निर्णय नं. १११०१ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११०१ - जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०८/१९ २८७५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७९।८।१९ मुद्दाः जबरजस्ती करणी ०७३-CR-१६७९ पुनरावेदक/प्रतिवादी : मिनबहादुर वि.क.को छोरा सल्यान जिल्ला, सेजुवाल टाकुरा गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार शाखा, कास्की थुनामा रहेका स्याने भन्ने सरोज वि.सी. विरूद्ध प्रत्यर्थी/वादी : परिवर्तित नाम रूकुम ११ को जाहेरीले नेपाल सरकार ०७३-CR-१७३७ पुनरावेदक/प्रतिवादी : भक्तबहादुर सुनारको छोरा दैलेख जिल्ला, नारायण न.पा. वडा नं. ८ घर भई हाल कारागार कार्यालय, बाँकेमा थुनामा रहेका चंखे भन्ने अजिव सुनार विरूद्ध प्रत्यर्थी/वादी : परिवर्तित नाम रूकुम ११ को जाहेरीले नेपाल सरकार एउटा महिलाको पारिवारिक, सामाजिक तथा सांस्कृतिक परिवेशसमेतका कारण निजको प्रतिष्ठामा आँच आउने, कलङ्कित (Stigmatized) हुने डर तथा वारदातपश्चात् पीडितमा पर्न गएको शारीरिक र मानसिक विक्षिप्तताका साथै समाजले पुर्‍याउन सक्ने थप पीडाको डरका बाबजुद जबरजस्ती करणी कसुरको पीडित स्वयंले निजमाथि घटेको घटनाको सम्बन्धमा जाहेरी दिई उक्त जाहेरी बेहोरालाई समर्थन गरी अदालतमा समेत सनाखत बकपत्र गरेमा उक्त प्रमाणलाई अन्यथा प्रमाणित नभएसम्म न्यायको रोहमा सर्वश्रेष्ठ र अकाट्य प्रमाणको रूपमा लिनुपर्ने । महिलाको शरीर र अस्मिता विरूद्ध हुने जघन्य अपराधमा पीडितको भनाइलाई अदालतले अत्यन्त गम्भीरताको साथ लिनुपर्ने । जबरजस्ती करणी मुद्दामा पीडितको भनाइ र जाहेरीले सर्वाधिक महत्त्व राख्ने । (प्रकरण नं. ९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू सिता भट्ट, श्री मोहन शंकर, श्री श्यामकुमार विश्वकर्मा, श्री रामचन्द्र गौतम र श्री यमकुमारी ददेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली अवलम्बित नजिर : ने.का.प. २०६५ अङ्क १, नि.नं. ७९२३ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- मा.जि.न्या.श्री विष्णुप्रसाद कोइराला बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री शेषराज सिवाकोटी मा.न्या.श्री सारङ्गा सुवेदी उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास फैसला न्या. सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारअन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- तथ्यगत बेहोरा जिल्ला बाँके, नेपालगन्ज नगरपालिका वडा नं. ५ स्थित पूर्वमा सन्ध्यादेवको घर, पश्चिममा ग्यारेज, उत्तरमा प्लाष्टिक सङ्कलन गृह, दक्षिणमा बसपार्क टिकट काउन्टर, यति चार किल्लाभित्र रहेको ना. ४ ख ५१६७ नं. को बसको पछाडि लहरै पाँचवटा सिट रहेको उक्त सिटमा परिवर्तित नाम रूकुम ११ लाई अजिव सुनार, सरोज वि.सी., दलबहादुर डाँगी, तेजबहादुर वि.क., हरि खड्कासमेतले सामूहिक करणी गरेको भन्ने घटनास्थल मुचुल्का । वादी नेपाल सरकार प्रतिवादी अजिव सुनारसमेत भएको जबरजस्ती करणी मुद्दामा वारदातको समयमा पीडित परिवर्तित नाम रूकुम ११ ले लगाएको भित्री कपडा पेन्टी कट्टु परीक्षण प्रयोजनको लागि प्रहरीले लिएको हो भन्ने मुचुल्का । मिति २०७१।०४।२१ गते बिहान अन्दाजी ३:३० बजेको समयमा रूकुमदेखि नेपालगन्ज आएको ना. ४ ख ५१६७ नं.को बसमा यात्रा गरी आएकी परिवर्तित नाम रूकुम ११ लाई बाँके नेपालगन्ज नगरप