निर्णय नं. १११२७ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११२७ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/१०/२० ९०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति: २०७९।१०।२० ०७९-WO-०३७४ मुद्दा : उत्प्रेषणसमेत निवेदक: पाल्पा जिल्ला, छहरा गा.वि.स. वडा नं. ५ हाल परिवर्तित रैनादेवी छहरा गा.पा. वडा नं. ४ घर भई हाल नेपाल विद्युत् प्राधिकरण, इन्जिनियरिङ निर्देशनालयअन्तर्गत माटो, ढुङ्गा तथा कंक्रिट प्रयोगशाला स्वयम्भु काठमाडौंमा तह छैठौं सहायक इन्जिनियर (सिभिल) पदमा कार्यरत विशु पौडेल विरूद्ध विपक्षी: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसमेत कुनै पनि संस्थाको कानूनी प्रबन्ध एवं व्यवस्थापकीय पक्षबाट विगतमा स्पष्ट रूपमा कुनै आश्वासन दिएको वा विगतको लामो समयसम्मको निश्चित व्यवहारको कारण त्यस संस्थामा कार्यरत कर्मचारीको वैध अपेक्षा रहने । कर्मचारीका त्यस्ता वैध अपेक्षालाई विधायिकाले बनाएको कानून र अन्य प्रचलित कानूनको सापेक्षतामा हेर्नुपर्ने । सरकारी कर्मचारीहरूको मार्गनिर्देशक कानूनको रूपमा रहेको निजामती सेवा ऐन, २०४९ को दफा २५ मा “बढुवाको सर्तहरूसम्बन्धी नियमहरूमा कुनै संशोधन गर्दा त्यस्तो संशोधन भएको एक वर्षपछिको मितिदेखि मात्र लागु हुने गरी व्यवस्था गरिने” भन्ने उल्लेख भएको देखिन्छ । निजामती सेवा ऐनमा भएको यस प्रकारको व्यवस्था जस्तै नेपाल विद्युत् प्राधिकरणले पनि आफ्नो संस्थामा कार्यरत कर्मचारीको वैध अपेक्षा र सङ्गठित संस्थाको नीतिबिच सामञ्जस्यता मिलाउन संशोधित व्यवस्था निश्चित अवधि (Cooling Period) पछि मात्र लागु हुने गरी आवश्यक प्रबन्ध गर्न सक्ने । (प्रकरण नं. ६) निवेदकका तर्फबाट: विद्वान् अधिवक्ता श्री यज्ञबहादुर बस्नेत विपक्षीको तर्फबाट: विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद जोशी, विद्वान् अधिवक्ताहरू श्री लक्ष्मी थपलिया, श्री रामप्रसाद कर्माचार्य र श्री प्रेमकुमार अधिकारी अवलम्बित नजिर: सम्बद्ध कानून: विद्युत् प्राधिकरण ऐन, २०४१ लोक सेवा आयोग ऐन, २०६६ आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा धारा ४६ र १३३(२)(३) बमोजिम यस अदालतको असाधारण क्षेत्राधिकारभित्रपर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छ । तथ्य खण्ड उपर्युक्त सम्बन्धमा म विशु पौडेल नेपाल विद्युत् प्राधिकरणको मिति २०६५।११।१८ को निर्णयअनुसार तह ४, प्राविधिक सेवा, फोरमेन-सहायक ड्राफ्टमेन पदमा स्थायी नियुक्ति भई मिति २०७०।११।०६ मा तह ५ सुपरभाइजर र मिति २०७४।५।९ को निर्णयानुसार तह ६, सहायक इन्जिनियर (सिभिल) पदमा बढुवा भई हालसम्म नेपाल विद्युत् प्राधिकरणमा कार्यरत रहेको छु । म उक्त सेवामा प्रवेश गर्दा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा विनियमावली, २०६२ (छैठौं संशोधन) लागु रहेको थियो । उक्त विनियमावलीको विनियम ४६ मा आन्तरिक प्रतियोगिता तथा कार्यक्षमताको आधारमा बढुवा हुन अनुसूची ७ बमोजिम न्यूनतम योग्यता पुगेको हुनुपर्ने व्यवस्था गरी उक्त अनुसूची ७ मा तह ७ मा बढुवाको प्रवेशिका परीक्षा पास गरी सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरेको हुनुपर्ने भन्ने व्यवस्था रहेको थियो । उक्त अनुसूचीको व्यवस्थाअनुसार म निवेदक हाल कार्यरत पदभन्दा एक तह माथिल्लो पदमा बढुवा हुनका लागि आवश्यक न्यूनतम योग्यता पुगेको व्यक्ति हुँ । तर साबिकको विनियमावलीमा भएको बढुवासम्बन्धी व्यवस्था संशोधन गरी नेपाल