निर्णय नं. ११०९० - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०९० - अंश दर्ता भाग: ६५ साल: २०८० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/१०/१२ ११५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति: २०७९।१०।१२ ०७३-CI-१५८९ मुद्दाः- अंश दर्ता पुनरावेदक/प्रतिवादी: सिराहा जिल्ला साबिक भेडिया गा.वि.स. वडा नं.२ हाल वडहरामाल गा.वि.स. वडा नं.६ बस्ने मिना नायकसमेत विरूद्ध प्रत्यर्थी/वादी: सिराहा जिल्ला साबिक भेडिया गा.वि.स. वडा नं.२ हाल वडहरामाल गा.वि.स. वडा नं.६ बस्ने राजोदेवी सुडिन वृद्ध अवस्था भएको र घर-व्यवहार चलाउन बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रयोजनको लागि पारिवारिक सल्लाहबमोजिम बुहारी तथा नातिलाई बकसपत्रको माध्यमबाट आफ्नो नाम दर्ताको जग्गाको स्रेस्तासम्म सारिदिएको कार्यलाई विधिवत् रूपमा वादीले आफ्नो अंश हक नै परित्याग गरेको भनी मान्न नमिल्ने । असल नियतले पारिवारिक सल्लाहबमोजिम भएगरेको कार्यको सम्बन्धमा अन्य अंशियारको उजुर नालेस पर्ने अवस्था पनि नरहने । वादीले आफ्नो छोरा र बुहारीलाई पहिले नै बकसपत्र गरी हक हस्तान्तरण गरिदिएको सम्पत्तिबाट निजले अंश नपाउने भन्ने हुँदैन । यसरी अंशियारहरू एकासगोलमा रहेको अवस्थामा जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति भए पनि सबै अंशियारले बराबरी बन्डा गरी लिन पाउने । वादी आमा/सासूले छोरा बुहारीलाई गरिदिएको बकसपत्र लिखत बदर गर्नु गराउनुपर्ने पनि देखिएन । यस अवस्थामा दाबीको जग्गा वादीले बकस गरिदिएको र बकसपत्र बदर सम्बन्धमा कुनै अंशियारको नालेस उजुर परी बदर नभएको भन्ने आधारमा वादीको अंश हक गएको र ती जग्गाहरूमा प्रतिवादीहरूको एकलौटी हक कायम भएको भनी मान्न नमिल्ने । (प्रकरण नं. ८) पुनरावेदक/प्रतिवादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेव यादव प्रत्यर्थी/वादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री चन्द्रमणी पौडेल अवलम्बित नजिर: ने.का.प.२०६९ अङ्क ३ नि.नं. ८७८८ ने.का.प.२०६९ अङ्क ५ नि.नं. ८८३० सम्बद्ध कानून: प्रमाण ऐन, २०३१ फैसला न्या.डा.मनोजकुमार शर्मा: न्याय प्रशासन ऐन,२०७३ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्रको भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम ठहर यस प्रकार छः तथ्य खण्ड म राजोदेवी सुडिनबाट जायजन्म भएका तीन जना छोरामा जेठा महेन्द्र नायक, माहिला प्रतिवादी उपेन्द्र नायक र कान्छा दिपेन्द्र नायक रहेको तथा प्रतिवादी मिना नायक प्रतिवादी उपेन्द्र नायकको पत्नी भई प्रतिवादी शिवशंकर निजहरूका छोरा हुन् । हामी एकासगोलमा बस्दै आइरहेकोमा प्रतिवादीहरूले अनेक प्रकारको दु:ख दिइरहेको र जेठा छोरा महेन्द्र तथा कान्छा दिपेन्द्र नायकले खान लाउन दिई स्याहार सम्भार गरिरहेको हुँदा प्रतिवादीहरूलाई मेरो अंशको जग्गा मेरो नाममा ल्याइदिनु र अंशबन्डा गरिदिनु भन्दा इन्कार गरेकोले फिराद परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी लिई ४ भागको १ भाग अंश पाउँ भनी मिति २०६९।७।१६ को वादी राजोदेवी सुडिनको फिरादपत्र । विपक्षी फिरादीले अन्य दुई जना छोरा महेन्द्र नायक र दिपेन्द्र नायकलाई विपक्षी नबनाई अन्य छोराको मिलुवा भई हामीलाई दु:ख दिने उद्देश्यले हामीउपर मुद्दा दिएका हुन् । म उपेन्द्र नायकलाई फुपू वतही सुडिनले मिति २०४०।२।१९ मा पारित बकसपत्रमार्फत पाएको सिराहा जिल्ला भेडिया गा.वि.स. हाल कि.नं.१५० को ०-६-१११/२ जग्गा कमाई सोको आयस्ताबाट लक्ष्मी साहबाट सिराहा जिल्ला वडहरामाल गा.वि.स. वडा