निर्णय नं. १११३९ - बकसपत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११३९ - बकसपत्र बदर भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०८/१८ १५२२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति : २०७९।०८।१८ ०७३-CI-०९८२ मुद्दाः बकसपत्र बदर पुनरावेदक / प्रतिवादी : रोल्पा जिल्ला, बुढागाऊँ गा.वि.स. वडा नं.४ लिङदुङ बस्ने नेत्रबहादुर भण्डारी विरूद्ध प्रत्यर्थी / वादी : जगविर रावतको छोरा साबिक दाङ जिल्ला, हेकुली गा.वि.स. वडा नं. ७ मनिकापुर हाल बाँके कोहलपुर नगरपालिका वडा नं.५ बस्ने लिलाधर रावतसमेत बकस दिँदा आफ्नो हक नपुग्ने सम्पत्तिमा सगोलका अन्य अंशियार वा हकवालाहरूको मन्जुरीनामा लिई वा निजहरूलाई साक्षी राखी बकस प्राप्त गरेमा मात्र पक्का हुने । अंशियार तथा हकवालाको मन्जुरीनामा नलिई वा निजहरूलाई साक्षी नराखी गरेको बकसपत्र सदर नहुने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शालिकराम आचार्य प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री कोमलनाथ शर्मा दाङ देउखुरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा.मुख्य न्यायाधीश श्री भैरवप्रसाद लम्साल मा.न्यायाधीश श्री रामचन्द्र प्रसाद रौनियार पुनरावेदन अदालत नेपालगन्ज फैसला न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको रही दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् यस अदालतको ठहर यसप्रकार छः- तथ्यगत बेहोरा विपक्षी आमा देवीकुमारी रावतसमेतका हामी ८ जना अंशियार हौं । हामीहरूबिचमा छुट्टी भिन्न भई बस्ने मनसाय हुँदा मिति २०४२।०३।१९ मा बाबु जगवीर रावत र निजको जेठो छोरा शिवबहादुर रावत एकातिर तथा विपक्षी आमा तथा हामी अन्य एकातिर सगोलमा बस्ने गरी बन्डा गरेका छौं । हाम्रो सम्पत्ति आमा देवीकुमारीका नाउँमा दर्ता स्रेस्ता भएकोमा निजले हामीलाई कुनै जानकारी नदिई हाम्रो मन्जुरीबेगर दाङ जिल्ला, हेकुली गा.वि.स. अन्तर्गतको ज.वि. ०-९-८ विपक्षी नेत्रबहादुर भण्डारीलाई मिति २०४२।११।०९ मा हालैको बकसपत्र पारित गरी दिएको हुँदा उक्त सम्पूर्ण बकसपत्र बदर गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । दाता देवीकुमारी रावतले मिति २०४२।११।०९ मा नै २०४२ सालको हिउँदे बालीदेखि भोगचलन गर्ने गरी मलाई हालैको बकसपत्र पारित गरिदिएअनुसार उक्त जग्गामा २०४२ सालमा नै मेरो हक पुगी भोगचलनसमेत गर्दै आएकोबाट वादीको दाबी बकसको ५ नं.को हदम्याद नाघी दायर भएकोले खारेज गरी लिखत सदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी नेत्रबहादुर भण्डारीको प्रतिउत्तरपत्र । प्रतिवादी देवीकुमारी रावतले प्रतिउत्तर नै नफिराई मिति २०४७।०३।१४ मा तामेल भएको इतलायनामाको सुरू तामेली म्याद गुजारी बसेको । प्रतिवादी देवीकुमारी रावत र वादीहरू एकासगोलका अंशियारहरू हुन् । छुट्टी भिन्न भएका छैनन् । नेत्रबहादुरले देवीकुमारीलाई कुनै सेवा सुसार नगरेको साथै वादीहरूको मन्जुरीबेगर प्रतिवादी नेत्रबहादुरलाई गरी दिएको बकसपत्र बदर हुने हो भन्ने वादीका साक्षी रूपलाल रावत, शिवबहादुर रावतले गरेको एकै मिलानको बकपत्र । वादीहरू र प्रतिवादी देवीकुमारी रावतसमेत एकासगोलका अंशियारहरू होइनन् निजहरू छुट्टी भिन्न भएका अंशियारहरू हुन् । दाङ हेकुली गा. वि. स. वडा नं. ७ को कि नं ३१८, ४५६, ३२१, ३१७, १८६ समेत ज. वि. ०-९-८ जग्गा वादीहरूको अंश लाग्ने