निर्णय नं. ११११३ - दर्ता बदर दर्ता कायम घर उठाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११११३ - दर्ता बदर दर्ता कायम घर उठाई पाऊँ भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७८/१२/०७ २१८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति: २०७८।१२।।७ ०६८-CI- १४०० मुद्दा : दर्ता बदर दर्ता कायम घर उठाई पाऊँ । पुनरावेदक/प्रतिवादी: जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १३ बस्ने पंखबहादुरको छोरा बद्रीबहादुर बुढाथोकी विरूद्ध प्रत्यर्थी/वादी: मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने जमिर अहमद मरी मुद्दा सकार गर्ने निजको छोरा ऐ.ऐ. वडा नं. २१ बस्ने साहिद अली मिया भन्ने सहिद अली मियासमेत सम्पत्तिसम्बन्धी विवादमा भोग र स्वामित्वलाई विशेष रूपमा हेरिनुपर्ने । सामान्यतया सम्पत्तिमा जसको भोग हुन्छ उसकै स्वामित्व रहेको (possession in nine-tenths of the law) मानिने विधिशास्त्रीय मान्यता रहेको भए तापनि विशेष परिस्थिति वा अवस्थामा कहिलेकाहीँ स्वामित्व नरहेको व्यक्तिको भोग स्थापित हुन सक्ने । यदि यस्तो भोग प्रचलित कानूनविपरीत रहे भएको भए अदालतले हस्तक्षेप गरी सम्बन्धित धनीलाई भोगाधिकार प्रचलन गराइदिन सक्ने । तर स्वामित्व रहेको व्यक्तिले आफ्नो अधिकारको प्रचलन गर्न गराउन समयमा नै कानूनी उपचार खोज्नुपर्ने । अन्यथा कहिलेकाहीँ अचल सम्पत्तिमा प्रतिकूल भोग (adverse possessions) को सिद्धान्त लागु हुन सक्ने । (प्रकरण नं. ९) घर बनाएको विषयमा समयमा नै कानूनी उपचार नखोजेको भए पनि निरन्तर रूपमा जग्गाधनीको हैसियतले सरकारलाई राजस्व तिरिरहेको अवस्थामा उक्त जग्गामा वादीले हक दाबी छाडेको भन्न नमिल्ने । (प्रकरण नं. १०) पुनरावेदक/प्रतिवादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी/वादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री हरिशंकर कर्ण अवलम्बित नजिर: ने.का.प. २०६९, अङ्क २, निर्णय नं. ८७७४ ने.का.प. २०६६, अङ्क ४, निर्णय नं. ८१२५ ने.का.प. २०७७, अङ्क २, निर्णय नं. १०४३८ सम्बद्ध कानून: मुलुकी देवानी संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री भीमकुमार ओझा मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री डम्बरबहादुर शाही मा. न्या. श्री शिव नारायण यादव पुनरावेदन अदालत विराटनगर फैसला न्या. अनिलकुमार सिन्हा: पुनरावेदन अदालत विराटनगरको मिति २०६७।९।२५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (क) र (ख) अन्तर्गत यस अदालतमा प्रतिवादीको निवेदन परेकोमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान गरी पुनरावेदनको रोहमा दर्ता प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्यगत बेहोरा हाम्रा पिता नवि उल्लाहको नाउँ दर्ताको विराटनगर नगरपालिका वडा नं.८ हाल १३ मा पर्ने जिमिदार पटवारीको पालामा नै रै.नं. १४५ को जग्गामध्येबाट उत्तर दक्षिण र पश्चिमतर्फको खोलिएको बाटोहरूमा जग्गा पर्न गई जग्गा घट्न गएको रहेछ । नापी हुँदाका अवस्थामा म हाजिमती उल्लाहको एकलौटी हक भोगको जग्गा पनि पूरै नापी भएको रहेछ । तर सोसँग जोडिएको पश्चिमतर्फको हामी दाजुभाइको संयुक्त नाउँको रै.नं.१४५ को ०-१६-३ जग्गामध्ये केही जग्गा मात्र हाम्रो नाउँमा नापी भएको रहेछ । सो जग्गा तुलाराम पाण्डेले नयाँ घर बनाउन लागेको देखी बुझ्दा हरिबहादुर बुढाथोकीले उक्त रै.नं. १४५ को जग्गामध्ये हाल नापीको कि नं. २३ को ०-२-३-२ जग्गा स्ववासी भनी नापी गराई बिक्रीसमेत गरेका रहेछन् । उक