निर्णय नं. १११०६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११०६ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/१२/०३ ९१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति :२०७९।१२।३ ०७५-WO-१०३० मुद्दाः- उत्प्रेषण निवेदक : आलेको नाति पहलेको छोरा गोरखा जिल्ला गोरखा हर्मी गा.वि.स. वडा नं.२ साबिक घर भई का.जि. विष्णु गाउँ गा.वि.स. वडा नं. ५ हाल परिवर्तित बुढानिलकण्ठ न.पा. वडा नं.४ बस्ने वर्ष ४७ को कमलबहादुर परियार विरूद्ध विपक्षी : श्री गोरखा जिल्ला अदालतसमेत हाल बसोबास गरिरहेको ठेगाना उल्लेख गरेकोमा उक्त ठेगानामा म्याद जारी नभई बसाइँसराइँ लिई छाडिसकेको स्थानमा जारी गरिएको म्याद र सोही वतनमा तामेल भएको उक्त म्याद रीतपूर्वक तामेल भएको मान्न नमिल्ने । यसरी बेरितसँग जारी गरी बेरित तवरबाट नै तामेल गरिएको म्यादलाई मान्यता प्रदान गरी भएका काम कारबाही तथा फैसलालाई कानूनअनुकूल भएको भनी मान्न नमिल्ने । (प्रकरण नं. २) कुनै व्यक्ति विरूद्ध लगाइएको आरोपको कानूनबमोजिम प्रतिरक्षा गर्न पाउने निजको संवैधानिक अधिकार हुने । कसैलाई पनि स्वच्छ सुनुवाइको हकबाट वञ्चित गर्न नमिल्ने । सुनुवाइको मनासिब मौका नदिई सजाय हुने ठहर गर्दा स्वच्छ सुनुवाइसम्बन्धी हकमा आघात पर्न जाने । (प्रकरण नं. ३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री नरेन्द्र भट्ट विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री युवराज महत अवलम्बित नजिर : सम्बद्ध कानून : फैसला न्या. प्रकाशकुमार ढुंगाना : नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- तथ्यगत बेहोरा विपक्षी शम्भुलाल श्रेष्ठ र म निवेदकबिच २०६२।८।२७ गते बा. २ ख ८९२९ नं. को मिनिबस लिने दिने लिखत भएको थियो । लिखतको सर्तअनुसार गाडी नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडलाई रू.११,५०,०००/- किस्तामा तिर्नुपर्ने थियो । मिति २०६२।८।२७ कै आसपासमा मैले बैंकको कर्मचारी पेसल दाहाल र शम्भु श्रेष्ठकै रोहबरमा १ लाख २५ हजार बुझाएको थिएँ । उल्लिखित गाडीको किस्ता बुझाएकोमा ३ महिनाभित्रमा बैंकले गाडी तानेकोले उल्लिखित लिखतको औचित्य समाप्त भएको थियो । उक्त गाडीको किस्ता मैले शम्भुलाललाई बुझाएकोमा निजले बैंकमा रकम नबुझाएकोले बैंकले गाडी लिनुपरेको हो । विपक्षी शम्भुलालले लिखतमा उल्लिखित मेरो वतन का.जि. विष्णु गाउँ वडा नं. ५ मा मेरो वतन हुँदाहुँदै म नबस्ने मेरो साबिकको वतन गोरखा जिल्ला हर्मी गा.वि.स. वडा नं.२ मा मेरो वतन देखाई प्रतिवादी बनाई करारबमोजिमको रकम दिलाइपाउँ भनी फिराद गरेका रहेछन् र विपक्षी जिल्ला अदालतले पनि लिखतको वतनमा म्याद जारी नगरी फिरादमा उल्लिखित वतनमा जारी भएको म्यादलाई रीतपूर्वकको मानी फैसला भएको रहेछ । मेरा पिताका नामको गोरखा जिल्ला हर्मी गा.वि.स. वडा नं. २ अन्तर्गतका कित्ता जग्गाहरू रोक्का रहेको मिति २०७५।१।२० मा फैसलाको नक्कल सारी हेर्दा जानकारी भयो । उक्त सम्पत्ति ५ भाइहरूको साझा नामसारी हुने जग्गा हो । उक्त मुद्दामा मलाई प्रतिरक्षा गर्ने अवसर नदिई लिखतमा उल्लिखित वतनमा म्याद जारी नगरी नगराई भएको फैसला प्रारम्भमा नै प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकोले बदर गरिपाऊँ । साथै प्रस्तुत मुद्दाको अन्तिम कारबाही किनारा नहुन्जेलसम्म बिगो भराउने प्रयोजनको लागि गोरखा जिल्ला हर्मी गा.वि.स. वडा नं. १ को कि.नं.८८८, ११३०, १४१९ क्षे.फ. १४-३-३-०, ३