निर्णय नं. १११०२ - कालो बजार तथा अन्य केही सामाजिक अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११०२ - कालो बजार तथा अन्य केही सामाजिक अपराध भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०९/२४ १३७४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।९।२४ ०७०-CR-०६३४ मुद्दाः कालो बजार तथा अन्य केही सामाजिक अपराध पुनरावेदक/प्रतिवादी : झापा जिल्ला, भद्रपुर न.पा.वडा नं.४ स्थित मित्तल सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.का सञ्चालक सुरेशकुमार मित्तल (अग्रवाल) विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला प्रशासन कार्यालय, झापाको पत्र जाहेरीले नेपाल सरकार सिमेन्टको गुणस्तर परीक्षण गर्ने साधिकार निकाय गुणस्तर तथा नापतौल विभागले गरेको नमुना परीक्षणमा अविश्वास गर्नुपर्ने देखिँदैन । मुद्दा हेर्ने अधिकारीले नमुनाको पुनः परीक्षण गर्नुपर्ने आवश्यक ठानी आदेश गरेको अवस्थामा बाहेक पुनः परीक्षण गर्न नपर्ने । (प्रकरण नं. ७) नमुना परीक्षण गर्दा व्यक्तिको स्वविवेकले जाँच प्रतिवेदन तयार गर्ने नभई विज्ञान र सिद्धान्तको आधारमा प्रतिवेदन तयार गरिने भएकाले उक्त प्रतिवेदन गलत भएको भनी साक्षीले भनेको आधारमा मात्र प्रमाणमा लिन नमिल्ने । (प्रकरण नं. ९) एक पटक यस अदालतले हेरी अभियोग पत्र खारेज गर्न नमिल्ने कानूनबमोजिम गर्नु भनी निर्क्यौल गरिसकेको विषयमा पुनः सोही विषयलाई जिकिरका रूपमा लिई पुनरावेदन गर्ने कार्यलाई औचित्यपूर्ण मान्न सकिँदैन । (प्रकरण नं. १२) पुनरावेदक/प्रतिवादीका तर्फबाट : प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् सहायक न्यायाधिवक्ता श्री सुस्मिता पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ उपभोक्ता संरक्षण ऐन, २०५४ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सुरू तहको फैसला गर्ने : प्र.जि.अ. श्री भोलाप्रसाद शिवाकोटी जिल्ला प्रशासन कार्यालय, झापा पुनरावेदन तहको फैसला गर्ने : मा. मु. न्या. श्री गोविन्दकुमार उपाध्याय मा. न्या. श्री उदय प्रकाश चापागाई पुनरावेदन अदालत इलाम फैसला न्या.डा.मनोजकुमार शर्मा: तत्काल प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम दायर भई हाल प्रचलनमा रहेको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र रही दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः मुद्दाको संक्षिप्त तथ्य मिति २०६२।४।२५ गते झापा चन्द्रगढी स्थित मित्तल सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.बाट उत्पादन भएको पशुपति द सुपर बिल्डर ब्रान्डको NS चिह्न प्राप्त सिमेन्ट मिति २०६२।३।१ मा उद्योगबाट भरी सिलाई गरेको बोरा लिई मिति २०६२।३।५ गतेमा उद्योगको प्रतिनिधिको रोहबरमा सिलबन्दी गरी नमुना परीक्षण गर्न गुणस्तर तथा नापतौल विभाग, बालाजु काठमाडौं पठाइएकोमा उक्त सिमेन्ट परीक्षण गर्दा गुणस्तरयुक्त नभएको भनी परीक्षण नतिजा प्राप्त भएकोले उक्त उद्योगले कम गुणस्तरको सिमेन्ट उत्पादन गरी गुणस्तरीय सिमेन्ट हो भनी बिक्री वितरणसमेत गरेको पाइएकोले उक्त उद्योगलाई कालोबजार तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत कारबाहीका लागि पेस गरेको छु भन्ने निरीक्षण अधिकृत रामबहादुर कुरूम्वाङको प्रतिवेदन । सिलबन्दी भएको भाडा संख्या २ सिमेन्ट १०/१० के.जी. साङ्केतिक संख्या ३९९, ३७७ प्लाष्टिकको भाँडोमा प्याकिङ गरिएको मिति २०६२।३।१ गते नमुना लिएको वस्तुको गुणस्तर परीक्षण गरिदिन भनी गुणस्तर तथा नाप तौल विभाग, बालाजु काठमाडौंलाई घरे