निर्णय नं. ११०९२ - बहुविवाह
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०९२ - बहुविवाह भाग: ६५ साल: २०८० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७८/१२/१५ १८३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति: २०७८।१२।१५ ०७२-CR-०२९७ मुद्दा : बहुविवाह पुनरावेदक/वादी: मधुमाया बगालेको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी: लमजुङ जिल्ला, सिम्पानी गाउँ विकास समिति वडा नं. ४ बस्ने खड्कबहादुर थापाको छोरा गोपालबहादुर थापा भन्ने गोपालबहादुर बगालेसमेत कुन काम वा क्रियालाई फौजदारी कसुर भनी मान्नुपर्ने, कुन कसुरको लागि कति सजाय गर्नुपर्ने र कुन कसुरको सम्बन्धमा कति समयावधिभित्र उजुरी वा अभियोग दायर गरिसक्नुपर्ने भन्नेसमेतका कुराहरू विधायिकाले ऐनद्वारा निर्धारित गर्ने । कुनै कसुरको सम्बन्धमा मुद्दा वा दाबी गर्ने हदम्याद सीमित नरहने गरी खुल्ला राख्न र कुनै वा केही कसुरका लागि सीमित हदम्यादको व्यवस्था पनि ऐनमा विधायिकाले नै गर्ने । यी सबै विधायिकी कार्यक्षेत्र (legislative function) भित्रका कुरा हुने । ऐनले गरेको हदम्यादसम्बन्धी व्यवस्था सबैले मान्नु र लागु गर्नुपर्ने । (प्रकरण नं.५) कुनै पनि व्यक्तिलाई कानूनले दिएको अधिकार वा सुविधालाई तथ्य ढाँटी दुरूपयोग गर्ने छुट नहुने । आफूलाई थाहा जानकारी भएको र नेपाल सरकार मातहतकै कार्यालयमै गई सम्बन्ध स्वीकार गरी मिलापत्र गरेको तथ्य ढाँटी लुकाई सरकारी संयन्त्रलाई क्रियाशील बनाउनु राज्यको स्रोत साधनको दुरूपयोग मान्नुपर्ने । (प्रकरण नं.६) पुनरावेदक/वादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री भिमबहादुर गुरूङ र श्री गणेशमान प्रधान प्रत्यर्थी/प्रतिवादीका तर्फबाट: विद्वान् उपन्यायाधिवक्ता श्री डम्बरप्रसाद काफ्ले अवलम्बित नजिर: ने.का.प २०६८, नि.नं. ८७१६, अङ्क ११ ने.का.प. २०६३, नि.नं. ७६९४, पृ. ५५४ सम्बद्ध कानून: सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री दिपकराज पन्त लमजुङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.मु.न्या.श्री डम्बरबहादुर शाही मा.न्या.श्री श्रीमणकुमार गौतम पुनरावेदन अदालत पोखरा फैसला न्या. अनिलकुमार सिन्हा: पुनरावेदन अदालत पोखराको मिति २०७१।१०।२१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दर्ता हुन आई यस अदालतको मिति २०७२।४।७ को आदेशले दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रूपमा परिणत भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड जिल्ला लमजुङ, सिम्पानी गाउँ विकास समिति वडा नं ४ बस्ने गोपालबहादुर बगालेसँग २०४१ सालमा मेरो प्रेमविवाह भई २ छोरी र १ छोराको जन्मसमेत भइसकेको छ । छोराछोरी जन्मेपछि विपक्षी पतिले मलाई अपहेलना गरी झुठ्ठा धनमाल मुद्दासमेत दिई घरमा खान लगाउनसमेत नदिएकाले म २०५० सालदेखि हालसम्म माइतीको शरणमा छु । विपक्षी पति नेपाली सेनामा जागिरे हुँदा छोराछोरीको खान लगाउन शिक्षा दीक्षाको कुरा गर्दा आलटाल गर्दै आउनुभएकोमा सेवाबाट निवृत्त भएपछि कुनै किसिमको वास्ता नगरी रोजगारको लागि विदेश जानुभएकोमा निज पति घरमा आएको समयमा कुनै किसिमको वास्ता नगरी बस्नुभएकोले निजको व्यवहारमा शंका मानी बुझ्दै जाँदा विपक्षी पतिले जिल्ला लमजुङ, चिती गाउँ विकास समिति वडा नं. ५ कार्की डाँडा बस्ने फणिकबहादुर जोशीको छोरी गीता बगालेलाई विवाह गरी श्रीमती बनाई पोखरातर्फ डेरा कोठा लिई राख्दै आएको कुरा मिति २०७०।४।२ गते विपक्षी पत