निर्णय नं. १११२९ - विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११२९ - विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०९/१७ ६९६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति: २०७९।९।१७ ०७४-CR-०२४६ मुद्दाः- विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर पुनरावेदक/वादी: परिवर्तित नाम भक्तपुर १ को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी: सिराहा जिल्ला, धनगढी गाउँ विकास समिति, वडा नं.५ घर भई हाल भक्तपुर जिल्ला बस्ने ध्रुवकुमार वि.सी. को छोरा आकाश वि.सी. वैज्ञानिक परीक्षणबाट स्थापित तथ्य वैज्ञानिक परीक्षणबाटै खण्डित नभएसम्म सो तथ्यलाई अन्यथा भन्न नमिल्ने । पीडितले अदालतमा आई गरेको बकपत्रबाट वैज्ञानिक परीक्षणबाट स्थापित तथ्य खण्डित हुनसक्ने स्थिति नहुँदा सो तथ्य यथावत् रहँदासम्म प्रस्तुत मुद्दाको सन्दर्भमा पीडितको बकपत्र गौण रहने । कुनै महिलाको नग्न तस्वीर सामाजिक सञ्जालमा प्रदर्शन गर्ने कार्य केबल निजको मर्यादामा आँच आउने कार्य मात्र नभई आम महिलालाई अपमान गर्ने एवम् विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) ले निषेध गरेको सार्वजनिक नैतिकता र शिष्टाचार विरूद्धको सामग्री प्रकाशन गर्ने कार्यसमेत भएकाले पीडित जाहेरवालाले अदालतमा आई बकपत्र नगरेकै आधारमा प्रतिवादीलाई सफाइ दिन नमिल्ने । अनुसन्धान तथा अभियोजन पक्षले वारदात परिदृश्यमा देखा परेका अन्य व्यक्तिका सन्दर्भमा समेत अनुसन्धान गरी निजलाई समेत अभियोजन गर्नुपर्ने देखिन आए तापनि अनुसन्धान वा अभियोजन पक्षबाट सो सम्बन्धमा थप अनुसन्धान नगरेका जस्ता प्राविधिक कमीकमजोरीको लाभ प्रतिवादीले पाउनुपर्ने भन्ने दृष्टिकोण लिँदा पीडितले न्याय नपाउने, समाजमा दण्डहीनता मौलाउने र न्याय पराजित हुने अवस्था सिर्जना हुने हुँदा न्यायकर्ताले मिसिलमा देखिएका अनुसन्धानका सानातिना त्रुटि कमजोरी केलाउनेभन्दा पनि समग्रमा न्यायको अनुभूति गर्न सक्ने गरी न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं. ९) पुनरावेदक / वादीका तर्फबाट: विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुन कोइराला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट: अवलम्बित नजिर: सम्बद्ध कानून: विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ सुरू तहको फैसला गर्ने: मा. जि. न्या. श्री महम्मद जुनैद आजाद काठमाडौं जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने: मा. न्या. श्री शिवनारायण यादव मा. न्या. श्री तिल प्रसाद श्रेष्ठ पुनरावेदन अदालत पाटन फैसला न्या. नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संवेदनशीलतालाई मध्यनजर गरी पीडित जाहेरवालीको पहिचान गोप्य राख्न आवश्यक देखिएकाले विशेष प्रकृतिका मुद्दाहरूको कारबाहीमा पक्षको गोपनीयता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका, २०६४ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८३ बमोजिम पीडितको पहिचान खुल्ने विवरण गोप्य राखी साङ्केतिक नाम 'परिवर्तित नाम भक्तपुर १' प्रयोग गरिएको छ । प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः तथ्य खण्ड प्रतिवादी आकाश वि.सी.ले मेरो फेसबुक आई.डि.बाट चरित्र हत्या हुने प्रकारका धम्की विभिन्न नक्कली फेसबुक आई.डि.मा पठाई आएकोमा पटक-पटक अनुरोध गर्दा पनि नमानेको, निजको आई.डि. बन्द तथा ह्याक गरेको, त्यसपछि मेरो अश्लील फोटाहरू बनाई नक्कली फेसबुक आई.डि.बनाएर