निर्णय नं. १११३२ - हक कायम छुट जग्गा दर्ता रैकरमा परिणत नामसारीसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११३२ - हक कायम छुट जग्गा दर्ता रैकरमा परिणत नामसारीसमेत भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/१०/२९ २१९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति: २०७९।१०।२९ ०७६-CI-०३५४ मुद्दाः- हक कायम छुट जग्गा दर्ता रैकरमा परिणत नामसारीसमेत पुनरावेदक/वादी: जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका, वडा नं. ३० परिवर्तित वडा नं.२७ तलाछी घर भई हाल ऐ. वडा नं. १७ ठहिटी क्वाबहाल बस्ने गोपालकृष्णको छोरा भजनकृष्ण श्रेष्ठको मुद्दा सकार गर्ने ऐ.ऐ. बस्ने राजेशकृष्ण श्रेष्ठ विरूद्ध प्रत्यर्थी/प्रतिवादी: जिल्ला काठमाडौं, गोंगबु गा.वि.स., वडा नं. ३ बालुवापाटी परिवर्तित, टोखा नगरपालिका, वडा नं.१२ बस्ने नरबहादुर खत्रीको छोरा भक्तबहादुर खत्रीसमेत फिल्डबुक जग्गाको स्वामित्व सिर्जना गर्ने प्राथमिक एवम् प्रारम्भिक प्रमाण हो । फिल्डबुकबाट नापी भएको जग्गाको जग्गाधनी, जोताहा र जग्गाको नाप यकिन गरिने हुँदा हाम्रो कानूनी व्यवस्थाअनुसार यसको अभावमा जग्गामा व्यक्तिको स्वामित्व सिर्जित हुन कठिन हुने । त्यसकारण जग्गामा स्वामित्वको सम्बन्धमा विवाद उठान भई अन्य निश्चयात्मक प्रमाणहरूको अभाव रहे सो विवादलाई सुल्झाउन प्रथमतः फिल्डबुकतर्फ नै दृष्टिपात गर्नु वाञ्छनीय हुने । सर्भे नापी पुरानो नापीलाई विस्थापित गर्ने र जग्गा पुनः वैज्ञानिक तवरले नापी गर्ने गराउने प्रयोजनका लागि कानूनबमोजिम गरिएको कार्य मात्र नभई जग्गाको स्वामी निर्धारण एवम् आफ्नो स्वामित्वलाई नवीकरण गर्ने प्रक्रियासमेत भएकोमा सो मौकामा आफ्नो जग्गाको नापी गर्ने गराउने एवम् आफूलाई सम्बन्धित जग्गाको जग्गाधनीको रूपमा स्थापित गर्ने कार्य नगरी स्वामित्वको आधार सिर्जना गर्न नसकेको अवस्थामा सर्भे नापीअघिको विस्थापित स्रेस्ताका आधारमा कुनै जग्गामा स्वामित्वको सिर्जना हुने भनी मान्न नमिल्ने । (प्रकरण नं. ४) पुनरावेदक/वादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री सुरेश प्रधान प्रत्यर्थी/प्रतिवादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने र विद्वान् अधिवक्ता श्री नानीबाबु बुढाथोकी अवलम्बित नजिर: सम्बद्ध कानून: सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री पुनाराम खनाल काठमाडौं जिल्ला अदालत उच्च तहमा फैसला गर्नेः मा. न्या. श्री अब्दुल अजीज मुसलमान मा. न्या. श्री रामप्रसाद अधिकारी उच्च अदालत पाटन फैसला न्या. प्रकाशमान सिंह राउत: न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- तथ्य खण्ड फिरादीका बाजे राधाकृष्ण श्रेष्ठ तथा प्रतिवादीहरूमध्येका जिजुबाजे दर्शनदास श्रेष्ठ म्हैपी अजिमा गुठीका गुठियार हुन् । फिरादीको परिवारले हालसम्म निरन्तर परम्परादेखि अजिमा देवताको जात्रा प्रथा चलाउँदै आएका छन् । सोको खर्च गुठीको नाउँमा कायम भएको आयस्ताबाट चल्दै आएको छ । विपक्षीहरूको बाजे दर्शनदास श्रेष्ठले सबै गुठीको जग्गाहरू संरक्षण गरी आएको तथा उक्त जग्गाहरूको कुतबालीसमेत मोहीहरूसँग निजले नै बुझिलिई आएको हुँदा नापीको समयमा अधिकांश म्हैपी गुठीको जग्गाको जग्गाधनीमा दर्शनदास श्रेष्ठ ठंहिटी भनी उल्लेख गरेको फिरादीका बाजे राधाकृष्ण श्रेष्ठ तथा निज दर्शनदास श्रेष्ठको मृत्युपश्चात् निज दर्शनदास श्रेष्ठको छोरा द्वारीकादास श्रेष्ठले उक्त गुठीका