निर्णय नं. ११११९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११११९ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०३/०९ ८८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति: २०७९।३।९ ०७८-WO-०४५० मुद्दा: उत्प्रेषण निवेदक: पदम साहकी नातिनी दिपेन्द्र साह र तारा देवी मल्लकी छोरी चितवन जिल्ला कालिका नगरपालिका वडा नं. ३ बस्ने वर्ष २५ की सरू शाह विरूद्ध विपक्षी: नेपाल सरकार, गृह मन्त्रालयसमेत सिफारिस वा सनाखतउपर शङ्का लागेमा वा नागरिकताको प्रमाणपत्र नै प्राप्त गरेपछि पनि कुनै गलत तवरले नभएको झुठा विवरण पेस गरी नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा जुनसुकैबेला पनि कानूनबमोजिम कारबाही हुन सक्ने कुरा बेग्लै हो तर पेस भएको विवरणलाई झुठा हो पनि नभन्ने अनि नागरिकताको प्रमाणपत्र पनि दिन्न भन्दा कानूनले प्रत्याभूत गरेको नागरिकता पाउने अधिकारबाट गैरकानूनी रूपमा वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने । (प्रकरण नं. ८) निवेदकका तर्फबाट: विद्वान् अधिवक्ताहरू श्री रामचन्द्र पौडेल, श्री लोकेन्द्रसिंह धामी, श्री हसिना रूपाखेती र श्री मञ्जुकुमारी पौडेल विपक्षीका तर्फबाट: विद्वान् सहन्यायाधिवक्ता श्री सञ्जिवराज रेग्मी अवलम्बित नजिर: ने.का.प. २०७३ नि.नं. ९६८७ सम्बद्ध कानून: नेपालको संविधान नेपाल नागरिकतासम्बन्धी ऐन, २०६३ आदेश न्या. तिलप्रसाद श्रेष्ठ: नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- निवेदनको संक्षिप्त तथ्य रिट निवेदनको बेहोरा म निवेदक सरू शाह नेपालको नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित भएको पीडित व्यक्ति हुँ । मेरो जन्म मिति २०५३।०४।०८ गते चितवन जिल्ला, साबिकको पदमपुर गा.वि.स. वडा नं. ८ परिवर्तित कालिका न.पा. वडा नं. ३ पदमपुर मा भएको हो । म जन्मेदेखि हालसम्म यही ठेगानामा बसोबास गर्दै आएकी छु । मैले चितवन जिल्ला, परिवर्तित कालिका न.पा. वडा नं. ३ स्थित श्री भिमोदय उच्च माध्यमिक विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गरेकी छु । मेरो बुबा दिपेन्द्र शाह र आमा तारा देवी मल्ल हुन् । मेरो बुवाले विगत १५ वर्षअगाडि घरबाट निस्की बेपत्ता हुनुभएको हुँदा बुवाको नागरिकता र कुनै कागज हामीसँग छैन । मैले उच्च शिक्षा हासिल गर्न, पेसा व्यवसाय गर्न, कुनै रोजगारी प्राप्त गर्न नागरिकताको आवश्यकता पर्ने भएको हुँदा म हालसम्म नागरिकताविहीन भई विभिन्न सेवा सुविधाहरूबाट वञ्चित हुनुपरेको हुँदा राज्यविहीनताको महसुस गरिरहेकी छु । मेरो आमाले जिल्ला प्रशासन कार्यालय चितवनबाट २०४६।०८।२७ गते वंशजको आधारमा नेपाली नागरिकता (ना.प्र.प.सं. १०७४, जारी मिति २०४६।०८।२७, जारी गर्ने कार्यालय जिल्ला प्रशासन कार्यालय, चितवन) प्राप्त गर्नुभएको छ । मैले नागरिकताको लागि सिफारिस उपलब्ध गराइपाउँ भनी चितवन जिल्ला, कालिका न.पा.वडा नं. ३ को वडा कार्यालयमा निवेदन दिएकोमा बाबुको नागरिकता उपलब्ध गराउन नसकेको कारण वडाले सजर्मिन गरी वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र उपलब्ध गराइदिन भनी प्रत्यर्थीमध्येको जिल्ला प्रशासन कार्यालयलाई मिति २०७४।०६।२७ मा नै सिफारिस गरिदिएको थियो । सो सिफारिस लिएर पटकपटक जिल्ला प्रशासन कार्यालय धाउँदा पनि बाबुको नागरिकता पेस नगरी नागरिकता दिन इन्कार गरेको र निवेदन दरपिठ गर्नसमेत नमानेको अवस्था छ । नेपालको संविधानको धारा १० बमोजिम कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त ग