग्गा जोत कमाई गरी जग्गाधनीलाई वर्षैपिच्छे कुत बाली तिरी बुझाई आइरहेकी छु । मैले सो जग्गाको मोही नामसारी गरिपाउन तथा मोही र जग्गाधनीबिच बाँडफाँट गरी मोही लगत कट्टा गरिपाउन भनी शान्ता तण्डुकारउपर मुद्दा दायर गरेको, सो मुद्दा हालसम्म विचाराधीन भई २०६१ सालदेखि नै तारेखमा बसी आउँदा निर्णय हुन बाँकी नै रहेको अवस्थामा थियो । प्रतिवादी शान्ता तण्डुकारले कि.नं. ७५२ को जग्गाधनी पुर्जा लिँदा म मोहीलाई भूमिसम्बन्धी ऐनको दफा ८ बमोजिम जानकारी दिनुपर्नेमा सो नगरी विपक्षी शान्ता तण्डुकार र मेरा पति माइला महर्जनका बिचमा २०५१ सालको बालीमा परेको बाली भराई मोही निष्कासन मुद्दा चल्दा-चल्दै माइला महर्जनको मृत्यु भएकोले निजको छोरा श्याम महर्जनले मुद्दा सकार गरी निजहरू एकआपसमा मिली पति स्वर्गीय हुनु भएपश्चात मोहियानी हकको जग्गा मैले जोती कमाई आएको सम्बन्धमा विपक्षीहरूल