निर्णय नं. ११०९४ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०९४ - उत्प्रेषणसमेत भाग: ६४ साल: २०८० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/१०/१६ ८२१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति: २०७९।१०।१६ ०७७-WO-०७१७ विषय:- उत्प्रेषणसमेत निवेदक: कास्की जिल्ला साबिक थुमाकोडाँडा गा.वि.स. वडा नं.५ को परिवर्तित मादी गाउँपालिका वडा नं.३ बस्ने अर्जुन गुरूङसमेत विरूद्ध विपक्षी: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूको रूपमा रहेका गाउँसभाका अत्यधिक बहुमत सदस्यहरूले केन्द्र परिवर्तनको आवश्यकता ठानी गरेको निर्णयमा ती सदस्यहरूको विवेकभित्र प्रवेश गरी तिनीहरूको विवेक परीक्षण गरी अदालतले अन्यथा तवरबाट हस्तक्षेप गर्नु मनासिब नहुने । (प्रकरण नं. ७) कुनै गाउँपालिकाको केन्द्र कहाँ तोक्दा आम नागरिकहरूलाई पायक पर्ने हो भन्ने कुरा सम्बन्धित पालिकाका स्थानीय जनप्रतिनिधिहरूलाई नै जानकारी हुने विषय हुने । कुनै स्थान पायक वा अपायक भन्ने विषय सम्बन्धित पालिकाको भौगोलिक अवस्था, आम नागरिकहरूको बसोबास, यातायातको सुविधा जस्ता विभिन्न विषयहरूलाई आधार मानेर विचार गर्नुपर्ने विषय रहेको हुँदा यस विषयमा स्थानीय जनताहरूद्वारा निर्वाचित सदस्यहरूले थाहा नपाउने अनि अदालतले थाहा पाए जस्तो गरी कुनै स्थान विशेष पायक पर्ने स्थान हो वा होइन भनी रिट क्षेत्राधिकारको माध्यमबाट बोल्न उचित नहुने । (प्रकरण नं. ८) निवेदकका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री मोहन प्रकाश पोखरेल विपक्षीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री सतिशकृष्ण खरेल, श्री रमणकुमार श्रेष्ठ, श्री रमेश बडाल, श्री श्रीकान्त बराल तथा विद्वान् अधिवक्ता श्री शिवराम श्रेष्ठ अवलम्बित नजिर: सम्बद्ध कानून: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ आदेश न्या. तिलप्रसाद श्रेष्ठ: नेपालको संविधानको धारा ४६ एवं धारा १३३ को उपधारा (१) र (२) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त बेहोरा र निर्णय यसप्रकार छ:- निवेदनको संक्षिप्त तथ्य नेपाल सरकारको साबिक थुमाकोडाँडा, हंशपुर, पार्चे, नार्माजुङ, मिजुरेडाँडा, सिंघुजुरे, कालिका, सैम्राङ भाचोकसमेतलाई समावेश गरी १२ वटा वडामा विभाजन गरी मादी गाउँपालिका कायम गरेकोमा तत्कालमा साबिक थुमाकोडाँडा गा.वि.स.को कार्यालय रहेको स्थान याङ्जाकोटलाई नै नेपाल सरकारले गाउँपालिकाको प्रशासनिक केन्द्र तोकी हालसम्म पनि सोही स्थानबाट नै गाउँपालिकाको काम, कारबाहीहरूको सञ्चालन हुँदै आएको छ । यसैबिच विपक्षी गाउँ कार्यपालिकाको बैठकले मिति २०७६।०९।२७ मा गाउँसभाको बैठक बोलाएकोमा सो गाउँसभाको बैठकमा हालको केन्द्र याङ्जाकोट के कति कारणले अनुपयुक्त भयो भन्नेसम्म उल्लेख नगरी गाउँपालिकाको केन्द्र निर्धारणसम्बन्धी प्रस्ताव पेस गरिएकोमा गाउँसभाबाट भएको निर्णयलाई विपक्षी गाउँपालिका अध्यक्षले केही तोडमोड गरी हाल गाउँपालिकाको केन्द्र रहेको याङ्जाकोटलाई अपायक देखाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४(३) बमोजिम गाउँसभाले केन्द्र परिवर्तन गर्ने प्रस्तावलाई पारित गरेको भन्ने बेहोरासमेत उल्लेख नगरी गोलमटोल भाषामा गाउँसभाको निर्णय भनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने पत्राचारको काम अनधिकृत रूपमा आफैँ सही गरी गुपचुप रूपमा आफूखुशी मादी गाउँपालिकाका विभिन्न ४ स्थानहरूलाई गाउँपालिकाको क